arrow

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
khola-stream-drinking-water.jpg

सिन्धुपाल्चोक ।  भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् ।

भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका-१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो ।

 स्थानान्तरणपछि बस्तीका प्रत्येक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ ।  बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न स्थानीयवासी दैनिक तीन किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको भनाइ छ ।

भूकम्पछि स्थानान्तरण भएको स्थान भिरालो जमिनमा भएका कारण अहिले निर्माण भएका घरसमेत चर्किएका छन् । विस्थापितलाई खानेपानी समस्यासँगै जीविकोपार्जनको चिन्ताले पनि सताएको छ । प्रतिपरिवार छ आना जमिन भएका उनीहरूलाई तरकारी खेती, पशुपालनलगायतमा समस्या भएको छ । “अन्न उत्पादनका लागि जमिन नहुँदा दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, स्थानीय सुकमाया बोम्जन दुःखेसो गर्छिन् ।
 
तर गाउँपालिका केन्द्र नजिकैको विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने गाउँपालिका अध्यक्ष झम्क नेपाल दाबी गर्छन् । “हामी विस्थापितको समस्याप्रति गम्भिर छौँ, चाँडै पानीको व्यवस्था गर्छौँ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ