arrow

राष्ट्रपति चर्चा: राष्ट्रपति भण्डारी र ओली पोखरेलको पक्षमा , प्रचण्डले नकार्ने सम्भावना

नेम्वाङ, ज्ञवाली र शाक्यको पनि चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
prachanda-oli-prachanda-vidya.jpg

काठमाडौं । सभामुखको निर्वाचन सकिएलगत्तै एमालेबाट राष्ट्रपति को हुने भन्नेमा कौतुहलता पैदा भएको छ । सभामुखका लागि दौडमा रहेका नेताहरुलाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शङ्कर पोखरेलले प्रस्ताव गरेका देवराज घिमिरेलाई सभामुख बनाएपछि राष्ट्रपतिमा पनि त्यस्तै अनपेक्षित व्यक्ति आउनसक्ने भन्दै कौतुहलता शुरु भएको हो । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेपछि राष्ट्रप्रमुख राष्ट्रपति र संसद्प्रमुख सभामुख (पहिलो आधा कार्यकाल) एमालेको भागमा परेको र त्यसमा घिमिरे सभामुख भएपछि ओलीले पाँच वर्षे कार्यकालका लागि कसलाई पठाउँदैछन् भन्ने बारेमा केही यकिन भएको छैन । 

तर पनि एमालेभित्र भावी राष्ट्रपति र सभामुखका आकाङ्क्षीबारे चर्चा सुरु भएको हो । राष्ट्रपतिका लागि एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङको नाम अन्य नेताको भन्दा बढी चर्चामा छ । संविधानसभा अध्यक्ष, दुईपटक सभामुखसहित तीनपटक संसद र संविधानसभाको नेतृत्व लिएका नेम्वाङ अघिल्लोपटक पनि राष्ट्रपतिकै लागि चर्चामा थिए । तर यसपटक निकै चर्चामा रहेको छ । तर ओली यसका लागि तयार छन् त ? भन्ने प्रश्न उठेको छ । 

पार्टी विधानको उमेरहदले पार्टी र सरकारमा कार्यकारी भूमिकाको सम्भावना कम रहेकाले यसपटक उनी स्वयंले पनि राष्ट्रपतिमा रुचि राखेको हुन् । संसदीय मामिला र कानुनका अनुभवी, संविधान निर्माणमा भूमिका खेलेका र जनजाति पृष्ठभूमिका नेता नेम्वाङले सार्वजनिक रूपमा भने मुख नखोलेका भएपनि उनको चर्चा व्यापक भएको छ । 

पार्टीभित्र अर्को व्यक्तिको चर्चा पनि मुखर रूपमा आएको छ । तर यसलाई मिडियामा ल्याईएको छैन । काठमाडौं क्षेत्र ५ बाट उम्मेदवार भएका तर कांग्रेस नेता प्रदीप पौडेलसँग पराजित भएका ईश्वर पोखरेलको नाम पनि उत्तिकै चर्चामा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पनि उनै पोखरेलको पक्षमा सकारात्मक रहेको बुझिएको छ । 

माओवादीप्रति कडा मिजास राख्ने पोखरेललाई भने प्रधानमन्त्री प्रचण्डले अस्वीकार गर्ने सम्भावना बढिरहेको छ । ‘राष्ट्रपतिमा एमालेकै नेता हुने भएपनि व्यक्ति भने प्रचण्डले छनौट गर्ने सम्भावना बढेको छ त्यसो हुँदा एमालेकै तर्फबाट सुवास नेम्वाङ नै हुने सम्भावना पनि छ तर ओलीले जोड गरेमा ईश्वर पोखरेल र अष्टलक्ष्मी शाक्य मध्ये एक राष्ट्रपति हुन सक्छन् , यी तीन पात्र भन्दा बाहिर जाने सम्भावना निकै कम छ’, एमालेका एक पदाधिकारीले भने । 

संसदीय राजनीतिबाट लगभग अवकाशमा रहेका उपाध्यक्ष युवराज ज्ञवाली र संसदीय राजनीतिबाट अवकाशकै घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई चर्चामा ल्याइए पनि ज्ञवाली भन्दा शाक्यलाई रोज्ने सम्भावना रहेको ओली निकट एक नेताले बताए । ज्ञवाली उपाध्यक्षमध्ये सिनियर छन् । 

एकपटक मन्त्री बनेका उनले पार्टीभित्र अन्तर्संघर्षमा मध्यमार्गी भूमिका निर्वाह गर्दै आएकाले ओलीले ‘माया’ गर्छन् कि भन्ने अनुमान पनि छ । छोटो समय बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्य भूमिगत कालदेखि नै कठोर सङ्घर्ष गरेकी सिनियर नेतृ भएको र पार्टीभित्र पनि तार्किक क्षमता राख्ने भएकाले साढे दुई वर्षपछि ओली नै प्रधानमन्त्री हुने भएकाले त्यसका लागि अनुकूल वातावरण तयार पार्नसक्ने मध्ये एक पर्ने भएकाले पनि शाक्यप्रति ओली नरम बन्नसक्ने सम्भावना पनि कायमै छ । 

‘तर ईश्वर पोखरेल नभएमा मात्रै शाक्यलाई अघि सार्ने सम्भावना छ,प्रचण्डको जोड भने ईश्वर पोखरेललाई नबनाउनेमा रहन्छ’, एमाले उच्च स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ