arrow

'अब जान्नेलाई छान्ने' नाराका साथ आएका रविले कानून नमान्दा गुमेको पद

राहदानीले झन् अप्ठयारोमा पर्ने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । नेपाली राजनीतिक आकाशमा चाडै उदाएका रवि लामिछानेलाई नैतिक सङ्कटबाटै ब्रेक लागेको छ । सर्वोच्च अदालतको फैसलापछि राजनीतिमा ‘कमव्याक’ त होलान् तर राज्यलाई ढाँटेको आरोपमा सधैँ ब्रेक लाग्नुपर्ने अवस्था देखिएको छ । 

७ महिनाअघि लामिछानेले पार्टी खोल्दा मुख्य नारा बनाएका थिए–'अब जान्नेलाई छान्ने' । तर अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनलाई उनले प्रक्रिया पूरा गरेको देखिएन । त्यतिमात्र होइन अमेरिका नागरिकता परित्याग नगरी नेपाली राहदानी लिएको समेत खुलेको छ । यो प्रकरणले उनलाई झन् अप्ठेरो अवस्था बनाउँदैछ । 

पारिवारिका भिषामा नेपाल आएका रवि लामिछाने सन २०१५ मै नेपाली राहदानी लिएको तर अ‍मेरिकी नागरिकता २०७५ मा मात्रै त्याग गरेका अवस्थामा उनी थप कानुनी दायरामा पर्ने सम्भावना छँदैछ । 

लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रूपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै पुरानै नागरिकताको प्रयोग गरेर अर्को राहदानी बनाएका थिए । जुन कानुन विपरीत रहेको छ । सन् २०१५ मा रवि लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली राहदानी प्राप्त गरेको कारण उनीमाथि कारबाही हुने अवस्थामा उनका लागि अबको यात्रा त्यति सहज छैन । 

उनी नेपाल आएपछि बुद्ध नेपालमै जन्मेका हुन भन्ने विश्वकै लामो टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका थिए । २०७२ सालदेखिनै नेपाली सञ्चार माध्यममा वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिहरूलाई न्याय दिलाउने किसिमका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै विदेशमा बसेका नेपालीहरूको मन जित्दै आएका थिए । 

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उनको लोकप्रियता चुलिएपछि उनको बारेमा प्रेस काउन्सिलमा उजुरी परेको थियो । त्यतिबेला मात्रै उनी विदेशी नागरिक भएको तथ्य खुलेको थियो । 

त्यसभन्दा अघि बुद्ध नेपालमै जन्मिएका हुन भन्ने विश्वमा सबैभन्दा लामो टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व कीर्तिमानी कायम गरेको विषयमा पनि नेपाली नागरिकता लिए नलिएको बारे प्रश्न उब्जेको थियो । 

पछिल्लो समय टेलिभिजनमा कार्यक्रममा थिति र विधिको कडा विवेचना गर्ने र त्यसअनुसारको कार्यक्रम सञ्चालन गर्दा गर्दै राजनीतिमा आएका लामिछाने आफै कानुन कार्यान्वयन गर्ने मन्त्रालय सम्हाल्न पुगपछि उनको आलोचना भयो ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको प्रधानमन्त्रीसँग सिधा कुरा नामको कार्यक्रम चलाएपछि उनले प्रसारण माध्यमा आफ्नो बोलक्कड छविलाई लोकप्रियतामा बदले । नेपाल टेलिभिजनको कार्यक्रमबाट हटेपछि निजी क्षेत्रको टेलिभिजनमा त्यही कार्यक्रम लिएर कार्यक्रम चलाइरहे । उनको कार्यक्रमका धेरै अनुयायी भएपछि बिस्तारै उनमा राजनीतिको जाग्यो र पार्टी खोल्ने अभियानमा जुटे ।

६ महिनाअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर निर्वाचनमा होमिएका लामिछानेले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा भारी मत ल्याएर विजयी भएका थिए । एकाएक उपप्रधानमन्त्री तथा गृहमन्त्री बने । हरेक विषयको जवाफ दिने र कानुन कार्यान्वयन गर्ने मन्त्रालय भएकाले प्रधानमन्त्रीपछि सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए । ७७ वटै जिल्ला प्रशासन कार्यालय,दुई वटा सुरक्षा निकाय तथा सबै मन्त्रालयहरूको संयोजनकारी भूमिकामा रहेका कारण गृहमन्त्रालय निकै महत्त्वपूर्ण मन्त्रालय हो । 

सो मन्त्रालय सम्हालेपछि उनले गरेका हरेक निर्णय विवादमा परेका छन् । निर्वाचनकै क्रममा नेपाली पासपोर्ट पनि दुरुपयोग गरेको विषय पनि सतहमा आएको थियो । लामिछानेले गृहमन्त्रालय सम्हालेपछि कानुनी झमेला भएपनि उनी आफै मन्त्री पदमा भएकाले अनुसन्धानलाई पर धकेल्ने र अनुसन्धान प्रभावित हुनसक्ने सम्भावना रहेको आशङ्का गरिएको थियो । 

६ महिना अघि पार्टी गठन गरेर ६ महिनापछि सत्ता समीकरणको खेलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री हात पारेका थिए । छोटो समयमा उदाएका रविलाई अदालतको फैसलाले भने ब्रेक लगायो । अब यसपछि सो पार्टी पार्टीले कस्तो रणनीति लिन्छ भन्नेमा सबैको चासो रहेको छ । नेपालको कानुन उल्लङ्घन गर्दै चुनावी प्रक्रियामा सहभागी भएपछि सांसद र कानुन पालनाको तालुकदार मन्त्रालयको प्रमुख बने । 

सर्वोच्चको आदेश केही नरम देखिएको पनि उनको मतदाता नामवली समेत खारेज भएकाले तत्कालै चुनावमा भाग लिने अवस्था पनि कमजोर देखिएको छ । त्यतिमात्र होइन यसपछि उनले कानुनी प्रक्रिया र प्रहरीमा भएको जाहेरीको समेत सामना गर्नुपर्ने हुन्छ । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न पनि सक्छ । अझ राहदानी प्रकरणमा भने प्रहरीको अनुसन्धान कडा भए र अदालतमा मुद्दा परे रविका लागि राजनीतिक यात्रामा सहभागी हुन केही समय नै लाग्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ