arrow

दाङमा स्कुटर चोर प्रकरणः आईजीपीको निर्देशनपछि बन्यो छानबिन समिति  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
scooty-chor.jpg

दाङ । दाङ प्रहरीले स्कुटर चोरलाई बचाएको आरोप लागेपछि प्रहरी प्रधान कार्यालय काठमाडौंको निर्देशनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न समिति बनाएको छ । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी टेकप्रसाद राइले घटना बारे ध्यानाकर्षण भइसकेको भन्दै घटनाबारे यथार्थ छानबिन गर्न आफूले निर्देशन दिइसकेको बताए । 

घोराहीको मुख्य चोक वीपीचोक नजिकै रहेको टीभीएस शोरुमबाट दिउँसै स्कुटर चोरिएपछि प्रहरीले चोरीमा संलग्न अभियुक्तलाई मुद्धा नचलाई छाडेको समाचार सार्वजनिक भएको थियो । 

नेपाल प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले स्कुटर चोरी प्रकरणमा चोरलाई जोगाउन प्रहरीको मिलेमतो भए नभएकोबारे छानबिन गरेर कारबाही गर्न प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् । 

आईजीपी सिंहको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख राईले प्रदेश प्रहरीमा कार्यरत एसपी नवरत्न पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए । 

उनले पौडेल नेतृत्वको छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने र यदि चोरी घटनामा प्रहरीको मिलेमतोमा भेटिए माथिल्लोदेखि तल्लो दर्जाका जुन कुनै प्रहरीलाई कारबाही गर्ने चेतावानी दिए ।  

यो घटनाले प्रहरी संगठनमाथि प्रश्न चिन्ह खडा भएकाले प्रहरीकै मिलेमतोमा चोरी घटनाको अभियुक्त मुद्धा नचलाई छुटेको भए घटनामा संलग्न जो कोहि पनि कारबाही दायरामा आउने उनले बताए । 

गएको शुक्रबार दिउँसो १ः३० बजे नोवेल ट्रेडिङ प्रालिको घोराही–१५ वीपीचोकको टीभीएस शोरुमबाट नचिनेका व्यक्तिले टीभीएस स्कुटर लगेपछि शोरुम सन्चालकले शोरुमबाट स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा आक्रोशसहित लेखेका थिए । 

शोरुम सञ्चालक चित्रबहादुर विष्टका अनुसार शुक्रबार दिउँसो दुई लाख ९५ हजार नौसय मूल्यको एनटर्क स्कुटर चोरी भएको भन्दै सामाजिक सन्जालमा लेखेर प्रहरीमा उजुरी नै दिएका थिए ।

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै सञ्चालक विष्टले असन्तुष्टि जनाउँदै गुनासो गरे । विष्टले सीसी क्यामेरा फुटेजसहित निवेदन सोही दिन जिल्ला प्रहरी कार्यालय दाङमा बुझाए । 

त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो । प्रहरीले घोराहीको कटुवाखोलाबाट स्कुटी फेला पार्यो । त्यसको केही दिनपछि प्रहरीले सीसीटीभी फुटेजको सहारामा स्कुटी चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्यो । 

माघ २४ गते घोराही ३ का कुमार रानालाई स्कुटर चोरिमा संलग्न भएको आरोपमा पक्राउ पनि गरेर ल्यायो । तर स्कुटी चोरीमा संलग्न ब्यक्तिलाई मुद्धा नचलाई छाडेको प्रहरीलाई आरोप लागेको छ । 

रानालाई छुटाउन गणेश नेपालीले जिप्रका पुगेर दबाब दिएको प्रहरी स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले पीडित पक्षले नै चोरी गर्ने मान्छे चिनजानको मान्छे भएकाले मुद्दा नचलाउन आग्रह गरेकाले छाडिएको बताए । 

प्रहरीको यो कार्य शंकास्पद रहेको भन्दै यस्तै चोरीका घटना भएमा यस्तै नजिर दोहोरिए के गर्ने भन्ने आम सरोकारवालाले प्रश्न गरेका छन् ।  

कुनैपनि घटनामा प्रहरीले लिखित जाहेरी नआए प्रहरी प्रतिवेदनका आधारमा मुद्धा चलाउने गर्छ । तर प्रहरीले यो घटनामा मुद्धा नचलाइ छोड्दा चौतर्फी चाँसो प्रकट भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङभित्र हरेक मुद्धामा डिल एसपीले डीएसपीमार्फत गर्ने गरेको चर्चा छ । चोरी प्रकरणमा पनि अभियुक्त राम्रै आर्थिक सम्पन्न परिवारको भएकाले आर्थिक चलखेल गरेर मुद्धा नचलाइएको हुन सक्ने धेरैले अनुमान गरेका छन् । 

मुद्धा फाटका सई देबबहादुर वलीमार्फत हरेक मुद्धामा सेटिङ हुने गरेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ