arrow

रविका समर्थकको अराजक एवं अन्धभक्त टिकाटिप्पणीप्रति साइबर व्यूरो सजग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
rabi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । यतिबेला चितवन २ मा उपनिर्वाचनको सरगर्मी बढिरहेको छ । उपनिर्वाचनकै क्रममा नेपाली कांग्रेस, नेकपा एमालेसँगै रवि लामिछानेको चर्चा देशभर चलिरहेको छ । 

खासगरी रवि लामिछानेका समर्थक र शुभेच्छुकहरुले सामाजिक सञ्जालमा गरेका टिका टिप्पणीले उनको चर्चा देशभर भएको हो । लामिछानेकै कारण राज्यको करोडौँ रुपैयाँ नोक्सानी भयो भन्ने पनि नबुझेका समर्थकहरुले अन्धभक्त भएर टिका टिप्पणी गर्ने र विरोधीहरुलाई तुच्छ भाषामा गाली गलौज गर्न थालेपछि उनी र उनका समर्थकहरुलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । 

यो विषयमा नेपाल प्रहरीको साइबर व्यूरोको पनि ध्यानआकृष्ट भएको जनाएको छ । ‘सामाजिक सञ्जालमा तथानाम गाली गलौजको भाषा प्रयोग भएको छ हामीले पनि यो विषयमा अनुगमन गरिरहेका छौ’, साईबर व्यूरोका एसपी पशुपति रायले भने । उनका अनुसार पीडितहरु आएमा यसको अनुसन्धान भएर कारबाही गर्न सक्नेछ । 

केही दिनअघि भरतपुर महानगरपालिका–११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारीले रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी छिन् । 

उनले मंसिर ४ को निर्वाचनमा आफूले घन्टी (रास्वपा चुनाव चिन्ह) मा भोट दिएको बताउँदै अब नदिने बताएकी थिइन् । रवि ‘टुरिस्ट’ रहेको टिप्पणी गर्दै उनले अब आफू नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई मतदान गर्ने बताएपछि रविका समर्थकहरुले उनलाई तथानाम गाली गलौज गरेका छन् । 

अधिकारीले यति बोलेकै कारण सामाजिक सञ्जालमा रास्वपाका सभापति रविका समर्थक नराम्ररी आइलाग्दै ‘श्रद्धाञ्जली’ देखि लिएर निकृष्ट भाषामा अश्लील गाली गरेका छन् । 

रविको सामान्य आलोचना गर्दा पनि ‘आरआईपी’ (श्रद्धाञ्जली), दलाल, झोले, देशद्रोही लगायतका निम्न स्तरका ‘कमेन्ट’ मात्र गर्दैनन् महिलाहरुलाई यौनजन्य हिंसाको शिकार बनाइदिने धम्कीसमेत दिने गरेका छन् । 

लामिछाने र रास्वपा समर्थकको भीड सामाजिक सञ्जालमा जति अश्लील भाषामा उत्रिरहेको छ, त्योभन्दा धेरै अराजक पनि बन्दै गइरहेको छ। उनका समर्थकको भीडले सामाजिक सञ्जालदेखि सडकसम्म अराजकता मच्चाइरहेको छ । जुन निकै अनियन्त्रित बन्दै गएको छ । 

लामिछानेविरुद्ध नागरिकता र राहदानी विवादमा सर्वोच्च अदालतमा रिट हालेका सिन्धुलीका युवराज पौडेल ‘सफल’ माथि आइतबार प्रहरी परिसर कार्यालयमै आक्रमण भएको थियो ।  

रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँगको अडिओ प्रकरणमा जोडिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको दाबी अनुसार यो भीड रास्वपा सभापति लामिछानेको सचिवालयबाटै सञ्चालित छ । 

उनले सञ्चारमाध्यम तथा सार्वजनिक कार्यक्रममै यस्तो टिप्पणी गरेका थिए । तर रविले त्यो विषयमा कुनै प्रतिवाद गरेका छैनन् । ‘रवि लामिछानेकै सचिवालयमा २०–२५ जनाको भीड छ । 

एकजनाले कैयन् नक्कली आईडी बनाएका छन’, एक विद्युतीय सञ्चाार माध्यममा प्रसाईले भनेका थिए । सोमबार बिहान रविका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा तीन तलामाथिबाट खसेको विषयमा सामाजिक सञ्जालमा कुरा उठेपछि पनि समर्थकहरुले ‘गुड लक रवि दाइ’ भन्दै टिप्पणी र कमेण्ट गरेका थिए । 

प्रहरीका अनुसार सामाजिक सञ्जालमा रविका समर्थकहरु निकै अराजक बन्दै गएको र त्यसको असर सामाजमा पनि पर्ने भएकाले समयमै नियन्त्रण गर्न रास्वपालाई पनि जानकारी गराइसकिएको छ । 

त्यसकै परिणाम रास्वपाका केन्द्रीय सदस्यहरुले आफ्ना समर्थकहरुलाई संयम अपनाउन आग्रह गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ