arrow

देवशीला यात्राले नेपाल–भारत सम्बन्धमा थपिएको नयाँ आयाम 

logo
संजीबबिक्रम शाह,  
प्रकाशित २०७९ माघ २९ आइतबार
sanjiv-bikram-shah-.jpg

देवशीला यात्राले नेपालसँगको पौराणिक, धार्मिक सम्बन्धमा नयाँपन ल्याएको छ । यसमा नेपालका पवित्र कालीगण्डकी नदी र तीर्थस्थलहरुलाई पनि जोडिएर हेर्न सकिन्छ  । 

अयोध्यामा रहेका राम मन्दिरमा नेपालको देवशीलामा कुँद्न लागिएको रामललाको मूर्तिले दुई देशका धार्मिक, सांस्कृतिक सम्बन्धका साथै नागरिक तहको सम्बन्धमा नयाँ आयाम थपिँदैछ । मन्दिरको गर्भभागमा लाखौँ मान्छेले पूजा गर्ने मूर्ति नेपालको शीलाबाट बन्दैछ । यसको महत्वको व्याख्या जति गरे पनि पुग्दैन । 

जनकपुर र नेपालको सम्बन्ध आदिकालदेखि चल्दै आएको हो । त्यसको व्याख्या इतिहासका थुप्रै धर्मग्रन्थहरुमा भएकै छ । अहिलेको आधुनिक समाजमा देवशीलाको माध्यमबाट त्यो सम्बन्धमा नयाँ आयाम थपिएको छ । यसले पक्कै पनि नेपाल–भारतबीचको सम्बन्धलाई थप प्रचार गर्दै नागरिक तहमा रहेको असमझदारीलाई चिर्न सघाउ पुगेको छ ।

धार्मिक मान्यताअनुसार ‘नेपाल बिना राम अधुरा’ भनिएको हो । आजको आधुनिक युगमा पनि रामलाई पूर्णता दिन नेपाल अघि सरेको छ । भगवान रामको जन्मस्थल भारतको अयोध्यामा भव्य मन्दिर निर्माण भइरहेको छ । 

शीलासम्बन्धी मिडियाले गरेको रिपोर्टिङले भारतीय जनमानसमा नेपालबारे कायम नकारात्मकतालाई केही हदसम्म पक्कै चिरेको हुनुपर्छ ।

मन्दिर निर्माणको विषयलाई वर्षौंदेखि रिपोर्टिङ गरेका पुराना पत्रकार भीएन दास केन्द्र र प्रदेश दुवै सरकारको ध्यान अयोध्यामा रहेको बताए । मूर्ति निर्माणका लागि शिला अयोध्या आएपछि नेपाल भारतको सम्बन्ध थप चर्चामा आएको छ । 

पुरानो र परम्परागत मित्रता थप कसिलो बन्दै गइरहेको छ । ‘जनकपुर र अयोध्याको सम्बन्धको व्याख्या गर्न जरुरी छैन, यो धेरै प्राचीन हो । तर आजबाट नयाँ सम्बन्धको पनि शुरुआत भएको छ,’ अयोध्याका स्थानीय अभिनास कुमारले भने, ‘नेपाल सरकार, गण्डकी प्रदेश सरकार र जानकी मन्दिरले गरेको सहयोग अमूल्य छ ।’ 

नेपालमा सामान्य ढुङ्गाका रुपमा हेरिएको शीलाप्रति भारतमा देखिएको चासो, आस्था र श्रद्धा साँच्चै अनुकरणीय छ । यसलाई धार्मिक आस्थाका रुपमा मात्रै नबुझी भारतवासीको आस्थालाई नेपालको धार्मिक पर्यटनसँग जोडेर जान सकेमा प्रशस्त लाभ उठाउन सकिने थार्मिक क्षेत्रका जानकारहरु बताउँछन् ।
 

दुई देशलाई जोड्ने शीलाको यसरी भयो खोजी 
भगवान् रामको जन्म त्रेतायुगमा अयोध्यामा र विवाह जनकनन्दिनी जानकीसँग भएको थियो । त्यसैले जहाँ राम, त्यहाँ सीता जोडिनु स्वाभाविक नै हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेपालके बिना हमारे राम भी अधूरे हैं’ भन्दै आएका छन् । जनकपुर होस् या लुम्बिनी आफ्नो भ्रमणका क्रममा उनले दुई देशलाई जोड्ने धार्मिक र सांस्कृतिक विषयलाई महत्त्वका साथ उठाउने गरेका छन् ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि ‘सीता माता बिना अयोध्या अधुरो’ भनी पटकपटक बोलिरहेकै छन् ।  

शीलाविज्ञ एवं कालीगण्डकी अभियन्ता डा. कुलराज चालिसेल भगवान् विष्णुसँग जोडिएको शालिग्राम पाइने पवित्र नदी कालीगण्डकीबाट शीला अयोध्या पठाउने भएपछि  एक सय आठ स्थानमा रहेका शीलाको अध्ययनपश्चात् दुई शीला छनोट पठाएको बताए ।

चालिसेले भने, ‘मेरो नेतृत्वमा एक सय आठ स्थान छनोट गरेर गलेश्वरस्थित अन्धगल्छीबाट शीला लिने कुरा थियो तर त्यहाँको गहिराइका कारण शीला ल्याउन गाह्रो भएपछि नजिकको स्थानमा रहेका दुई सय शीलामध्ये पाँचवटा छनोट गरियो । परीक्षण गर्दा अयोध्या पठाइएका दुई शीला उपयुक्त देखियो,’ डा चालिसेले भने,  ‘श्रीराम मन्दिर एक हजार वर्षसम्म रहने र अहिले छनोट गरिएका शीला हजारौं वर्षसम्म रहने सक्ने देखिएपछि रामको बालस्वरूप मूर्ति बनाउन ती दुई शिलालाई पठाउन सिफारिस गरेका हौँ ।”

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएका १८ र १६ मेट्रिक टन तौल भएका शिला सात फिट लम्बाइ, पाँच फिट चौडाइ र ३।५ फिट मोटाइका छन् । यिनै शिलामध्येको सानो शिलामा रामललाको स्वरुप बनाउने छन् ।

‘माने भगवान, नमाने ढुङ्गा’ 
नेपालको पत्थर देवशीलाबाट बन्ने मूर्तिका कारण दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप अविष्मरणीय बनाएको छ । 

धार्मिक भनाइ छ– ‘माने भगवान, नमाने ढुङ्गा’ । नेपालमा पत्थरको खानी छ । कालीगण्डकीमा पााइने शालिग्राम पूजनीय मानिन्छ । त्यही नदीबाट निकालिएका दुई ठूला पत्थर यतिबेला भगवान रामका रुपमा पूजीन थालेका छन् । नदीमा रहँदासम्म पत्थरको परिचयमा मात्रै सीमित त्यहाँबाट अयोध्या राम मन्दिरका लागि उत्खनन् भएदेखि दुई पत्थर भगवानको रुपमा पूजनीय हुन पुगे । 

नदीबाट निकालिएका शालिग्राम पत्थर अयोध्या नपुग्दै रामको रुपमा हेरिन थाले । जनकपुरबाट भारत प्रवेश गरेपछि त्यस शीलाप्रति आस्था प्रकट गर्नेका संख्या बढ्दै गयो । 

अयोध्यासम्मको यात्रामा उक्त शीलालाई हजारौं हजार मानिसले श्रद्धा र आस्था प्रकट गरे । अयोध्याका स्थानीयहरुले शालिग्राम पत्थरलाई रामको रुपमा हेर्दै स्वागतमा कुनै कमी हुन दिएनन् । 

यसले नेपालमा रहेका जनकपुर र अयोध्याको प्राचीन सम्बन्ध प्रगाढ बनाएको छ भने देवशीलाले त्यो सम्बन्धलाई थप उचाइमा पुर्याएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ