arrow

सिद्धार्थ बैंकको प्रदेश कार्यालय शुभारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
Siddhartha bank.jpg

पोखरा । सिद्धार्थ बैंक लिमिटेडको गण्डकी प्रदेश कार्यालय तथा पोखरा शाखा भवन सोमबार शुभारम्भ गरिएको छ ।

बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले नयाँसडकस्थित कार्यालयको शुभरम्भ गरेका हुन् ।

सो अवसरमा उनले सिद्धार्थ बैंकले स्थापनाको दुई दशक पूरा गरेको स्मरण गराउँदै सहयोग र सद्भावका लागि सबै ग्राहक वर्गमा धन्यवाद प्रकट गरे ।

उद्योग र अन्य व्यवसाय जस्तै बैंक पनि एउटा व्यवसाय भएको बताउँदै उनले व्यवसायी र बैंक सञ्चालक सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । व्यवसायी र बैंकर एकअर्काको पूरक भएको भन्दै उनले विश्व नै आर्थिकरुपमा अफ्ठ्यारो अवस्थाबाट गुज्रँदै गर्दा नेपालमा पनि त्यसको असर देखा परेको बताए ।

नीति, नियम र कानुनका सम्बन्धमा केही परिवर्तन गर्नु परे व्यवसायी र बैंकरसँगै सरकारसँग जान सकिने उल्लेख गर्दै उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले आफ्नो तरिकाले काम गर्नु अन्यथा नभएको बताए । 

‘ब्याजदर लगायतका विषयले व्यवसायी दुखी हुँदा, बैंक संचालक खुसी छैनन्,’ उनले भने । पोखराको संस्कृति संरक्षण, यहाँको शैक्षिक विकास र हिमाल आरोहणसम्बन्धी विद्यालय वा विश्वविद्यालय खोलेर अगाडि बढ्न सकिने प्रशस्त सम्भावना भएको उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बैंकले दुई खर्ब १५ अर्ब रुपैयाँ बचत जम्मा गरी दुई खर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांक सुनाए । सिद्धार्थ बैंक नेपालका उत्कृष्ट १० वाणिज्य बैंकभित्र पर्ने बताउँदै उनले देशको उत्पादन, रोजगारी र राजस्वको क्षेत्रमा सो बैंकको योगदान उल्लेख्य रहेको बताए । 

बैंकका डिपुटी कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले सन् २००६ बाट बैंकले पोखरामा सेवा आरम्भ गरेको भन्दै गण्डकी प्रदेशमा मात्रै २२ शाखा रहेको र देशभर १९४ शाखामार्फत सेवा प्रवाह भइरहेको जानकारी दिए । गण्डकी प्रदेशमा सिद्धार्थ बैंकको १० अर्ब रुपैयाँ निक्षेप र १५ अर्ब कर्जा लगानी रहेको तथ्यांक पनि उनले सुनाए । 

कार्यक्रममा बैंकका संचालक सदस्य दिनेशशंकर पालिखे, व्यवसायी नारायणप्रसाद पौडेल, सन्तोष पोखरेल र विशेश्वर आचार्य लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ