arrow

विमलेन्द्र निधीले हस्तान्तरण गरे अयोध्यामा निर्माणाधीन राम मन्दिरलाई कालीगण्डकीको देवशीला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
dev-shila-ayodhya-nepal-india.jpg

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि ट्रष्टलाई नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कालीगण्डकीबाट ल्याएको देवशीला हस्तान्तरण गरेका छन् । 

जनकपुृरबाट गएको सांसद निधीसहित जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास र हिन्दू स्वयंसेवक संघ नेपालका कल्याण सिंह तिमल्सिनाले कालीगण्डकी नदीबाट ल्याएका देवशीलालाई विशेष पूजा गर्दै श्रीरामभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । 

अयोध्यामा निर्माण भइरहेको राममन्दिरमा मूर्तिका लागि नेपाल सरकारले कालीगण्डकी नदीबाट देवशीला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।

सोमबार बिहान १० बजेतिर अयोध्याका लागि जनकपुरबाट हिँडेको निधी नेतृत्वको टोली मुजफ्फरपुर, गोृरखपुर हुँदै अयोध्या पुगेको थियो । म्याग्दीको कालीगण्डकीबाट शनिबार साँझ जनकपुरधाम पुगेका दुई थान देवशीलाको सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा गरी नेता निधी ठूलो जमातसहित अयोध्या लागेका थिए ।


रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शीला उपलब्ध गराइ दिन अयोध्यास्थित राम मन्दिर निर्माण समितिबाट प्रस्ताव आएपछि त्यसका लागि कांग्रेस नेता निधीले सहजीकरण गरेका थिए ।

शीला पठाउने विषयलाई लिएर उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेका थिए । गत पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले कालीगण्डकी किनारबाट दुई थान शीला जनकपुर हुँदै अयोध्यासम्म पठाउन स्वीकृति प्रदान गरेको थियो ।

जनकपुर पठाउनुअघि शीला भेटिएको कालीगण्डकीमा १ माघमा क्षमा पूजा भएको थियो । क्षमा पूजा पनि कांग्रेस नेता निधी र उनकी पत्नी अनामिकाले गरेका थिए ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको मान्यता छ । अयोध्यामा राम मन्दिर निर्माण भइरहँदा उनको ससुराली जनकपुरधामबाट मूर्ति निर्माणका लागि उपहारस्वरूप शीला दिइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको भनाइ छ ।

शीला बुझ्दै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेको भन्दै यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको बताए । उनले यो पुनित कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । 

जानकारी मन्दिरका महन्थ दासले युगौँदेखि चलिआएको नेपालभारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गरे । भगवान राम र माता सीताको वैवाहिक सम्बन्धसँगै यो स्थापित भएको उनको भनाइ थियो ।

राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शीला ल्याउनु एक ऐतिहासिक र पुण्यको काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताए । 
    
कांग्रेस नेता निधीले राम जन्मभूमिमै आएर शीला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यस कार्यलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गरे । 

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शीला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकामा बुधबार अयोध्या पुगेको थियो । 

शीलालाई राममन्दिरको गर्भभागमा राखी रामको बालस्वरुप बनाइने छ । आगामी जनवरी २०२४ मा मन्दिर निर्माण सम्पन्न गरी  उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ