arrow

पोखराबाट रात्रिकालीन उडान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
Pokhara international airport.jpg

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान शुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान शुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । 

उनका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीबार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान शुरु गरेको हो । काठमाडौँ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भरेको विमानस्थलले जनाएको छ ।

पोखरामा रात्रि विसान भएका चारै गन्तव्यका जहाजले आज बिहान सम्बन्धित गन्तव्यमा उडान भरेका छन् । रात्रि उडान तालिका बनाएर उडान सञ्चालन भएको र यसबाट यात्रुको सहजताका साथै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

“रात्रिकालीन उडानबाट अत्यावश्यक कामकाजी यात्रुलाई सहजता हुनका साथै ‘सिटी लाइफ’ चलायमान बन्नेछ । पर्यटन उद्योगलाई पनि चलायमान बनाउन मद्दत पुग्नेछ”, प्रमुख गौतमले भने ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार रात्रि उडान भरेर पोखरामा विसान भएका जहाजले आज बिहान पोखराबाट पुनः काठमाडौँ, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।

उहाले पोखरालाई हब बनाएर एकसाथ शुरु भएको रात्रिकालीन उडानले यात्रुलाई सहज आवातजावतका साथै मुलुकको पर्यटन विकास तथा स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । विभिन्न शिलशिलामा पोखरामा पुग्ने यात्रुले साँझ पोखरा बसाइ तथा घुमफिर गरेर बिहान आफ्नो गन्तव्यमा फर्कन सहज हुनेछ ।

निर्धारित रात्रिकालीन उडान तालिकाअनुसार भद्रपुर-पोखरा साँझ ६ः५५ बजे, भैरहवा-पोखरा साँझ ७ः२५ बजे, नेपालगञ्ज-पोखरा साँझ ७ः३० बजे र काठमाडौँ-पोखरा साँझ ७ः३५ बजे रहेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन ११ मा इन्स्ट्रमेन्ट फलाइट रुल्स (आइएफआर) प्रणाली लागू भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सौर्य एयरले काठमाडौँ-पोखरा उडान भर्दै आएका छन् । पोखराको पुरानो आन्तरिक विमानस्थलबाट तारा एयर र समिट एयरले स्टल रुटमा उडान भर्दै आएका छन् ।

बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज, भैरहवा, भद्रपुर र चितवनलाई जोडेको छ । आउँदा दिनमा बजारको माग अनुसार अन्य गन्तव्यमा पनि विस्तार गर्ने बुद्ध एयरले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ तारिखदेखि सञ्चालनमा आएको छ । विमानस्थल सञ्चालन भएको तीन महिनापछि रात्रिकालीन उडान शुरु भएपनि अन्तर्राष्ट्रिय उडान भने अझै अनिश्चित छ । 

अन्तर्राष्ट्रिय उडानका लागि पोखरेली र सरोकारवालाले दवाव दिएपनि सार्थकता पाउन सकेको छैन । अन्तर्राष्ट्रिय उठान हुन नसक्दा निराश बनेका पोखराका पर्यटन व्यवसायी रात्रिकालीन उडान शुरु भएपछि खुशी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ