arrow

राष्ट्रिय सहमतिको ‘ट्याग’ भिरेर को आउला राष्ट्रपतिमा अगाडि ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
rastrapati-candidate-2079-1.jpg

काठमाडौं । फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि दर्जन व्यक्तिहरुको चर्चा परिचर्चा शुरु भएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने तथा एमालेले आफैँले उठाएको उम्मेदवारमै राष्ट्रिय सहमति हुने दाबी गर्दै आएका बेला विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा शुरु भएको हो । 

माओवादी केन्द्रले सबै दलको विश्वास आर्जन गर्नका लागि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएपछि अहिले सबैतिर राष्ट्रिय सहमतिकै चर्चा चलिरहेको छ । नेपाली कांग्रेसले आफ्ना नेताहरु पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु कृष्ण सिटौला र रामचन्द्र पौडेलको चर्चा शुरु गरेको छ । सभापति देउवालाई पार्टीबाट सम्मानजनक बहिर्गमन हुने अपेक्षा सहित चर्चामा ल्याइएको छ भने पौडेल र सिटौलालाई समकालीन नेताहरु प्रधानमन्त्री र राष्ट्रपति भैसक्दा उनीहरुलाई पनि महत्वपूर्ण र प्रतिष्ठित पदमा पुर्याउने तबरबाट कुराकानी र चर्चा थालिएको छ । 

सबैभन्दा धेरै चाहिँ एमालेका नेताहरुको चर्चा भैरहेको छ । सत्ता गठबन्धन बन्दा एमालेको भागमा परेका कारण एमाले नेताहरुको चर्चा हुनु पनि स्वभाविक हो । एमालेका नेताहरुले आफ्नो हिसाबले लबिङसमेत गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली, पूर्व मूख्यमन्त्री डोरमणी पौडेल, सधै अवसरबाट बञ्चित रहेका गुरु बराल, राष्ट्रिय सभामा सांसद भएकी गोमा देवकोटा लगायतका नामहरु बढी नै चर्चामा रहेका छन् । उनीहरुबाट विवाद बढ्दै गएमा केपी ओली आफैँको नाम पनि चर्चामा ल्याइएको छ । यद्यपि ओली भने आफू कार्यकारी भूमिकामै रहने भन्दै आफूलाई राष्ट्रपतिको दौडमा सहभागी गराएका छैनन् । 

एमालेबाहेक राष्ट्रिय सहमतिका नाममा पूर्व माओवादी नेता बाबुराम भट्टराईले पनि चासो र चिन्ता व्यक्त गरेका छन् । उनले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना धारणा राखेको पनि स्रोतको दाबी छ । उनले आफ्नो नाममा राष्ट्रिय सहमति हुने दाबी गरेको पनि माओवादीका नेताहरुले बताउने गरेका छन् । 

यस्तै एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति पद दिनुहुन्न भनेर एमालेबाट विभाजित भएको नेकपा एसले सत्ता बाहिर रहेका नेपाली कांग्रेस र सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका बीचमा ‘पुल’ को काम गरेर समन्वय गरिरहेको छ । एसले सकेसम्म पार्टी अध्यक्ष माधवकुमार नेपाल आफैँलाई प्रस्ताव गर्ने गरी अगाडि बढेको छ भने नसके पनि एमालेलाई दिन नहुने गरी चलखेल गरेको छ । 

एसका अध्यक्ष नेपालले पार्टीको आठौं केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि एमालेलाई राष्ट्रपति दिएमा संघीयता र गणतन्त्र खतरामा पर्ने उल्लेख गरेर विरोध जनाइरहेको छ । यस्तो अवस्थामा कोही कसैलाई पनि नमान्ने अवस्था सिर्जना भएमा माधव नेपाल आफैँ राष्ट्रपतिका लागि तयार हुने अवस्था सिर्जना हुने नेकपा एसका नेताहरुले बताएका छन् । २०६४ सालको निर्वाचनपछि नेकपा माओवादीले राष्ट्रपति बनाउने तयारी प्रस्ताव गरे पनि अन्तिममा नेपाललाई राष्ट्रपति हुन दिइएको थिएन । 

अर्कोतर्फ राष्ट्रिय सहमतिका नाममा पूर्व न्यायाधीशहरुले पनि राष्ट्रपति बन्न खुट्टा उचालिरहेका छन् । कल्याण श्रेष्ठ, खिलराज रेग्मीले चाहना व्यक्त गरेका छन् । उनीहरुले विभिन्न व्यक्ति र समूहमार्फत आफ्नो नाम प्रस्ताव गर्न चर्चामा ल्याइरहेका छन् । तर राजनीतिक दलका नेताहरुले भने राजनीतिक दलका नेताहरुभन्दा बाहिरबाट राष्ट्रपति नहुने बताउँदै आएका छन् । 

नेकपा एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने र त्यसमै राष्ट्रिय सहमति हुने दाबी गरे । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन्छ तर एमालेको उठाएको उम्मेदवारमा हुन्छ जुन कुरा यसअघि नै अध्यक्षले भनिसक्नु भएको छ’, उपमहासचिव ज्ञवालीले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ