महासङ्घमा सर्वसम्मत नेतृत्वको पहल गर्दै चन्द्रप्रसाद ढकाल
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
622
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन्। महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जना आकाङ्क्षीहरू रहेका छन्। ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै छन्।
बुधवार काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका ती नजना आकाङ्क्षीहरू उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन्।
उनले भने, “महासङ्घलाई सबै उद्योगी व्यवसायीहरूको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो। त्यसैले मैले महासङ्घमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु। यसै सिलसिलामा महासङ्घका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरूमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्। यसले महासङ्घमा राम्रो संस्कारको पनि विकास गरेको छ। यसै सिलसिलामा महासङ्घको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो।”
उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्र बिच एकता र सहमतिको झनै ठूलो महत्त्व रहने बताए।
“हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ। हाम्रो महत्त्व बढ्छ। हाम्रा माग सम्बोधन गराउन सकिन्छ। अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,”। “निजी क्षेत्रलाई चौतर्फी सङ्कटले घेरिरहेको अवस्थामा हामी विभाजन नहोऔँ। एकता र सहकार्यबाट समाधान खोजौँ। मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकाङ्क्षीहरूलाई मिलाउन सकिन्छ भनिरहेको छु। यसमा तपाईँहरूको साथ र सहयोग अपेक्षा गरेको छु।” उनले भने।