चिया निर्यातको समस्या सुल्झाउन प्राविधिक तथा कूटनीतिक पहल भइरहेको छ : मन्त्री चौधरी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
132
Shares
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन्।
बुधबार आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन्। उनले निर्यातमा आएको अवरोध हटाउनका लागि प्राविधिक तथा कूटनीतिक पहल भइरहेको र त्यो सकारात्मक दिशातिर अघि बढिरहेको जानकारी दिइन्।
गुणस्तर परीक्षणको नयाँ मापदण्डका कारण चिया निर्यातमा समस्या देखिएपछि विगत तीन दिनदेखि इलाम लगायत देशभरका चिया उद्योगीहरूले आफ्ना उद्योगहरू बन्द गरेर आन्दोलन गरिरहेका छन्। मन्त्री चौधरीले चियाको निर्यातलाई पूर्ववत् रूपमा सुचारु गराउन र उद्योगीहरूको समस्या समाधान गर्न सरकार दृढताका साथ लागिपरेको प्रष्ट पारिन्।
संसद्मा बोल्दै उनले भनिन्, ‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न र चिया उद्योगीहरूका समस्या समाधान गर्नका लागि मन्त्रालयले गम्भीर भएर पहल गरिरहेको छ। यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइरहेको जानकारी गराउन चाहन्छु।’