arrow

अझै सकिएन मेस्सि-रोनाल्डो युग, पिएसजी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
messi-ronaldo.jpg

काठमाडौं। क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले गोल गर्दा फ्रान्सको क्लब पिएसजीले साउदी अरेबियाको फुटबल क्लब अल नस्र अल हिलाल अल स्टार्सलाई ५-४ले पराजित गरेको छ। क्रिष्टियानो रोनाल्डो साउदी क्लब अल स्टार गएपछिको पहिलो मैत्रीपूर्ण खेल पिएसजी सँग खेलेको हो।

क्रिष्टियानो रोनाल्डो साउदी क्लब गएपछि उनको आलोचना पनि भएको थियो। तर क्लबले मेस्सी, नेयमार, एम्बाप्पे सम्मिलित टोली पिएसजीलाई मैत्रीपूर्ण खेल खेल्न बोलाएर विश्व फुटबलको ध्यान साउदी तिर तानिएको हो। विश्व फुटबलका उत्कृष्ट खेलाडीहरू सम्मिलित क्लब पिएसजी साउदी अरबमा खेल्न आएपछि एसिया तिर विश्व फुटबलको ध्यान मोडिएको छ।

खेलको तेस्रो मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। खेलको ३४औं मिनेटमा गोल गर्दै क्रिष्टियानोले आफ्नो क्लबका लागि खाता खोलेका थिए। उनको गोलले रोनाल्डो-मेस्सी भनेर हुने बहसलाई फेरि उठाएको छ।

खेलको ४३औं मिनेटमा मार्किनोसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने ४५औं मिनेटमा पुनः क्रिष्टियानोले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। पहिलो हाफको थप समयमा पिएसजीले पाएको पेनाल्टीको मौका नेयमारले गुमाएका थिए। पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो।

दोस्रो हाफ शुरु भएपछि खेलको ५३औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाएका थिए। खेलको ५६औं मिनेटमा अलस्टारका ह्यो शु जाङ्गले गोल गर्दै खेल ३-३को बराबरीमा पुर्‍याएका थिए। खेलको ६० औं मिनेटमा एम्बापेले गोल गरेका थिए भने ७८औं मिनेटमा एकिटिकेले गोल गर्दै खेललाई ५-३ पुर्‍याएका थिए। खेलको ९०औं मिनेटमा अलस्टारका एण्डरसन टालिस्काले गोल गर्दै खेलमा फर्किन खोजे पनि सम्भव भएन।

उक्त खेलले विश्वभरका फुटबल प्रेमीहरूको ध्यान आफूतिर तान्न सफल भएको थियो। क्रिष्टियानो रोनाल्डो साउदी क्लबमा गएपछि फुटबल एसिया तिर सर्ने संभावना बढेर गएको छ । युरोप र दक्षिण अमेरिकामा मात्र सीमित रहेको विश्व फुटबल बिस्तारै एसिया तिर लागेको भान हुन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ