arrow

द्वन्द्वले सिकाएको पाठ

सशस्त्र द्वन्द्वमा हिँड्दा सिकेका चन्द्रले गर्छन् गड्यौला मल बेचेर लाखौं आम्दानी 

राजनीतिमा लागेकाहरु केही काम नगरी धनी बन्ने गरेको यथार्थ चिर्दै मेहनत गर्न सिकाउँछन् ठकुराठी

logo
राम धामी, 
प्रकाशित २०७९ माघ २८ शनिबार
chandra-thakurathi-gadyaula-kheti.jpg


डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ किमौलाका चन्द्र ठकुराठीले गड्यौला मल उत्पादन गरेर बार्षिक लाखौं रकम आयआर्जन गरिरहेका छन् । 

२०६७ साल फागुनदेखि गड्यौला मल उत्पादन गरिरहेका ठकुराठीले यस वर्ष मात्रै २० टन गड्यौला मल सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा सप्लाई गरेका छन् । जिल्लाभित्र र छरछिमेकका बस्तीहरुमा पनि प्रतिकिलो रु ३५ रुपैयाँका दरले गड्यौला मल बिक्री गरिरहेका छन् ।

सशस्त्र युद्धका बेला तत्कालीन नेकपा माओवादीको नेतृत्वमा रहेर विभिन्न स्थान घुम्ने क्रममा ठकुराठीले गड्यौला मल उत्पादनका बारेमा थाहा पाएका थिए ।

‘आफ्नो ठाउँमा पनि गड्यौला मल उत्पादन गर्न पाए व्यवसायीक कृषि विकासमा क्रान्ति ल्याउन सकिन्छ भन्ने लागेर उत्पादन सम्बन्धी जानकारी लिएको थिएँ,’ उनले भने, ‘हाल व्यवसायीक रुपमा गड्यौला मल उत्पादन गरिरहेको छु ।’

भागेश्वर गाउँपालिका व्यवसायीक तरकारी र फलफूल उत्पादनका लागि अग्रणी मानिन्छ । ठकुराठीले पनि गड्यौला मल उत्पादनसँगै व्यवसायीक रुपमा भैँसीपालन र बेमौसमी तरकारी तथा फलफूल खेती गरिरहेका छन् । 

‘झापाबाट नयाँ जातको धान र गहुँको बिउ लिएर खाद्यान उत्पादनमा पनि व्यवसायीकता दिन खोजिरहेको छु,’ उनले भने, ‘हामीले उत्पादन गरेको धान र गहुँ कैलाली र कञ्चनपुरसम्म बिक्री हुने गरेको छ ।’

विद्यार्थी जीवनदेखिनै राजनीतिमा होमिएका ठकुराठी २०५६ सालदेखि पूर्णकालीन भएर माओवादी राजनीतिमा लागेका थिए । 

जिल्ला कमिटीका विभिन्न पदमा रहेर काम गरेका ठकुराठी हाल नेकपा माओवादी सुदूरपश्चिम प्रदेश समिति सदस्य र भागेश्वर गाउँपालिका इन्चार्ज छन् । 

ठकुराठीले गड्यौला मल उत्पादन गर्न थालेपछि प्रदेश कृषि विकास निर्देशनालय दिपायलबाट भौतिक संरचना निर्माण गर्न तीन लाख ५० हजार र कृषि ज्ञान केन्द्र डडेल्धुराबाट गोदाम घर निर्माण गर्न तीन लाख अनुदान रकम पाएको बताए । 

यसबाहेक पाँच लाख रुपैयाँ बैंकको ऋणसमेत लिएर गड्यौला मल उत्पादनका लागि झण्डै ३० लाख बराबरका भौतिक संरचना निर्माण स्वलगानीमा निर्माण गरिएको उनले बताए ।  

गड्यौला मल उत्पादनसँगै ठकुराठीले स्थापना गरेको कृषि तथा पशुपालन फर्ममा परिवारका सातजनाले पूर्णकालीन रुपमा काम गरिरहेका छन् भने तीन जनाले ज्यालादारीमा काम गर्ने गरेको ठकुराठी बताउँछन् । 

‘कृषि विज्ञानमा कक्षा १२ उत्तीर्ण दुईजना भतिजाहरु पनि सँगै काम गरिरहेका छन,’ ठकुराठीले भने, ‘युवाहरु कामका लागि विदेसिने प्रचलन बढ्न थालेका बेला स्थानीयस्तरमा स्वरोजगारी प्रर्वद्धनसँगै कृषि उत्पादनमा आत्मनिर्भर बन्न आफ्नै बारीमा पसिना बगाइरहेको छु ।’

राजनीतिमा लागेका मानिसहरु काम नगरेरै धनी बन्ने गरेकाले राजनीति प्रति वितृष्णा बढे्का बेला समुदायस्तरमा आत्मनिर्भरताको अभ्यास गर्न आफू व्यवसायीक रुपमा कृषि पेशामा लागेको ठकुराठीले बताए । 

वास्तविक किसानसम्म सरकारी अनुदान र सेवा सुविधा पुग्न नसकेको अनुभव सुनाउँदै उनले गरिखाने किसानलाई सहयोग गर्ने नीति राज्यले लिनुपर्ने बताए ।  

ठकुराठीले राजनीतिसँगै कृषि व्यवसायलाई निरन्तरता दिने योजना बनाएका छन । अर्गानिक कृषि उत्पादनका लागि गड्यौला मल निकै लाभदायक र प्रभावकारी हुने भए पनि व्यवसायीक किसानहरुले अझै रसायनिक मल प्रयोग गर्न नछाडेको अवस्थामा कृषि ज्ञान केन्द्रले उत्पादित मल वितरणमा सहयोग गरिरहेको ठकुराठीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशमै गड्यौला मल उत्पादनका क्षेत्रमा सिर्जनात्मक काम गरेर ठकुराठीले अर्गानिक कृषि उत्पादनका क्षेत्रमा महत्वपुर्ण योगदान पुगाएको बताए । 

कृषि ज्ञान केन्द्रसँग बजेट र कार्यक्रमको अभावमा ठकुराठीलाई खासै सहयोग गर्न नसकिए पनि उनले उत्पादन गरेको मल बिक्री वितरणमा सहजीकरण गरिररहेको भट्टले जानकारी दिए ।

व्यवसायीक रुपमा भैँसीपालनसमेत गरिरहेका ठकुराठीले भैँसीको मलमुत्र प्रयोग गरेर गड्यौला मल उत्पादन गरिहेकाले कृषिजन्य उत्पादनका लागि गड्यौला मल निकै प्रभावकारी रहेको भट्टले बताए । 

‘अनियन्त्रित र अवैज्ञानिक रुपमा जथाभावी रसायनिक मलको प्रयोग गर्ने प्रवृति बढ्दै गएकाले माटोको उर्बराशक्ति ह्रास हुँदै गएको छ, ‘उनले भने, ‘गड्यौला मलको प्रयोगबाट व्यवसायीक कृषि उत्पादन गर्ने परिपाटीको विकास हुन सकेमा दीर्घकालीन रुपमा दिगो कृषि विकासँगै माटोको उर्बरा शक्ति बढाउन सकिन्छ ।’   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ