arrow

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
peru-clash-2023.jpg

लिमा । पेरुमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपत्कालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौँदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन ।

राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरुका मानव अधिकार आयुक्तले गरेका छन् । गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेका थिए । 

वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसद्मा चर्को विरोधको सामना गर्नुपरेको थियो भने उनीविरूद्ध  भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू सुरु भएका छन् । सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिवार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ ।

सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ । पेरुका २५ क्षेत्रमध्ये ११ क्षेत्रमा आइतबार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् ।

बोलिभियासँग सीमा जोडिएको जुलियाका शहरमा आइतबार लिमाको केन्द्रीय गिर्जाघरमा प्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएका प्रदर्शनकारीका लागि आयोजित सामूहिक प्रार्थना सभामा दर्जनौँ मानिस सहभागी भएका थिए । शोक मनाइरहेका हरूमध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टि–शर्ट लगाएका थिए र मरेकाहरूको फोटो बोकेका थिए ।

लिमाका धर्मगुरु कार्लोस क्यास्टिलोले स्पेनी र क्वेचुआ आदिवासी भाषामा सेवाको नेतृत्व गरेका छन् । यो अशान्ति मुख्यतया दक्षिणी एन्डीजमा केन्द्रित छ, जहाँ क्वेचुआ र आइमारा समुदायको बसोबास छ । मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सङ्कटको अन्त्यका लागि यी समूहहरूलाई पेरुको समाजमा अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताएका छन् । 

क्षेत्रीय प्रशासनका उपमन्त्री जोसे मुरोले आइतबार टिभी पेरुसँग कुरा गर्दै अनुत्तरित सामाजिक मागहरूबारे छलफल गर्न सरकारले देशव्यापी रूपमा ‘वार्ताका लागि ठाउँ’ सिर्जना गर्ने बताएका छन्। 

उनले भने, “हाम्रा दाजुभाइलाई भन्नुहोस् कि यो हप्ता हामी मागहरू पूरा गर्न वार्ताको लागि ठाउँहरू स्थापना गर्न चाहन्छौँ ।यसैबीच लिमाका साथै सीमान्तकृत दक्षिणी एन्डियन क्षेत्रमा सोमबारका लागि व्यापक प्रदर्शनको घोषणा गरिएको छ ।

शनिवार राति दर्जनौँ प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा ‘शहरकब्जा’ को माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । प्रसिद्ध माचू पिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थल दुई दिन अघि बन्द भएपछि शनिवार पुनः खोलिएको थियो ।

पेरु वर्षौंदेखि राजनीतिक रूपमा अस्थिर छ र ६० वर्षीय बोलुआर्टे पाँच वर्षमा छैटौँ राष्ट्रपति बनेका हुन् । क्यास्टिलोलाई विद्रोहलगायत अन्य अपराधको अभियोगमा १८ महिनाको हिरासतमा राखिएको छ ।

प्रदर्शनमा शाइनिङ पाथ कम्युनिस्ट गुरिल्ला समूहका अवशेषसहित कट्टरपन्थी समूहको हात रहेको अधिकारीहरूले दाबी गरेका छन् ।यसको प्रमाणको रूपमा तिनीहरूले त्यस संगठनका पूर्व सदस्य कामरेड कुसी भनिने रोसियो लियान्ड्रोलाई यसै हप्ता पक्राउ गरेको थियो । 

प्रहरी प्रवक्ता जनरल ओस्कार एरिओलाका अनुसार लियान्ड्रोले अयाकुचो क्षेत्रमा एक दर्जनको ज्यान जाने गरी भएको हिंसामा आर्थिक सहयोग गरेका थिए । उनले लियान्ड्रोलाई ‘माक्र्सवादी, लेनिनवादी, माओवादी’ हत्यारा भएको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ