- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाटन। काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो। तर हालसम्म पनि यसले मूर्तरूप लिन सकेको छैन। आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन।
सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो। ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्ध चोकदेखि जीपमा ललितपुरको टीका भैरवसम्म आएका थिए। राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ।
कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न। कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बत्ताउँछन्। “पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्”, उनले भने, “ अर्थ मन्त्रालय समक्ष बहु वर्षीय ठेक्का हुने गरी रू ६६ करोडको योजना सहमतिका लागि पठाएका छौँ। योजना आयोगबाट पनि सिफारिस भइसकेको छ।” उहाँका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढ वर्षभित्र कान्तिलोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ।
कान्ति लोकपथ आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनका अनुसार अहिले दुई वटा पुरानो ठेक्काको काम भइरहेको छ। पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालो पत्र गर्ने काम भइरहेको छ। यसमध्ये करिब दुई किमी सम्पन्न भइसकेको छ। उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले रू १९ करोड ३९ लाख ८३ हजार आठ सय ६४ मा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२-७३ मा सम्झौता गरेको थियो । विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी म्याद थप भएको इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए।
त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ। यसका लागि नागार्जुन सर्व शक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ।
सहज भूवनोट भएका ठाउँमा सडक कालो पत्र सकिए पनि अझै केही ठाउँमा कालो पत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ। मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालो पत्र हुन बाँकी इन्जिनियर महर्जनले बताए।