arrow

टाटाले ईभीमा सिङ्गै ब्याट्रीको सट्टा 'निकै सस्तो' मा मोड्युल र सेल मात्रै फेर्ने प्रविधि ल्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
tata-ev-sipradi-tatamotors.jpg

काठमाडौ । असी प्रतिशत भन्दा बढी मार्केट शेयर ओगटेको दाबी गर्ने टाटा मोटर्सले ईभीका लागि पश्चिममा कैलालीको अत्तरियादेखि पूर्वमा झापाको बिर्तामोडसम्म १९ वटा चार्जिङ स्टेसनको नेटवर्क रहेको बताएको छ ।

लगभग यी सबै ईभीकाे एक पटक फुल चार्ज गर्दा ३ सय १० किलोमिटर भन्दा बढी गुड्ने क्षमता रहेकोमा एक सयदेखि डेढ सय किलोमिटरको दूरीमा पूर्वदेखि पश्चिमसम्म चार्जिङ स्टेसन रहेको कम्पनीले जनाएको छ।

नेपालको प्रमुख इलेक्ट्रिक भेहिकल (ईभी) अथवा विद्युतीय गाडीका रूपमा बजार ओगटेको टाटा मोटर्सले हाल तीन वटा ईभी नेपालमा बिक्री गर्दै आएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदL ट्रेडिङले हाल नेपालमा नेक्सन ईभी, नेक्सन ईभी डार्क र टिगोर ईभी गरी तीन वटा विद्युतीय गाडी बिक्री गरिरहेको हाे ।

नेक्सन ईभीका एक्सजेड प्लस लक्ज(XZ+ Lux), एक्सजेड प्लस(XZ+) र एक्सएम (XM) गरी तीन भेरियन्ट रहेका छन् । यस्तै नेक्सन ईभी डार्कका एक्सजेड प्लस(XZ+ (#Dark)) र एक्सजेड प्लस लक्ज(XZ+ Lux (#Dark)) गरी दुई भेरियन्ट रहेका छन् ।

टिगोर ईभीका भने एक्सई(XE), एक्सएम(XM), एक्सजेड प्लस( XZ+) र एक्सजेड प्लस डीटी( XZ+DT) गरी चार भेरियन्ट रहेका छन् । टाटाले नेक्सन ईभी नेपालको नम्बर वान एसयुभी दाबी गरेको छ। हाल नेपालमा टाटाले तीन हजार बढी ईभी बिक्री गरिसकेको जनाएको छ।

टाटा ईभीको नेपाली मूल्य स्रोत: cars.tatamotors.com.np

महँगो ब्याट्री भन्ने चिन्ताको विकल्प

सेप्टी, डिजाइन, टेक्नोलोजी, पर्फमेन्स, कम्फर्ट एवं वातावरण मैत्रीलगायतका विशेषताले ईभीले विश्व बजार लिँदै छन् । खासगरी जलवायु परिवर्तन विरुद्ध लड्न अत्यावश्यक नै भएका कारण पनि सवारीमा अबको भविष्य ईभी र अन्य वैकल्पिक ऊर्जाका साधनहरू नै हुन् ।

तथापि अहिलेको समयमा ईभी किन्नु पर्दा ब्याट्री फेर्नु परेमा महँगो हुने भन्ने चिन्ता वा प्रश्नले केही ग्राहकहरूको मनमा प्रश्न उठ्ने गर्छ ।

तथापि टाटाले अहिले आफ्ना ईभीहरुको ब्याट्रीमा ८ वर्षको ग्यारेन्टी दिएको सिप्रदी ईभीको तालिम केन्द्रका प्रमुख दिपेश पाैडेलले बताएका छन् । एउटा ईभीको ब्याट्री कम्तीमा १५ वर्ष टिकाउने कम्पनीको भनाइ छ ।

दिपेश पौडेल बायाँ, सावन्त जङ्ग सिजापति बीचमा र कुमार भण्डारी दायाँ

आजसम्म टाटाका तीन हजार बढी ईभी बेचिसकेको सिप्रदीले एउटै पनि ब्याट्रीमा समस्या नआएको बताएको छ ।

टाटाले अहिले नेक्सन ईभीमा प्रयाेग गर्दै आएको ब्याट्रीमा ६०० वटा साना सेल रहेका छन् । ती सबै सेलकाे चार्ज ब्याट्रीकाे पूर्ण चार्ज हुन्छ। ती ६०० वटा सेलहरू एउटैमा नभएर विभिन्न मोड्युलमा राखेर सिङ्गो ब्याट्री बनाइएको छ ।

ब्याट्रीको क्षमता र डिजाइनको आवश्यकता अनुसार कुनै मोड्युमा २० सेल या कुनैमा कति सेल राखिने तालिम केन्द्रका प्रमुख पाैडेलले बताए।

'प्राय: अवस्थामा पूरै ब्याट्री बिग्रिने नभएर कुनै मोड्युल मात्रै बिग्रिने गर्छ र यसरी त्यो एउटा मोड्युललाई फेर्न सकिने' उनकाे भनाइ छ । 

'यसरी एउटा मात्रै मोड्युल फेर्नुपर्दा निकै कम खर्च लाग्छ, गाडीको मूल्यको करिब पाँच प्रतिशत जतिमा एउटा मोड्युल फेरिन्छ,' उनले भने।

यस्तै टाटाले अब मोड्युल भन्दा पनि ब्याट्रीमा रहेका सेलहरू मात्रै फेर्ने प्रविधिमा काम गरिरहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट हेड सावन्तजङ्ग सिजापतीले बताए । 

टाटाको ईभी ब्याट्री बायाँ र ईलेक्ट्रिक मोटर दायाँ

यी सेलहरु मोड्युलमा राखिँदा लेजर वेल्डिंग भएको हुन्छ। सेललाई लेजर वेल्डिंग गरिएको माड्युलबाट हटाएर फेरि त्यहाँ जोड्ने र यसमा संलग्न अन्य प्रविधिमा काम गरेर भविष्यमा मोड्युलसमेत नभएर ब्याट्रीमा रहेको सेल मात्रै फेर्न सक्ने गरी कम्पनीले काम गरिरहेको उनले बताए।

यस्तोमा भएमा ब्याट्री फेर्नु पर्ने खर्च निकै कम हुने र सबै सेलहरू सँगै नबिग्रिने भएका कारण सबै सेल पनि फेर्न नपर्ने हुने कम्पनीको भनाइ छ।

शुरुमा मोबाइल र मोबाइलको मूल्य बढी भए झैँ अहिले शुरुआती चरणमा भएका कारण ईभीको ब्याट्रीको मूल्य पनि बढी रहेको उनको भनाइ छ।

भविष्यमा ब्याट्रीहरूको उत्पादन बढ्दै जाँदा यसको लागत घट्ने पनि कम्पनीको भनाइ छ। नेक्सन ईभीमा ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ।

ईभीको सिस्टम आर्किटेक्चर

ट्रेनिङ र डायग्नोस्टिक एवं रिपेयरिङ सेन्टर

टाटाको ईभी सम्बन्धीका सम्पूर्ण प्राविधिक ट्रेनिङका लागि नैकापस्थित कार्यालयमा ट्रेनिङ एवं लर्निङ सेन्टर रहेको छ। यस्तो ईभी लर्निङ सेन्टर दक्षिण एसियामै पहिलो रहेको कम्पनीका युनिट हेड सिजापतीले बताए ।

यस्तै ईभीको ब्याट्री र अन्य समस्या पत्ता लगाउन एवं रिपेयरिङका लागि बखुन्डोलमा सर्भिस सेन्टर रहेको छ। तथापि आजसम्म कुनै पनि ब्याट्रीमा समस्या नआएको कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ