काठमाडौँ। आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरूलाई निःशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरेका छन्।
कार्यक्रममा अध्यक्ष ढकालले महासङ्घको अध्यक्षको रूपमा आफूले राखेका पाँच वटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए।
जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे।
अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राखे। उनले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमा समेत परिवर्तन आउने बताए।
“हामीले सवारी चालक भन्ने बित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ। तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरूले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन्। तपाईँहरू पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ। तपाईँहरूले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला। यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,” उनले भने।
तालिममा सहभागी महिलाहरूलाई सुरक्षित र प्रभावकारी रूपमा ब्याक हो लोडर अपरेसन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ।