arrow

कृषि मन्त्रालयका कर्मचारी पुनः आन्दोलनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
ministry-of-agriculture.jpg.jpeg

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कर्मचारीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि कृषि तथा पशुपक्षी विकासमन्त्रीको रूपमा मन्त्रालय सम्हालेका रामनाथ अधिकारीले समस्या समाधानको लागि केही समय दिन माग गरेपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए । तर आजका दिनसम्म पनि माग पूरा नभएको भन्दै उनीहरूले पुनः आन्दोलन शुरु गरेका हुन् । 

कर्मचारीहरू समायोजनपछि बढुवा नभएको भन्दै उनीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना बसेका छन् । संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलनमा छन् । 

उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने र कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन् । संविधान र कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्य विवरणको आधारमा उपयुक्त सङ्गठनात्मक संरचना निर्माण गर्नुपर्ने माग पनि उनीहरूको छ । 

धर्नामा बसेका कर्मचारीहरूले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको भन्दै दरबन्दी प्राप्तिका लागि ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए । बिहीबारको धर्नाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै २०७५ सालमा समायोजनबाट भएका त्रुटिहरू सच्याउँदै वृद्धि विकास कार्यलाई सुचारु गर्न माग गरेको बताए । 

२०७५ सालमा समायोजन गरेपछि सरकारले पदनाम दिन नसकेको बताए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत समायोजन भएका ३७८ जना कर्मचारीहरूको पदस्थापन नगरीकन आयोजना र परियोजनामा काममा खटाउने गरेको बताए । ऐनले दिएको अधिकार प्रयोग गर्दै हरेक ठाउँका माथिल्ला पदहरूमा अवकाश, राजीनामा वा अन्य कारणबाट रिक्त रहेका पदमा वृद्धि विकासको बाटो सुचारु हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ