arrow

राष्ट्रपति चयनका नाममा अनौठो राजनीतिक खेल  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
president-election-nepal1.jpg

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिदै गर्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेपछि एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वाम गठबन्धन र सहकार्यलाई जारी राख्नुपर्ने सन्देश दिएका छन् । 

उनले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्दै सो सन्देश दिएका हुन् । माओवादीलाई अप्ठेरो परेमा एमालेले कुनै पनि हालतमा सहयोग गर्ने बचन दिँदै अहिलेकै गठबन्धनलाई कायम राखेर आगामी दिनमा अघि बढ्दा राम्रो हुने बताएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

माओवादीले राष्ट्रिय सहमतिको नाममा साढे दुई वर्षभन्दा बढी समय सरकारको नेतृत्व गर्न पाउनुपर्ने गरी अघोषित शर्तनामा राखेर बार्गेनिङ गर्न थालेपछि सोमबार बिहान अर्थमन्त्री पौडेल प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । 

पुस १० गते प्रचण्डको नेतृत्वमा सरकार बनाउँदा एमालेलाई राष्ट्रपति दिने सहमति भए पनि माओवादीले राष्ट्रिय सहमतिको नाममा अत्तो थापेर एमालेलाई अप्ठेरोमा पार्न थालेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच धेरै दिनदेखि एक्लाएक्लै कुराकानी भए पनि सरकारलाई पूर्णतः सहयोग गर्नुपर्ने र राष्ट्रपतिमा साझा उम्मेदवार खोजिनुपर्ने विषयमा मात्रै छलफल भएको थियो । 

जसले गर्दा प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लम्ब्याउन चाहेको स्पष्ट आभाष गरेको एमाले नेताहरुको बुझाइ थियो । अहिले त प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत खुलेआम रुपमा पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन चाहेको अभिव्यक्ति दिएपछि भने एमालेले माओवादीको बार्गेनिङ धेरै भो भन्दै अबका दिनमा पनि वामगठबन्धन गरेर जाँदा वामपन्थीहरुलाई सहज हुने प्रस्ताव गरेको हो ।

सोमबार बिहान अर्थमन्त्री पौडेलले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेको केही समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि भेटघाट गरेका थिए । सो क्रममा रविले अहिलेकै गठबन्धन कायम राखेर जान सुझाव मात्र होइन राष्ट्रपतिमा एमालेलाई सहयोग गर्नेसम्म आफ्नो पार्टीको मनशाय रहेको बताएका थिए । 

तर प्रधानमन्त्री प्रचण्डले पौडेल र लामिछाने दुवैलाई साझा व्यक्तिमा सहमति हुनुपर्ने पुरानो अडान दोहोर्याएका थिए । 

तर आइतबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेता र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । 

भेटमा भावी राष्ट्रपतिको विषय र आगामी सहकार्यबारे छलफल भएको थियो । त्यहाँ प्रचण्डले कांग्रेस नेताहरुलाई समर्थन गर्न सकिने वचन दिएको स्रोतको दाबी छ । 

उनले एमाले अध्यक्ष ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालको नाम अघि सारेमा चाहिँ आफूहरु के गर्ने भन्ने अन्योलमा रहेको पनि बताएका थिए ।

नाटकीय रुपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा प्रचण्डले एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उनीनिकट नेताहरुले बताएका छन् ।

जसको प्रमाण सोमबार साँझ सकिएको माओवादीको पदाधिकारी बैठकले पनि दिएको छ । उक्त बैठकले राष्ट्रिय सहमतिको राष्ट्रपतिमा जोड दिएको हो । बैठकले माओवादीको स्वार्थ मिल्ने दलहरुसँग सहकार्य गर्ने उल्लेख गरेको छ । 

र, उम्मेदवार छान्ने जिम्मा प्रचण्डलाई दिएको छ । अब यहाँनेर प्रचण्डले कांग्रेसलाई वचन दिनु र पार्टीबाट सोही अनुसारको निर्णय गराउनुले पनि प्रचण्ड र एमालेबीच तालमेल नभएको स्पष्ट हुन्छ । 

तर नेपाली राजनीतिमा ‘इलाभेन्थ आवर’ हावी हुने भएकाले अन्तिम समयसम्म जे पनि हुन सक्ने आँकलन गर्न सकिन्छ । 

त्यसो त आइतबार राति एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गोप्य भेटवार्ताले अर्को तरङ्ग ल्याएको छ ।

ओलीले माओवादीबाट धोका हुन सक्ने भन्दै त्यसो हो भने एमालेबाटै छुट्टिएका माधव नेपालसँग पार्टी एकता गरेर माधवलाई राष्ट्रपति दिने र राष्ट्रपतिको निर्वाचनपछि पार्टी एकता गरेर आफू ठूलो दलको अध्यक्ष बनेर प्रचण्ड सरकार ढाल्ने खेलमा लागेका हुन् । 

नेकपा एससँग एमालेको पार्टी एकता भए एमाले कांग्रेसभन्दा ठूलो पार्टी बन्नेछ । त्यसपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफू प्रधानमन्त्री बन्नेमा ओली महत्वाकांक्षी देखिएका छन् । 

यही फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयनको दिन रहेको छ । त्यसअघि नै एकपटक दलहरुबीच राष्ट्रपति चुनावका नाममा समीकरण फेरबदल हुन सक्नेछ । राजनीतिमा अनौठो संयोग देख्न सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ