arrow

अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
vyas nagarpalika.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छन् ।

उपप्रमुख दरैले शुक्रबार लामो समयदेखि ओछ्यान परेकी व्यास-१२ का ५४ वर्षीया चिजामाया क्षेत्रीलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेकी हुन् । अति अशक्त अवस्थाकी चिजामायालाई उपप्रमुख दरैले घरमै पुगेर ‘क’ वर्ग (अति अशक्त) को परिचयपत्र दिएकी हुन् । 

अति अशक्त भएका व्यक्तिलाई पालिकासम्म पुग्न समस्या हुने भएकाले घरमै पुगेर परिचयपत्र वितरण गरिएको उनले बताइन् । स्थानीय तहको सेवा घरघरमा पुगेर गर्दा सिंहदरबारको सेवा पाएजस्तो अनुभूति दिलाउनुपर्छ भन्ने मान्यता रहेको उनको भनाइ छ । 

नगरपालिकाको शिक्षा तथा सामाजिक विकास शाखा महिला, बालबालिका तथा सामाजिक उपशाखा प्रमुख राधा आचार्यले पालिका वा वडासम्म पुग्न सक्ने व्यक्तिलाई बोलाइने र अति अशक्तलाई घरमा नै पुगेर सेवा प्रवाह गर्दै आएको जानकारी दिइन् । उनका अनुसार अति अशक्त अवस्थाका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र प्रदान गरिएको छ । 

यस्तै, व्यास-१० का ५२ वर्षीय दानबहादुर दरैलाई अति सशक्त परिचयपत्र विरतण गरिएको छ । अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा प्रवाह गर्न घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । घरमै आएर सेवा परिचयपत्र दिँदा सिंहदरबारको सेवा घरघरमा आएको महसुस भएको दानबहादुर बताउछन् । 

शाखाप्रमुख आचार्यका अनुसार हालसम्म नगरपालिकाभित्रका आठ सय पाँच जनालाई विभिन्न वर्गका अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । नगरपालिकाका आठ सय पाँचजनालाई क, ख, ग र घ वर्गको परिचयपत्र वितरण गरिएको जनाइएको छ । हाल परिचयपत्र वितरणको कार्यक्रम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ