arrow

छालाको क्यान्सरबाट पीडित अमेरिकी प्रथम महिला महारोग विरुद्धको राष्ट्रिय अभियानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
jil-biden-joe-biden.jpg
फाइल तस्विर।

वाशिङ्गटन। अमेरिकी प्रथम महिला जिल बाईडेन छालाको क्यान्सरबाट पीडित भएकी छन् । केही समयअघि उनको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरे । नियमित परीक्षणका क्रममा उनमा उक्त रोग लागेको पुष्टि भएको हो ।

प्रथम महिलालाई उपचार गरेमा निको हुने खालको छालाको क्यान्सर भएको हो । परीक्षणका क्रममा चिकित्सकहरूले उनको बाँयातिरको वक्षस्थलको भाग र बाँया आँखाको माथिल्लो भागमा पनि क्यान्सर लागेको पत्ता लगाए । रोग लागेको भाग हटाइएको छ ।  समयमै उपचार गर्दा निको हुने खालको क्यान्सर लागेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

आफूलाई क्यान्सर भए नभएको यकिन गर्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै आएकी प्रथम महिलाको यो अभियान नयाँ होइन । उनका छोराको सन् २०१५ मा मस्तिष्क क्यान्सर लागेर निधन भए पछि प्रारम्भ भएको हो । जिल वाइडेनले दशकौँ अघिदेखि क्यान्सरविरुद्धको अभियानमा आफूलाई सक्रिय राखेकी छन् । शीर्ष नेताकी पत्नीका रूपमा परिचय सार्वजनिक हुनुअघिदेखि नै यो महारोगविरुद्धको अभियानमा उनी होमिएकी हुन् । ‘तपाईँलाई क्यान्सर भएको छ’ यो वाक्यांशले आफूलाई सर्वाधिक पीडा दिने उनी बताउँछिन्। यो रोग लागेकाले पनि आफूले जस्तै असीम पीडा महसुस गर्ने उनलाई लाग्छ । 

प्रथम महिलाले क्यान्सरविरुद्धको आफ्नो भावी अभियानलाई कहिले र कसरी अघि बढाउँछिन् भन्ने अनुमान अहिले नै गर्नु अपरिपक्व हुनेछ । उनको अवस्था, अनुभवले जनमानसमा क्यान्सरप्रतिको चेतना अभिवृद्धि, अनुसन्धान तथा सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण अर्थात् क्यान्सर लागे नलागेको सुनिश्चित गर्न अभिप्रेरित गर्नेछ । सार्वजनिक जीवनका व्यक्तिहरूका व्यक्तिगत अनुभूति र भोगाइ चेतना जागृतिका निम्ति अमूल्य हुनेछन् ।

प्रथम महिलाकी प्रवक्ता वानेसा वाल्डिभिया व्यक्तिगतरूपमा नै जिल बाइडेन क्यान्सरविरुद्ध लागेको बताउँछिन् । क्यान्सर जोकोहीलाई लाग्नसक्ने उनको बुझाइ छ । क्यान्सरप्रति सचेत रहन र समयमै उपचारका निम्ति अग्रसर हुन उनले सन् १९९३ देखि नै अभियान थालेकी हुन् । त्यसबेला उनका चार जना साथीलाई स्तन क्यान्सर भएको थियो । चार जनामध्ये एक जनाको निधन भएपछि उनी यो महारोगलाई परास्त गर्ने अभियानमा जुटेकी हुन् । रोगको रोकथाम र निदानसम्बन्धी एक कार्यक्रमलाई गत वर्ष सम्बोधन गर्दै उनले मृतक आफ्नी मित्र विनीबाट प्रेरणा पाएर आफू अभियानमा लागेको बताएकी थिइन्। 

जिल बाइडेनले विगतका घटना र आफ्ना अनुभवबाट प्रेरित बाइडेन ब्रेष्ट हेल्थ इनिसिएटिभ्स प्रारम्भ गरिन्। सोह्रदेखि १८ वर्षका युवतीलाई आफ्ना स्तनबारे ध्यान दिन तथा स्तन स्वास्थ्य प्रवर्द्धन गर्न उनले थालेको यो प्रयास अमेरिकामा पहिलो हो । डेलावरका माध्यमिक विद्यालयहरूमा गएर उनले स्तन स्वास्थ्यबारे प्रवचन तथा प्रदर्शन गरिन् । संयोग पनि अनौठो र दुःखद छ– उनका पिता डोनाल्ड ज्याकोबको सन् १९९९ र आमा बोनी जीनको सन् २००८ मा क्यान्सरबाटै मृत्यु भयो । सन् २०१५ को मे महिनामा राष्ट्रपतिकी दिवङ्गत जेठी श्रीमतीतर्फका छोराको पनि क्यान्सबाटै ज्यान गयो । बाइडेन त्यसबख उपराष्ट्रपति थिए । जो बाइडेनकी पहिली पत्नीको पहिले नै निधन भएकाले जिलले नै बाउ बाइडेनलाई हुर्काइबढाइ गरेकी थिइन् । आफ्ना छोराको निधनपछि बाइडेन दम्पती क्यान्सरविरुद्धको अभियानमा होमिएका हुन्। 

क्यान्सरविरुद्धको अभियानलाई राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढाउन तत्कालीन राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति बाइडेनलाई मुख्य जिम्मेवारी सुम्पेका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले आगामी २५ वर्षमा क्यान्सरबाट हुने मृत्युलाई ५० प्रतिशतमा झार्ने लक्ष्यका साथ काम गरिरहेका छन् । बाइडेन दम्पतीले क्यान्सरका बिरामी, उपचारपछि बाँचेका पूर्वबिरामी, स्वास्थ्यसेवक, परिचारक, अनुसन्धानकर्ता, चिकित्सक र क्यान्सरविरुद्धको अभियानमा होमिएका सबैलाई एकताबद्ध भएर उक्त लक्ष्य हासिल गर्ने दिशामा सघाउन आह्वान गरेका छन्। एकहत्तर वर्षीया जिलले प्रथम महिलाको पद समाज सेवा र क्यान्सरकै विरुद्ध उपयोग गर्दै आएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ