arrow

न्याम्सको उपकुलपतिका लागि दलीय दौडधूप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
nams-vice-chair-competitor.jpg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि आकांक्षीहरुको दौडधूप शुरु भएको छ । छोटो समयका लागि नेकपा एमालेले सत्ता सहकार्य गर्ने अवसर पाएका बेलामा सन्तोष पौडेल वीरको प्रमुख भएर आएका छन् भने अब पालो नयाँ सत्ता समीकरण निकट चिकित्सकहरुको रहेको छ । 

त्यसैले त उपकुलपतिका लागि नेपाली कांग्रेस र माओवादी केन्द्र निकटका चिकित्सकहरुको दौडधूप बढेको छ । उनीहरु शक्तिकेन्द्रमा आफ्नो प्रभाव जमाउन व्यस्त देखिएका छन् । उपकुलपति प्राडा डीएन साहको चार वर्षे कार्यकाल गत फागुन ३० गते सकिएसँगै नयाँ उपकुलपतिका लागि आकांक्षीहरुको चासो बढेको हो । 

प्राडा भुपेन्द्रकुमार बस्नेत, प्राडा बुलन्द थापा, डा दिपक थापा, डा रतिन्द्र श्रेष्ठ, डा गुणराज लोहनी र डा सुवोध अधिकारीले उपकुलपतिका लागि इच्छा राखेको पाइएको छ । 

माओवादी निकटका डा बुलन्द थापा वीर अस्पतालमा दुई पटक निर्देशक भइसकेका छन् । निर्देशक हुँदा उनी अधिकांश समय विवादमा मुछिएका थिए । उनले उपचारमा लापरबाही गरेको फेला परेपछि बिरामी पक्षलाई नौ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो । डा थापालाई निर्देशक हुँदा ९१ जना कर्मचारीलाई दरबन्दी बिना नै नियुक्त गरेको भन्दै अख्तियारले कारबाहीसमेत गरेको थियो ।

डा श्रेष्ठ पनि माओवादी निकट मानिन्छन् । उनी विवादित र न्याम्सभन्दा बाहिरका हुन् । उनी चिकित्सा शास्त्र अध्ययन संस्था आइओएमको सहायक डिन हुँदा प्रश्नपत्र बेचबेखिनमा संलग्न रहेको प्रमाण तत्कालीन समयमा जयराम गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले फेला पारेको थियो । उक्त समितिले उनलाई कारबाही सिफारिस गरेको थियो । सरकारले उनलाई त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकबाट बर्खास्तसमेत गरेको थियो। 

माओवादी निकट नै बताउने डा दिपक थापा न्याम्सका एसोसिएट प्रोफेसर मात्रै हुन् । तर उनी माओवादीको पहिलेको रामबहादुर थापा बादल पक्षका हुन् । बादल एमाले भएपछि अहिले उनी कता छन् खुलेका छैनन् । यद्यपि एमाले सत्तामा भएको भए एमाले र माओवादी सत्तामा हुँदा माओवादी नै बनिदिन उनलाई सजिलो छ । 

न्याम्सको उपकुलपतिका प्राध्यापक हुनुपर्ने भन्दै चिकित्सकहरुले आवाज उठाउँदै आइरहेका छन्। डा थापाले सीटीभीएस विभागको कक्षा कोठाका लागि आवश्यक पर्ने कम्प्युटर, प्रोजेक्टर लगायतका सामग्री खरिदका क्रममा कमिसन खाएको भन्दै तत्कालीन निर्देशक डा शान्ता सापकोटालाई कर्मचारीले उजुरी गरेका थिए। 

स्वास्थ्य मन्त्रालयबाट उमेरका आधारमा अवकाश पाइसकेका डा गुणराज लोहनी पनि उपकुलपतिको दौडमा छन्। मन्त्रालयको १२औं तहबाट अवकाश पाएका उनी पनि माओवादी निकट चिकित्सक हुन् । कोरोना महामारीका समयमा चिकित्सकहरुलाई गाली गर्दै कारबाही गर्ने धम्की दिएपछि उनी विवादमा आएका थिए।

डा अधिकारी न्याम्सका पूर्व रेक्टर हुन् । रेक्टरको कार्यकाल सकिएपछि उनी उपकुलपतिको दौडमा हिँडेका हुन् । उनी कांग्रेस निकट मानिन्छन् । 

डा बस्नेत सबैभन्दा बलिया दाबेदार हुन् । उनले वीर अस्पतालमा दुई कार्यकाल प्रमुखको जिम्मेवारी पूरा गरेका छन् । निर्देशक रहँदा सबै पक्षलाई मिलाएर अगाडि बढेकाले उनको सम्भावना बढी रहेको बताइन्छ । 

उनले नेतृत्व शुरु गर्दा कोरोना महामारी थियो । भुपेन्द्रकै पालामा वीरले दोस्रो र तेस्रो चरणको कोरोनामा बिरामीको अधिक सेवा गरेको थियो । उनकै पालामा सर्जिकल भवनको सेवा पूर्ण रुपमा संचालनमा ल्याएको थियो । त्यहाँ जनरल वार्ड, ओटी, पोष्ट अपरेटिभ, आईसीयू, ब्लड बैंक , रेडियोलोजी सेवा, सिमुलेसन ल्याब, ओटी तथा जनरल फार्मेसी सेवा सञ्चालनमा आएको थियो । 

बस्नेत निकट चिकित्सकका अनुसार उनकै पालामा आठ ओटा अल्ट्रासाउन्ड मेसिन संचालनमा, अस्पतालभित्र चार वटा अस्पताल फार्मेसी राखेर सेवा विस्तार, दन्त विभागमा २० वटा डेन्टल चेयर थप गरेर सेवा विस्तार, क्याथ ल्याब सेवा संचालनमा, ब्रोन्कोस्कोपी र स्लिप ल्याब शुरु, रक्तरोग सम्बन्धी वार्ड संचालन, ईएनटी विभागमा एलर्जी टेष्ट, डायलाइसिस सेवा विस्तार, ओपन हार्ट अप्रेसन शुरु, आँखा रोग, मानसिक रोग र स्त्री रोग ओपीडी संचालनमा, दुवाकोटमा एक्सरे र ल्याबसहितको ओपीडी सेवा संचालनमा लगायतका थुप्रै काम भएका छन् । 

यसैले पनि वरिष्ठ चिकित्सकहरु सके आफू र नभए डा भुपेन्द्र भन्दा राम्रो अर्को नभएको चर्चा गर्दै हिँड्ने गरेका छन् । तर केही कर्मचारी भने कोरोनाका बेलाको भत्ता नखुवाएको आक्रोश पोखिरहेका छन् ।  

न्याम्सका चिकित्सकहरु आक्रामक
यसपालि भने न्याम्सका वरिष्ठ चिकित्सकहरु अलि बढी नै आक्रामक भएर प्रस्तुत भएका छन् । उनीहरुको एउटै माग छ – न्यान्सभन्दा बाहिरका र अवकाशप्रप्त कर्मचारीलाई ल्याए प्रतिवाद गर्छौं । अर्थात् भित्रकै कुनै योग्य पात्र चयन गर्न उनीहरुले माग राखेका छन् । 

यसको प्रमुख कारण हो हालै बिदा भएका साहलाई ल्याएर वीर अस्पताल नै असफल बनाएर गएको उनीहरुको आरोप छ । साह न्याम्स भन्दा बाहिरका थिए । त्यसैले उनले वीरका कर्मचारीको पीडालाई वास्तासमेत गरेनन् । 

यही कारण देखाउँदै न्याम्सका वरिष्ठ चिकित्सकहरुले न्याम्सभन्दा बाहिरका र अवकाश प्राप्त कर्मचारीलाई उपकुलपतिमा ल्याए प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले एक सयभन्दा बढी प्राध्यापक रहेको संस्थामा प्राध्यापकलाई नै उपकुलपति बनाउनु पर्ने माग पनि राखेका छन् ।

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार न्याम्सको उपकुलपतिका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा एघारौं तह वा सो सरहको पदमा काम गरेको हुनुपर्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ