सरकारको गलत भू–उपयोग नीतिले अर्थतन्त्रमा गम्भीर असर पर्दै
भेषराज पोखरेल,
प्रकाशित २०७९ फागुन २८ आइतबार
1.7k
Shares
राज्यले बनाउने नीति कमजोर भयो वा लागू गर्न नसकिने खालको बन्न गयो भने सरकारको लक्ष्य पूरा हुँदैन । पछिल्लो समय बनाइएको नेपालको भूमि–उपयोग नीतिअनुसार जमीनलाई कृषियोग्य र गैरकृषि क्षेत्रमा छुट्याएर लागू गर्ने भनिए पनि त्यसको कार्यान्वयन कमजोर देखिएको छ ।
त्यही गलत नीतिका कारण पालिकाहरुले जमीनको वर्गीकरण गर्न सकेका छैनन् । जसले गर्दा आमजनताले आफ्नो जमीन कित्ताकाट गरेर बिक्री गर्न पाएका छैनन् । यसले गर्दा जग्गा किनबेच र घर निर्माण कार्य रोकिँदा अर्थतन्त्रका विविध क्षेत्र प्रभावित हुन पुगेका छन् । यसले सरकारको राजस्वमा पनि ठूलो गिरावट ल्याउने देखिएको छ ।
अर्को सरकारी निकायले गर्ने जग्गाको गलत मूल्यांकन र समय अनुसारको मूल्यांकनमा अद्यावधिक गर्न नसक्दा पनि राजस्वमै प्रभाव पर्न गएको छ । सरकारले एकातिर नयाँ–नयाँ शहर बसाउने नीति बनाउने अर्कातिर चरम दलालीकरणलाई प्रश्रय दिँदा सामान्य जनता शहरी क्षेत्रमा घरबास खरिद गर्न सक्ने अवस्थाबाट टाढिँदै गएका छन् ।
पछिल्लो समय घरजग्गा क्षेत्रमा चरम दलालीकरण बढेपछि उपत्यका, अन्य शहरी क्षेत्र नजिक र तराई–मधेश क्षेत्रमा व्यापक रुपमा जग्गाको प्लटिङ गर्न थालिएपछि खेतीयोग्य जमीन जोगाउनुपर्छ भन्ने आवाज आयो । यही सन्दर्भमा केपी शर्मा ओली सरकारको समयमै जमीनको वर्गीकरण गर्ने र खेतीयोग्य जमीनको खण्डीकरण रोक्ने भनियो ।
त्यसै अनुसार पछि भू–उपयोग नियमावली २०७९ जेठमा बन्यो । त्यसको कार्यान्वयन गर्न भूमि व्यवस्था मन्त्रालयले २०७९ साउनमा सबै पालिकाहरुलाई मंसिर २३ सम्म जमीनको वर्गीकरण गरेर पठाउन परिपत्र गर्यो । पूरै खाली जग्गाको वर्गीकरणलाई समस्या भएन तर नगरपालिकाको बस्ती नजिकको जमीनलाई कुन वर्गीकरणमा राख्ने ? अन्य बस्तीका बीच वा वरिपरिको जमीनलाई कुन वर्गमा राख्ने ?
कृषिमा राख्दा थोरै कर आउने, घडेरीमा राख्दा जनताले धेरै राजस्व तिर्नुपर्ने अवस्था आउँदा पालिकालाई कठिनाइ पर्न गयो । अर्को सरकारले अहिलेसम्म गरेको जमीनको मूल्यांकन पनि अवैज्ञानिक र अद्यावधिक नगरेर अव्यावहारिक भएकाले पालिकालाई आफ्नो क्षेत्रभित्र पर्ने जमीनको वर्गीकरण गर्न कठिन पर्यो । अझ प्राविधिक जनशक्तिको अभावले पनि पालिकाहरुले समयमै वर्गीकरण गरेर पठाउन सकेनन् ।
मंसिर २३ गतेसम्म ७ सय ५३ पालिकामध्ये जम्मा १ सय २९ पालिकाले मात्रै वर्गीकरण पठाएको भूमि व्यवस्थापन अभिलेखालयको तथ्याङ्कमा देखिन्छ । तीमध्ये पनि जम्मा १० प्रतिशत पालिकाले नीतिले तोकेअनुसार विस्तृत वर्गीकरण गरेर पठाएको बताइएको छ । अरुले भने कृषि र गैरकृषि भनेर मात्रै पठाएका छन् । ७ सय ५३ मध्ये ६ सय २४ पालिकाले वर्गीकरण गर्न नसक्नु भनेको सरकारी भू–उपयोग नीति नै उपयुक्त नभएको अर्थात् कार्यान्वयन गर्न नसिकने खालको भएको स्पष्ट हुन्छ ।
भूमि व्यवस्था मन्त्रालयले जमीनको वर्गीकरण नगर्दासम्म कित्ताकाट गर्न नदिने नीति लिएपछि यो आर्थिक वर्षको ६ महिनामा कित्ताकाट ७८ दशमलव ८६ प्रतिशतले घटेको छ । यसले जग्गाको कारोबार पनि स्वात्तै घटाएको छ । यो आर्थिक वर्षको ६ महिनामा जग्गा कारोबारबाट जम्मा ४१ अर्ब १७ करोड २ लाख रुपैयाँ राजस्व उठेको छ । जबकि अघिल्लो वर्ष यही ६ महिनाको अवधिमा जग्गा कारोबारबाट २१ अर्ब ९९ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको मालपोत विभागको तथ्यांकले देखाएको छ ।
सरकारी नीति बनाएर लागू गर्न खोजियो तर कार्यान्वयनमा जटिलता आएपछि त्यसको समीक्षा गर्नुपर्ने हुन्छ । सरकारले त्यसो गर्नुको साटो नापी विभागले मंसिर २३ गतेसम्म वर्गीकरण नगरेका पालिकाहरुले कृषि र गैरकृषि भनेर उल्लेख गरेर नपुग्ने, १० वटै क्षेत्रमा वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न नपाइने बताएको छ । नीति लागू गर्न सकिने भए पनि केही पालिकाले अटेरी गर्लान् । तर यति ठूलो संख्यामा पालिकाहरु अन्योलमा पर्नु गम्भीर कुरा हो ।
जग्गाको कित्ताकाट गर्न नपाएपछि खरिद–बिक्री हुने भएन । जग्गाको खरिद–बिक्री नहुँदा अर्थतन्त्रका धेरै क्षेत्रमा असर पर्न गएको छ । यसले जग्गा रजिष्ट्रेसन पासबाट आउने राजस्व घट्यो । यो ६ महिनामा जग्गाको कारोबार ४१ दशमलव २० प्रतिशतले कमी आएको छ ।
यसले सर्वसाधारण जनताले किन्न नसक्ने र बेच्न पनि नसक्दा उनीहरुको जीवनस्तरमा असर पारेको छ । कित्ताकाट नभएपछि घर बनाउनेको संख्या पनि घट्दै गएको छ । घरहरु नबनेपछि छड, सिमेन्ट, ढुंगा, गिटी, इँटा तथा अन्य निर्माण सामग्रीहरुको व्यापार घटेको छ ।
घर बनाउने प्राविधिक तथा कामदारले रोजगारी गुमाउँदै गएका छन् । घर–जग्गाको कारोबार घट्न गएपछि बैंक तथा वित्तीय संस्थाहरु पनि प्रभावित भएका छन् । जग्गाको खरिद–बिक्री नभएपछि बैंकको तरलतामा पनि प्रभाव पर्न गएको छ ।
यो आर्थिक वर्षको ५ महिनामा बैंकहरुले घर–जग्गा खरिदमा व्यक्तिगत आवासीय कर्जाका रुपमा १० अर्ब ७५ करोड ९० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । गतवर्ष यही अवधिमा यही शीर्षकमा ३५ अर्ब १४ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
रियल स्टेट कम्पनीमा भएको ऋण लगानी अझ कमजोर छ । यो ६ महिनाको ऋण लगानी गत वर्षको यही अवधिमा भन्दा २ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ ऋणात्मक भएको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्ष यही अवधिमा २६ अर्ब ६७ करोड ७६ लाख ऋण प्रवाह भएको छ । यी सबै अवस्थालाई हेर्दा सरकारको नीतिकै कारण अर्थतन्त्रको ठूलो क्षेत्र प्रभावित हुन गएको स्पष्ट देखिन्छ ।
नेपालमा परिवर्तन भइरहने सरकारहरुले सानातिना बजारहरुलाई जोडेर नगरपालिका बनाउँदै आए । अर्को काठमाडौं उपत्यकामै सेटेलाइट शहर बनाउने, मध्यपहाडी लोकमार्गका विभिन्न क्षेत्रमा विशेष शहर बनाउने योजना बनाइएका छन् । स्मार्ट शहरका कुरा छँदैछन् ।
एकातिर नगरपालिका बनाएर जनताबाट महँगो कर उठाउने अर्को, नगरपालिकाभित्र पर्ने जग्गा घडेरीमा बेच्न पाइन्न, यो त कृषियोग्य जमीन हो भन्ने नीति लिन खोजिएको छ । यो गलत नीति हो । पछिल्लो समय पहाडी तथा तराई–मधेशका गाउँहरुसमेत छाडेर सर्वसाधारण शहरमा बस्न चाहेको देखिएको छ ।
यस्तो अवस्थामा नगरपालिका र गाउँपालिका केन्द्र वरिपरिको जग्गा कित्ताकाट गर्न नदिने सरकारी नीतिले थोरै–थोरै आम्दानी जम्मा गरेर शहर तथा शहरोन्मुख क्षेत्रमा घरवास जोड्न चाहने सर्वसाधारण ठूलो मारमा पर्ने निश्चित छ । धनीले मात्रै शहरमा बस्न सक्ने अवस्था सिर्जना गर्ने सरकारी नीति गलत छ ।