arrow

सम्पादकीय

रविको अक्षम्य घृणावाद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
ravi-lamichhane-press-meet-2079-10-22.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यको चौथो अंगमाथि आइतबार एकाएक आरोपै आरोप लगाए । प्रतिनिधि सभाको चौथो ठूलो दलका सभापतिले नेपाली सञ्चारमाध्यमलाई घृणाको दृष्टिले मात्र हेरेनन् आफूविरुद्ध लेख्ने जुनसुकै मिडियालाई कारबाही गर्ने धम्कीसमेत दिएका छन् । आफूविरुद्ध लेख्ने जोकोहीलाई खबरदारी गरेर नेतामा हुनुपर्ने सबै गुणहरु उनले बिर्सेका छन् । 

रवि लामिछानेले लामो समय सञ्चारक्षेत्रमा काम गरे । उनको पहिचान सञ्चारकर्मीकै रुपमा भएको हो । गत असारमा स्थापना गरेको पार्टी र त्यसको सभापति भएर पाँच महिनापछि नै प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियत बनाउनु सञ्चारकर्मीकै पृष्ठभूमिले गर्दा हो । उनलाई मतदाताले चिनेको कुनै ठूलो त्याग र तपस्यासँगै समाजसेवा गरेर हैन सञ्चारमाध्यमकै प्रयोग गरेर सम्भव भएको हो । सञ्चारमाध्यमको पहुँचको प्रयोग गरेर उनी रातारात ‘स्टार’ भएको बिर्सिएर अहिले तिनै सञ्चारमाध्यमलाई नै गाली गरिरहेका छन् ।

सञ्चारमाध्यमले सहीलाई सही र गलतलाई गलत भन्ने हैसियत राख्छ । सरकारको प्रशंसा भन्दा बढी आलोचना गर्छ । उनी आफू सञ्चारकर्मी हुँदा त्यही नै गरेका हुन् । आपत्विपद्मा परेका, न्याय नपाएका, दुःख पाएकाहरुलाई पनि सञ्चारमाध्यमको प्रयोग गरेर सहयोग गरेकै हुन् । 

तर तिनै रवि अहिले नेता भएर आए । नेता भएपछि उनमा नेतामा हुनुपर्ने गुण त देखिएन नै सिङ्गो पत्रकारितालाई नै गाली गरेका छन् । उनमा नेता बन्ने गुण नै देखिएन । नेताको काम भनेको समाजसेवा हो । अराजकता हैन । एकाएक आइतबार उनी अराजक भए । ‘पत्रकार बन्दा नेता झुर र नेता बन्दा पत्रकार झुर’ भन्ने उनको नीति स्पष्ट देखियो । 

काम गर्दा गलत हुँदा आलोचना हुन्छ । उनी आलोचना खेप्ने नेता परेनन् । अर्कातर्फ उनले गरेका गल्ती सञ्चारमाध्यमले औंल्याएकोमात्र हो । उनको अवैध नागरिकताको विषय उठान गरेको हो । दोहोरो राहदानीको खुलासा गरेको हो । गलतलाई गलत भन्ने हैसियत मिडियाले राख्छ । हिजो आफूले गलतलाई गलत भन्दा महान् अनि आज अरुले उनकै बारेमा गलत भन्दा बेइमान हुनै सक्दैन । 

आफ्नो बारेमा नराम्रो लेखेका खण्डमा मिडिया नै घेराउ गर्ने धम्की दिएर रविले आफूलाई विधिको शासन भन्दा माथि राख्न खोजेका छन् । प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेप गरेका छन् । 

मिडियामाथि लगाएको आरोप अक्षम्य घृणावादको पराकाष्ठा हो । उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति आपत्तिजनक र आलोच्य छ । अक्षम्य छ । उनले व्यक्तिगत रिसइबी पनि साँधेका छन् । जुन नेतामा हुनुपर्ने गुणसँग कहिँ कतै मेल खाँदैन ।  

देश बनाउँछु भनेर नयाँ धारका साथ आएको दलको प्रमुखले जुन हैसियत आफ्नो देखाएका छन् त्यसले सिङ्गो पार्टीलाई असर गर्ने स्पष्ट छ । उनले पत्रकार सम्मेलनमा वास्तविक रविकै रुप देखाएका छन् । उनले पटक पटक आफूलाई महान् बनाउँदै बाँकी कोही ठीक छैनन् भनेरसमेत भन्न भ्याए । यो अहम् नयाँ धारका नेताको नभइ एक अहम्वादी तानाशाह प्रवृत्तिकै हो । आफ्नो पदीय मर्यादामा नबसी उनले जुन कुरुपता देखाएका छन् त्यसले मुलुकलाई अराजकतातिर लैजान खोजिरहेको त छैन ? भन्ने संकेत दिन्छ । 

उनलाई हिजोका दिनमा मिडियाले प्रशंसा गरेकै हो । सहयोग गरेकै हो । राजनीतिको वैकल्पिक मार्ग देखेकै हो । तर जब मिडियाले कसैले गलत गर्यो भने चुप लागेर बस्दैन भन्ने प्रमाण दिन थाल्यो तब रविलाई रिस उठ्यो । अर्थात् उनले राज्यमाथि गरेको अपराध र कानूनी राज्यको उपहासलाई पनि मिडियाले प्रशंसा गर्नुपर्ने भ्रम पालेर बसे ।   

सञ्चारकर्मी हुँदा नेतालाई गाली गर्ने उनले त्यतिबेला पनि पत्रकार आचारसंहिता तोडेका थिए । अहिले नेता बन्दा पनि आफ्नो पदीय मर्यादा तोडेका छन् । नेता बन्दा भने अन्य नेताहरुलाई गाली हैन प्रशंसाका पुलिन्दा भरेका छन् । जबकि हिजोका दिनमा तिनै नेतालाई गाली गरेर आज रवि नेता बनेका हुन् । 

रविको आइतबारको पत्रकार सम्मेलन उश्रृंखलताको पराकाष्ठा हो । उनी यहाँभन्दा तल झर्ने ठाउँ नै राखेनन् । उनको यो पत्रकार सम्मेलन उनकै बचेखुसेको ओज घटाउने माध्यम बनेको छ । 

सत्ता सञ्चालन गर्नेले सञ्चारमाध्यमलाई प्रभावित पार्न खोज्छ । त्यसबाट बचेर आफ्नो इमानको पत्रकारिता गर्नु पनि कम चुनौती हैन । यसमा केही मिडिया र मिडियाकर्मी चुकेका होलान् । त्यसो हो भने त्यस्ता मिडिया र मिडियाकर्मी सुधारिनु पर्छ । उनीहरुलाई कुनै पनि सहुलियत छैन । उनीहरु पनि कारबाहीका भागेदार हुनुपर्छ । 

तर रविले त सिङ्गो आमसञ्चार जगतलाई गाली गरेर तानाशाही प्रवृत्ति देखाएका छन् । यो आजैका दिनदेखि बन्द हुनुपर्छ । उनले कुनै क्षणको पनि प्रतिक्षा नगरी आममाफी माग्नुपर्छ । आइन्दादेखि कुनै पनि किसिमको गल्ती गर्ने छैन भनेर प्रण गर्नुपर्छ । हैन भने उनलाई यो समाज बिगार्ने अधिकार छैन । सजायको भागेदार बन्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ