arrow

रोहित–कुशलको जोडीले पछ्याउँदै नामिबियाले दिएको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
cricket-premi.jpg
तस्बिर– कीर्तिपुर मैदानमा क्रिकेटप्रेमीहरुको उल्लेख्य सहभागीता ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखला अन्तर्गतको पहिलो खेलमा त्रिविवि कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग खेलिरहेको छ । नेपालले २८६ रनको चुनौती पछ्याइरहेको छ । 

नेपालका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले शानदार साझेदारी गरेसँगै नेपालले उक्त चुनौतीलाई सहजै पछ्याइरहेको छ । दुवैले व्यक्तिगत अर्धशतक बनाइसकेका छन् । खराब शुरुआत गरेको नेपालका लागि आशिफ शेख ० र ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भएपछि कुशल र रोहितको जोडीले तेस्रो विकेटका लागि शानदार साझेदारी गरेको हो । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गरेपछि नामिबियाले सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २८५ रन बनायो । 

नेपालले शुरुआतमै विकेट लिए पनि त्यसपछि सुधारोन्मुख देखिएको नामिबियाका लागि माइकल भन लिंगेनले १३३ रन बनाए । त्यस्तै कप्तान गेर्हार्ड इरास्मसले ५६ रन जोडे । जेन ग्रिनले १९ बलमा ३४ रन बनाए । 

नेपालका लागि करण केसीले ६१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै बलात्कार आरोपमा गत भदौ २३ गतेदेखि निलम्बित भएर मुद्दा खेपिरहेका सन्दीप लामिछानेले पहिलो पटक मैदानमा आएर ६६ रन खर्चिदै ३ विकेट लिए । उनको मुद्दा भने जारी नै छ । यही अवस्थामा नेपाल क्रिकेट संघ क्यानले उनको निलम्बन फुकुवा गरेर यही प्रतियोगिताका लागि समावेश गरेको हो । 

त्यस्तै सोमपाल कामी र कुशल मल्ले १–१ विकेट लिए । 

कीर्तिपुर मैदानमा क्रिकेटप्रेमीहरुको उल्लेख्य सहभागीता रहेको छ । 

एकदिवसीय अन्तर्राष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेलिरहेको हो । लिस्ट ‘ए’ मान्यता प्राप्त खेलमा भने सन् २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् । सन् २०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो । 

जारी प्रतियोगितामा नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपाललाई एक दिवसीय वरीयतामा रहन बाँकी सबै खेलमा सकारात्मक परिणाम ल्याउनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ