arrow

सरकारमा सम्मानजनक सहभागिता बिना जसपाले सभामुखमा गठबन्धनलाई नसघाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
prachanda-oli-upendra-ck-ranjita.jpg

काठमाडौं । अहिलेको सत्ता गठबन्धनसँग चिढिएका जनता समाजवादी पार्टीले बिहीबार हुने सभामुखको निर्वाचनलाई सरकारमा हुने आफ्नो सम्मानजनक सहभागितासँग जोडेर हेरेको छ । निरन्तर रूपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग सम्पर्क सम्बन्ध स्थापित गरिरहेका  जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा आफ्नो पार्टीको सहभागितासँग सभामुखको निर्वाचनलाई जोडेर हेर्नुपर्ने बताएका छन् । 

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मैले जानकारी गराइसकेको छु, सभामुखको निर्वाचनमा हाम्रो मत  चाहिन्छ भने सरकारमा सम्मानजनक सहभागिता हुनुपर्छ’, जसपा अध्यक्ष यादवले भने । उनका अनुसार अहिलेको अवस्थामा अन्य दलहरुको सहभागितालाई आफूले केही नभनेको तर जसपाको सहभागिता सम्मानजनक हुनुपर्ने कुरा मात्र उठाइएको हो । ‘हामीले धेरै केही भनेका छैनौ सरकारमा सम्मानजनक सहभागिता मात्रै खोजेको हो अरूको हामीलाई सरोकार भएन’, उनले बुधवार मध्यराती कुराकानी गर्दै भने । 

जसपा स्रोतका अनुसार सत्ताधारी दलहरूसँग कुराकानी नमिलेमा बिहीबार हुने सभामुखको निर्वाचनमा एमालेका देवराज घिमिरेले जसपाको मत पाउने छैनन् । बुधवार बिहान काँग्रेस सभापति देउवालाई भेट्न नेकपा एसका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष यादव धुम्बाराही पुगेका थिए । त्यसक्रममा देउवा, नेपाल र यादवबीच एक घण्टाभन्दा बढी कुराकानी भएको थियो । भेटमा उनीहरूबीच सभामुखको निर्वाचनबारे छलफल भएको जसपाका एक नेताले बताए । ‘सभामुखको उम्मेदवारी दर्ताअघि तीन नेताबीच छलफल भएको हो’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘नेताहरू भेटघाट हुँदा हाल भइरहेको राजनीतिक घटनाक्रमकै बारेमा छलफल हुने गर्छ ।’

 प्रतिनिधिसभाको सभामुख चयनका लागि बुधवार  उम्मेदवारी दर्ता भएको छ । सभामुख चयनका लागि भोलि (बिहीबार) बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । जसको प्रस्तावमा एमालेकै सुवास नेम्वाङ रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, माओवादीका हितराज पाण्डे रहेका छन् । 

यता कांग्रेसबाट इश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छिन् त्यसमा नेकपा एसका प्रकाश ज्वालाले समर्थन गरेका छन् भने प्रस्तावकमा कांग्रेसकै विश्वप्रकाश शर्मा रहेका छन् । सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमालेले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सहमति भएको छ । 

सत्ताधारी दलका साझा उम्मेदवारका रूपमा बुधवार ४ माघमा सभामुखको उम्मेदवारी दिएका घिमिरेको पक्षमा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ देखिएका छन् । जसपाले पर्ख र हेरको अवस्था रहे वा कांग्रेसलाई समर्थन गरेपनि घिमिरेकै पल्लाभारी देखिएको छ । सभामुखको चुनाव जित्न १३८ मत पाउनुपर्छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरूको सङ्ख्या १६९ थियो । ३ स्वतन्त्रसहित ७ दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेकाले १० पुसमा उनी नियुक्त भएका थिए । 

तर अहिले परिस्थिति बद्लिदै जाँदा सभामुखको निर्वाचनसम्म आइपुग्दा १४४ मात्रै बन्ने अवस्था छ । सभामुखको निर्वाचनमा कुनै एक दलले फ्लोर क्रस नगरी कांग्रेसले जित्ने अवस्था छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ