arrow

नेकपा एसका अधिकांश एमालेसँग मिल्नुपर्ने पक्षमा तर नेतृत्व अन्यत्र व्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg

काठमाडौं । एमालेबाट विभाजन भएको डेढ वर्षपछि नेकपा एकीकृत समाजवादी (एस) पार्टीभित्र विवाद देखिएको छ । नेकपा एसले पार्टी एकीकरण र सहकार्यका लागि बनाएको वार्ता टोलीकै कारण विवाद देखिएको हो । वार्ता समितिमा रहेका पार्टी महासचिव वेदुराम भुसाल अल्पमतमा परेपछि विवाद भएको हो । 

नेकपा एकीकृत समाजवादीले पार्टीमा आउन चाहेका राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो । पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन थियो । 

वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने निर्णय गरिएको थियो । तर सो वार्ता समितिमा रहेका भुसाल बाहेकका दुई नेताहरू माओवादी र जनता समाजवादी पार्टीसँग एकीकरण नगर्ने पक्षमा उभिएका छन् । माधव नेपालका विश्वास पात्र मानिने तुलाधर र पौडेल दुवैले माओवादीसँग र जसपासँग पार्टी एकीकरणको प्रस्ताव लैजान मानिरहेका छैनन् ।

जसपासँग एक पटक कुराकानी भए पनि दोस्रो पटक कुराकानी हुन सकेको छैन । ‘पार्टीका ८० प्रतिशत कार्यकर्ता एमालेसँग जाने पक्षमा छन् बाँकी कार्यकर्ता र केही नेताहरू मात्रै तत्काल एमालेमा जानु हुँदैन भन्ने पक्षमा यस्तो अवस्थामा को सँग एकताका लागि वार्ता गर्ने हामी अन्योलमा छौ’, समितिका एक सदस्यले भने । ती सदस्यका अनुसार भुसालले माओवादी र जसपा दुवैसँगै मिलेसम्म पार्टी एकताको प्रस्ताव गरौँ भनेका थिए । तर दुई सदस्यहरूले अन्य केन्द्रीय सदस्यहरूको समेत राय लिँदा केही समय कुरेर भए पनि एमालेसँगै एकता गर्नुपर्ने बताएका थिए । 

एमालेभित्र अध्यक्ष ओलीको मात्रै विरोधमा रहेका नेताहरूलाई सम्हालेर अघि बढ्न सकिन्छ भन्ने पक्षमा एसका धेरै  नेताहरू रहेका भए पनि तत्कालै पार्टी एकता हुने अवस्था भने रहेको छैन । ‘एमालेबाहेकका अन्य दलसँग एकता गर्दा २० प्रतिशत कार्यकर्ता जोगाएर लैजान सकिन्न त्यसपछि पुरानो दलका नेताहरूको दास मात्रै होइन्छ, एमालेमा जाँदा पुरानो पार्टी पनि हो धेरै समय त्यही बिताएको पार्टी पङ्क्ति र कार्यकर्ता पङ्क्तिलाई परिचालन गर्न पनि सहज हुन्छ त्यस कारण एकता प्रस्ताव अघि बढाउन सकिन्छ तर यति बेला एमालेले हामीलाई मतलब गरेको छैन, पार्टीको रूपमा स्वीकार गरेको छैन’, एस पार्टीका एक सचिवालय सदस्यले भने । अहिले त झन एमालेका पूर्व नेता घनश्याम भुसालको पार्टी प्रवेशले एसलाई केही उत्साह मिलेको छ । घनश्यामलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको  छ । 

पार्टी एकताको सन्दर्भमा एमाले छाडेर गएका भूसालको धारणा सार्वजनिक हुन बाँकी नै छ । पार्टीका प्रवक्ता एव उपमहासचिव जगन्नाथ खतिवडाले अहिले कुनैपनि पार्टीसँग एकता प्रक्रिया सुरु नभएको बताए । उनका अनुसार एकाध चरण जसपासँग कुराकानी भएको तर एकताको विषयमा भन्दा पनि एजेण्डामा मिलेर जाने विषयमा छलफल भएको छ । ‘विचार मिल्नेसँग कालान्तरमा एकता पनि होला, वाम पार्टीहरू एक ठाउँ भन्ने नारा पनि छ तर अहिले नै कोही कसैसँग एकता भइहाल्छ जस्तो मलाई लाग्दैन’,प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव खतिवडाले भने। 

जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना एकीकृत पार्टीमा माधव नेपाल (नेकपा एसका अध्यक्ष) लाई सङ्घीय परिषद्को अध्यक्ष बनाएर पहिलो स्थान दिने र आफू कार्यकारी अध्यक्ष बन्ने देखिन्छ । त्यस्तो भएमा नेकपा एसमा आबद्ध तराई मधेस केन्द्रित नेताहरू समेटिने अपेक्षा गरेको भए पनि यो विषयलाई औपचारिक रूपमा प्रस्तुत गर्न नपाई एसका नेताहरू अस्वीकार गरेका स्रोतको दाबी छ । 

नेकपा एस स्रोतका अनुसार अहिले नै पार्टी एकताको सवालमा दुई धार भए पनि पार्टीको मूल नीति तय गर्नेमा पुगेको छ । पार्टी को सँग मिल्न वा यही पार्टीलाई सङ्गठित गर्दै जाने भन्नेमा छलफल चलिरहेका बेला मूल नीति तय गर्ने भन्दै सम्मानित नेता झलनाथ खनालको संयोजक रहेको कार्यदल गठन गरेको छ । सो कार्यदलमा केशवलाल श्रेष्ठ, बेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाक्री लगायतका १३ जना सदस्य रहेका छन् । सो कार्यदलले मूलनीति तय गरेपछि मात्रै पार्टीका अन्य कामहरू अघि बढ्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ