arrow

दुई दिनको अन्तरपछि दुई फूली लगाउने को हुन् भाग्यमानी कुँवर ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
basantabahadur-kunwar-igp-.jpg

काठमाडौं । बसन्तबहादुर कुँवरले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । 

पाँच जना डीआईजीमध्ये पहिलो स्थानमा रहेर बढुवा हुँदै एआईजी भएका कुँवरलाई नै सरकारले एआईजीको फूली लगाएको दुई दिनपछि आईजीपी बनाउने निर्णय गरेको हो । दुई दिनअघि मात्रै पाँच जना एआईजीले फूली लगाएका थिए । 

हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । 

को हुन् दुई दिनको अन्तरपछि दुई फूली लगाउने महाभाग्यमानी कुँवर ?
दुई दिनको अन्तरमा बढुवा भएर महानिरीक्षक बनेका कुँवर महाभाग्यमानी मानिन्छन् । सरकारले पाँचमध्ये जोसुकैलाई पनि महानिरीक्षक बनाउन सक्दथ्यो । तर भाग्य उसैको चम्कियो जो महाभाग्यमानी छ । 

कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् । 

व्यवसायिक, निष्ठावान र साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए। 

२०७१ फागुन १० गते प्रहरी उपरीक्षक र २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए। भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने पछि पारिएका थिए । 

तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावी आईजीपीका रुपमा हेरिएको थियो । 

२०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुँदा पनि पहिलो वरीयतामै बढुवा भए । 

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर (एमबीए) शैक्षिक योग्यता हासिल गरेका छन् । 

प्रहरी महानिरीक्षक कुँवर अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कन २०७३ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुख हुन सफल भएका थिए ।

त्यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत रहँदा पुलिस व्याटन २०७३ प्राप्त गरेका थिए ।

उनी प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदक, दुर्गम सेवा पदक लगायतका विभूषणबाट विभूषित भएका छन् । 

यसैगरी उनले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरेको भन्दै १७ पटक नगद पुरस्कार प्राप्त गरेका छन् । 

उनले प्रहरी निरीक्षक आधारभूत तालिमसँगै मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनिको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामाग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्टको तालिम गरेका छन् । 

स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभी एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी र डोटीमा खटिएका थिए । 

प्रहरी नायव उपरिक्षकमा मनाङ, गोरखा, धादिङको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गरेका थिए भने प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गरेका थिए। 

प्रहरी वरिष्ठ उपरीक्षक भएपछि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा काम गरेको अनुभव छ।

प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी प्रमुख र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा काम गरेका थिए। संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा काम गरेको अनुभव छ। 

उनी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ मा २०२६ चैत १५ गते जन्मिएका हुन् । भीम बहादुर कुँवर र नमकला कुँवरका छोरा बसन्तका दाजु बाबुराम कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका छन् ।

तिनै भाग्यमानी बसन्तबहादुर कुँवरकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ