- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखला अन्तर्गत पहिलो खेल त्रिविवि कीर्तिपुर मैदानमा भइरहेको छ । नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध खेलिरहेको छ । जितका लागि नेपालले २८६ रनको चुनौती पछ्याउँदै छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि नामिबियाले सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २८५ रन बनायो ।
नेपालले शुरुआतमै विकेट लिए पनि त्यसपछि सुधारोन्मुख देखिएको नामिबियाका लागि माइकल भन लिंगेनले १३३ रन बनाए । त्यस्तै कप्तान गेर्हार्ड इरास्मसले ५६ रन जोडे । जेन ग्रिनले १९ बलमा ३४ रन बनाए ।
नेपालका लागि करण केसीले ६१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै बलात्कार आरोपमा गत भदौ २३ गतेदेखि निलम्बित भएर मुद्दा खेपिरहेका सन्दीप लामिछानेले पहिलो पटक मैदानमा आएर ६६ रन खर्चिदै ३ विकेट लिए । उनको मुद्दा भने जारी नै छ । यही अवस्थामा नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गरेर यही प्रतियोगिताका लागि समावेश गरेको हो ।
त्यस्तै सोमपाल कामी र कुशल मल्ले १–१ विकेट लिए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेलिरहेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने सन् २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । सन् २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।
जारी प्रतियोगितामा नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपाललाई एक दिवसीय वरीयतामा रहन बाँकी सबै खेलमा सकारात्मक परिणाम ल्याउनु पर्नेछ ।