arrow

मन्त्रिपरिषद्मा रविभन्दा तल बस्न नचाहेपछि एमालेका 'सिनियर'हरूको आँखा सभामुखमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
sabhamukh-dabedar-uml.jpg

काठमाडौं । एमालेको भागमा सभामुख परेपछि त्यसका लागि लबिङ बढिरहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिसँगै एमालेका सिनियर नेताहरू मन्त्रिपरिषद्मा सहभागी नहुने भएपछि सभामुखका लागि लबिङ बढाएका हुन् । 

सिनियर नेताहरू पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, रघुजी पन्तले लामिछाने भन्दा तल बसेर काम गर्न असहमत भएसँगै उनीहरूले सभामुखमा लबिङ गरेका हुन् । माघ ५ गतेलाई तय भएको सभामुखको निर्वाचनमा उनीहरूले उपाध्यक्षहरू विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शङ्कर पोखरेल तथा पार्टी अध्यक्ष केपी ओलीसँग लबिङ गरिरहेका छन् । 

त्यसका अतिरिक्त महिला सभामुखको रूपमा विद्या भट्टराईले पनि लबिङ गरिरहेकी छिन् । नयाँ सदस्यको रूपमा झापाका देवराज घिमिरेको पनि चर्चा चलाइएको छ । तर एमाले माओवादी गठबन्धन बनाउन सक्रिय रहेका गुरुङले यसपटक रहर गरेकाले उनको सम्भावना धेरै रहेको केही एमालेजनले बताए पनि विगतमा ओलीसँग सम्बन्ध बिग्रेकाले उनलाई हटाएर अरू नै ल्याउन सम्भावना रहेको पनि बताइएको छ ।  

प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत एमाले–माओवादी गठबन्धनका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सभामुखमा कांग्रेसले लोभ गरिरहेको छ । कांग्रेसले सभापति शेरबहादुर देउवालाई सभामुखबारे अन्य दलसँग कुराकानी गर्ने जिम्मा दिएको छ । तर नयाँ बनेको गठबन्धनले एमालेलाई धोका दिने अवस्था छैन । 

ओली निवास बालकोट सहमतिअनुसार, प्रचण्ड प्रधानमन्त्री बनेपछि राष्ट्रपति र सभामुख एमालेले पाउँदा अहिले एमालेबाटै सभामुखका लागि आकाङ्क्षीहरूबीच दौडधुप चलिरहेको छ । 

उपमहासचिव समेत रहेका गुरूङ लमजुङबाट माओवादी महासचिव देव गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनी गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत हुन् । सङ्घीय सरकारको पर्यटनमन्त्रीसमेत भइसकेका गुरुङ वाम एकताको पक्षमा उभिने नेताका रूपमा परिचय मात्र बनाएनन् । निर्वाचन लगत्तै प्रचण्ड र माधव नेपाल निवास गएर वाम एकताको पहल गर्ने नेताको रूपमा आफूलाई दर्ज गरे । हाल  एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरुङ समन्वयकारी भूमिकामा रहेकाले सभामुखमा अन्य नेता भन्दा उनलाई दिन सकिने एमालेका केही नेताहरूको दाबी छ । 

उनीहरुप्रति ओली त्यति नकारात्मक छैनन् तर कसैलाई पनि वचन दिइसकेका छैनन् । ‘सभामुख बारे कुराकानी गर्न आउने नेताहरुलाई अध्यक्षज्यूले कसैलाई वचन दिनुभएको छैन उपयुक्त पात्र नै सभामुख हुनेछन् तपाई ढुक्क हुनुस् भन्नु भएको छ’, वालकोटमा ओलीसँगै रहने एमालेका एक पदाधिकारीले भने ।

सभामुखको निर्वाचन मन्त्रीपरिषद् विस्तारबारे एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच दिनदिनै छलफल हुने गरेको छ । खासगरी कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि सभामुख राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीको साथ रहन्न कि भन्ने आशङ्का कायम रहेका कारण विश्वास आर्जनका लागि पनि दुवै नेताहरुबीच भेटघाट हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ