arrow

फरार अभियुक्त कोइरीलाई नबचाउन सभामुखलाई चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
laxmi-mahatto-koiri-mahottari-1-uml-mp-2079-2022.jpg

काठमाडौं । नेकपा एमालेका फौजदारी अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीलाई सभामुखले बचाउन खोज्दा समस्या उत्पन्न भएको छ । 

प्रतिनिधि सभाको बैठकमा कोइरीलाई कारबाही गर्नुको सट्टा बिरामी भनेर पद टिकाइदिइरहन खोज्ने सभामुख देवराज घिमिरेको कदमप्रति एमाले बाहेकका दलहरुले विरोध गरेका हुन् । 

एमाले बाहेकका दलहरुले उनलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा कोइरी लगातार १० बैठकमा सहभागी नभएको भन्दै कारबाही गर्न माग गरेका थिए । 

तर सभामुख घिमिरेले भने बिरामी भएका माओवादी केन्द्रका सांसद वर्षमान पुन र नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीलाई जस्तै बिरामी बिदा स्वीकृत गर्ने पक्षमा थिए । 

तर सभामुख घिमिरेले कोइरी कहाँ बसेर उपचार गरिरहेको र के बिरामी भएको भन्ने बताउन सकेनन् । 

उनले प्रक्रियामार्फत अघि बढ्ने भन्दै पटक पटक सांसदहरुलाई बस्न आग्रह गरे । ‘यसको जवाफ मैले अघि नै रुलिङ गरिसकेको छु’, उनले बैठकमा भने । 

सो क्रममा बोल्दै कांग्रेस सचेतक रमेश लेखकले कोइरी उपस्थित नभएकोमा दशौँपटक प्रश्न उठेको बताए । उनलाई प्रहरीले खोजी गरिरहेको र भेटिए पुर्पक्षका लागि थुनामा जानुपर्ने बताए । 

त्यस्तै रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफू गृहमन्त्री हुँदा अपराधको फरारको सूचीमा रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको जानकारी गराए । 

जनमोर्चाका चित्रबहादुर केसीले फौजदारी मुद्दा लागेका व्यक्तिलाई बचाउन नहुने बताए । 

एमालेका सांसद रघुजी पन्तले भने प्रधानमन्त्री र गृहमन्त्रीले अपराधीहरुलाई लुकाएको आरोप लगाउँदै आफूहरु अपराधीलाई बचाउनु पर्छ भन्ने पक्षमा नभएको बताए । 

अन्तिममा सभामुखले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेपालको कानून अनुसार, संविधानअनुसार प्रक्रिया अगाडि बढ्ने आश्वासन दिए पनि सांसदहरुले भने यो विषयलाई संसदको रेकर्डबाटै हटाउन माग गरेपछि आत्तिएका उनले आधा घण्टाका लागि संसद स्थगित भएको घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ