- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको राजनीतिमा समय समयमा थुप्रै किसिमका राजनीतिक परिवर्तन भए । नेपालको आधुनिक इतिहासमै नेपाली जनताको अवस्थामा परिवर्तन गर्नका लागि भनी २००७, २०४६, २०६२–२०६३ मा जनआन्दोलनबाट व्यवस्था परिवर्तन भयो । पटक पटक व्यवस्था परिवर्तन गरिए पनि आन्दोलनले माग बमोजिम जनताको सामाजिक, आर्थिक, शैक्षिक आदि अवस्थामा उद्देश्य र सोचे अनुकूलको परिवर्तन हुन सकेन ।
आज बहुदलीय व्यवस्थाको पुनः प्राप्ति भएकै ३३ वर्ष बितेको छ । विकास र समृद्धिको लागि तीन दशक भनेको थोरै समय पटक्कै होइन । लाओस, भियतनाम, सिंगापुर आदिजस्ता देशहरूले दश वर्षमा कति ठूल्ठूला उपलब्धि हासिल गरे । तर हामी जहाँकै त्यहीँ नै छौँ । आज आशाको प्रतिक्षा गर्दागर्दै एउटा सिङ्गो पुस्ताको आयु नै सकिन लाग्दैछ ।
प्रतिक्षाको घण्टी कहिलेसम्म कुर्ने हो थाहा छैन । राजनीतिक तरलता र अस्थिरका कारण देशको समृद्धिमा धेरै बाधाहरू देखा परे । नेपालका पुराना पार्टी वा मूलधारका पार्टीहरूको असक्षमताका कारण राजनीति आज लाजनीतिमा परिणत भएको छ । मूलधारका राजनीतिक पार्टीहरूको जहिलेसुकैको तथाकथित गठबन्धन र सिन्डिकेट प्रणालीले नेपाल असफल राष्ट्रतिर धकेलिँदै छ ।
राजनीतिक दलहरू पूर्ण रुपमा व्यावसायिक भएको हुनाले देशले विकास र निकास पाउन सकेको छैन । राज्यका संरचनाहरू प्रायः निष्क्रिय छन् । देश भ्रष्टाचार र कुशासनले चुर्लुम्म डुबेको छ । देशको मूल नीति राजनीति नै अराजनीति र लाजनीतिमा परिणत भएको हुनाले सामाजिक, राजनीतिक, आर्थिक अराजकता झन्पछि झन् बढ्दैछ । राजनीतिक दलहरूमा देखिएको असक्षमता, बेइमानी, अंहकार, दम्भले जनताको जीवनस्तरमा समयानुकूल परिवर्तन हुन सकेन ।
संविधानमै समावादउन्मुख समाज निर्माण गर्ने भनिए पनि ती शब्दहरू त्यही संविधानमा सीमित हुन पुगेका छन् । दलहरूको नेतृत्वमा जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता नै छैन । यिनै र यस्तै कारणले आज मुलुक असफल राष्ट्र र भ्रष्टाचार मुलुक भनी चिनिन थालेको छ ।
राजनीतिक व्यवस्थाको दृष्टिकोणले संसारकै उत्कृष्ट व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था भनिए पनि यसको सही कार्यान्वयन गर्न नसक्दा अब यो व्यवस्था पनि हाम्रो देशका लागि असफल हुने त होइन भन्ने अवस्थामा पुगेको देखिन्छ र अब यसको विकल्प पनि केही छैन ।
विविधतामा एकता भएको सानो र सुन्दर देशलाई संघीयताका नाममा भौगोलिक, जातीय र धार्मिक, भाषिक पहिचान दिने भनेर जनतालाई थोत्रा आश्वासनका पोकाहरू बाँडेर प्रदेश र स्थानीय सरकारको नामकरण गरी टुक्रयाइयो । आज तिनै स्थानीय र प्रदेश सरकारमा दलका कार्यकर्ता पाल्ने र पोस्ने काम भएको छ ।
गाउँगाउँमा सिंहदरबार पुर्याउने भनियो तर त्यो कार्यान्वयन हुन सकेको छैन । देशका आर्थिक सूचकहरू अत्यन्तै कमजोर भएका छन् । राजनीतिक नेतृत्व सत्ता कब्जा गर्ने र आलोपालो बाँडीचुँडी खाने दाउमा नै वर्षौंदेखि लम्पट छ । नेपाली जनताले बारम्बार आफ्नो आक्रोश र पीडा पोख्दा पनि मूलधारका पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत सच्चिने अवस्थामा देखिएका छैनन् ।
देशलाई एउटा निश्चित गोरेटोमा लैजाने र समृद्धिको मुलुक बनाउने पहिलो दायित्व भनेको राजनीतिक नेतृत्वले नै हो । राजनीतिक नेतृत्वमा निश्चित सपना र योजना, आत्मविश्वास, राष्ट्रियता, सेवाको भावना, इमानदारी, जवाफदेही र उत्तरदायित्व भएमात्र देशले निकास पाउन सक्छ । राजनीतिलाई व्यवसायीकरण गरिनुहुन्न र सबैले काननी राज्यको पूर्ण पालना गर्नुपर्छ । नेपालका मूलधारका दलहरूको नेतृत्वमा अंहकार र पदलोलुपता, वैचारिक स्खलन, चारित्रिक भ्रष्टीकरण र दलीय र व्यक्तिगत स्वार्थका कारण असफल र असक्षम सावित भएका छन् । यिनैको असफलताका कारण वैकल्पिक पार्टीहरू जन्मेका छन् ।
राजनीतिक इतिहासमा दलहरू जन्मने, फुट्ने, जुट्ने कुरा नयाँ र नौलो नहुन सक्छ तर आफूलाई मूलधार बनाएका पार्टीहरू असक्षम भई सकिनुले पक्कै पनि केही राजनैतिक अर्थ लाग्छ । आज आफ्नो इतिहासको सात दशक बनाएका र राजनीतिक परिवर्तनका लागि अहम् भूमिका खेलेका दलहरू असक्षम र असफल हुनाले नेपाली जनताले वैकल्पिक पार्टीलाई रोज्नु परेको हो । आज जनताले वैकल्पिक पार्टीलाई रोज्नु भनेको यही पार्टी नै सर्वोपयुक्त र सफल पार्टी हो भनी भाष्य निर्माण गर्न खोजिएको होइन होला र गरिनु पनि हुँदैन ।
राजनीतिमा पनि कामका आधारमा स्यााबासी र दण्ड दिइनुपर्छ । पछिल्लो २०७९ मंसिर ४ को संसदीय निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका लगायतका पार्टीको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जन्मेको पाँच महिनामै संसदीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी बीस सिट ल्याउन सफल भएको थियोे भने भर्खरै सम्पन्न भएको उपनिर्वाचनबाट चितवनमा पुनः आफैँले जितेर तनहुँमा एक थपेर २१ सिट पुर्याएर कांग्रेस, एमाले र माओवादी पछिको चौथो ठूलो पार्टी कायमै राखेको छ । यसले मंसिर ४ को संसदीय निर्वाचनमा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४३ अर्थात १२.१९ प्रतिशत मत प्राप्त गरेको थियोे ।
मंसिर ४ को निर्वाचनको परिदृश्य हेर्दा रास्वपाको प्रगति र परिणाम भनेको राजनीतिक छलाङ नै हो । जनमत र उन्मुक्ति पार्टी क्षेत्रीय पार्टीका रुपमा उदाएका छन् भने रास्वपाको प्रभाव र उपस्थिति राजधानीलगायत देशका मुख्य शहरमा देखा परेको छ । उसले राजधानी काठमाडौं र चितवनमा राम्रै पकड जमायो भने उपनिर्वाचनमा तनहुँमा पनि विजय हासिल गर्यो । अहिले यस दलले नेपाली जनतामा आशाका किरण देखाएको देखिन्छ, सफल हुन्छ वा हुँदैन हेर्न र जाँचिन बाँकी नै छ । नेपाली जनताले काम गर्नका लागि यस दललाई अवसर दिएका छन् । उसले प्राप्त गर्ने सफलता वा असफलता उसकै हातमा भर पर्दछ ।
गत वर्ष असार ७ गते पार्टी घोषणा भएको र १७ असारमा निर्वाचन आयोगमा दल दर्ता भएको रास्वपाका संस्थापक सभापति रवि लामिछाने हुन् । अहिले पनि उनी नै सभापति छन् । रवि लामिछाने मिडियामार्फत नेपाली जनतामा लोकप्रिय बनेका व्यक्ति हुन् । उनले सन् २०१३ मा टेलिभिजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने कार्यक्रम लगातार ६२ घन्टा १२ मिनेट चलाएर सबैभन्दा लामो समय कार्यक्रम चलाउने विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका थिए ।
सन् २००७ देखि २०१७ सम्म अमेरिका बसी नेपाल फर्केर पुनः नेपाली मिडियामा जोडिएर भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगी, अनियमितता, कुरीति, कुसंस्कार विरुद्धमा खरो उत्रिएका थिए र वैदेशिक रोजगारका नाममा स्वदेश र विदेशमा ठगिएका नेपालीका समस्या समाधान र पीडितको उद्दार गरेका पनि थिए । रवि लामिछाने आफूले चलाउने ‘सिधा कुरा जनतासँग’ भन्ने टेलिभिजन कार्यक्रमबाट नै ब्रान्डेड भएका थिए ।
अब राजनीतिभित्र रहेको फोहरलाई आफैँ भित्र नपसी सफा हुन सक्दैन भन्ने आत्मविश्वास र आत्मबलका साथ उनी राजनीतिक मैदानमा खरो उत्रिएका छन् । उनीभित्र देशमा रहेको भ्रष्टाचार र कुशासनलाई जसरी पनि अन्त्य गर्नुपर्छ भन्ने हुटहुटी देखिन्छ ।
अर्थशास्त्री तथा तनहुँ १ का सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेमा कताकता २०१५ सालको वीपीजस्तो लागेको भनेर आफ्नो अभिव्यक्ति दिएका थिए । अहिले नेपाली जनताले रविको यो आत्मविश्वास र आत्मबललाई सकारात्मक रुपमै लिएर पर्ख र हेरको नीति लिनुपर्छ । तर पनि बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै उनको प्रयास सकारात्मक देखिएको छ ।
यस पार्टीले आफ्नो विचार, सिद्धान्त, मार्गदर्शन उद्देश्यका रुपमा नेपालको संविधानलाई नै मूल दस्तावेजको रुपमा लिएको देखिन्छ । नेपालको लामो इतिहासमा व्यवस्था धेरै बदलिए तर अवस्था बदलिएन र जनताले महसुस गर्नेगरी अवस्थालाई सकारात्मक दिशातर्फ बदल्न राजनीतिमा आएको उक्त पार्टीको दस्तावेजमा लेखिएको छ ।
रास्वपाले आफ्नो उद्देश्य र नीति कार्यक्रममा २५ बुँदा राखेको पाइन्छ । रास्वपाको स्पष्ट रोड म्याप र रङ्ग छैन भनेर केहीले आरोप र आलोचना गर्दै पनि आएका छन् तर उसले भ्रष्टाचार शुन्य देश,सुशासन र झन्झटरहित सार्वजनिक सेवा, लोक कल्याणकारी राज्य, आत्म निर्भर नेपाल र निर्यातमूलक अर्थतन्त्रको विकास, पञ्चशीलको सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध आदि जस्ता उद्देश्य र नीति कार्यक्रम लिएर अगाडि आएको देखिन्छ । त्यस्तै यस पार्टीले हामी के गर्छौं र के गर्दैनौँ र हामी कसरी फरक छौँ भनी आफ्ना धारणा र मान्यतालाई स्पष्ट अगाडि सारेको छ ।
यस पार्टीले भातृसंगठन र कार्यकर्तारहित पार्टीको परिकल्पना गरेको छ । टीका लगाएर पार्टी सदस्यता दिइने र उम्मेदवार पनि नबनाउने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ । यी कुराहरू अत्यन्तै सराहनीय छन् ।
वास्तवमा नेपाललाई २१ शताब्दीको युग अनुकूल एउटा समृद्ध र समुन्नत मुलुक बनाउन आठ वर्ष लगाएर बनाएको संविधानको रोडम्याप नै काफी छ । तर पनि संविधानमा केही छिद्र नभएका होइनन् । हिजो रुस, जर्मनी र चीनमा प्रतिपादित बनाइएका र जबर्जस्त घोकाइएका आगन्तुक वाद र सिद्धान्तले अहिले नेपालको परिवर्तन गर्न सकिँदैन ।
अब त नेपालको माटो अनुकूलको विचार र सिद्धान्त चाहिएको छ । ती कुराहरू नेपालको संविधानमै लेखिएका छन् । रास्वपाले परम्परागत सैद्धान्तिक वाद वा विचारबाट अलग रही नयाँ नेपालको सम्विधानवादको कार्यदिशा र रणनीति अपनाएर हिँड्ने घोषणा गरेको कुरालाई सकारात्मक मान्नै पर्छ ।
नेपाली जनताले पनि वैकल्पिक पार्टी रोजेको अवस्थामा रास्वपा सभापति रवि लामिछाने र यो पार्टीको सिङ्गो टिमका अगाडि थुप्रै चुनौती छन् । पार्टीले सफलता हासिल गर्न यी चुनौतीहरू पार गर्नै पर्छ । परम्परित पार्टीले लगाएको आरोप र आक्षेपलाई खण्डन र सफाई दिँदै जानुपर्छ । अब सत्ताको लुछाचुँडीको खेलमा नलागी जनताका प्रत्यक्ष सरोकार जोडिएका गाँस, बास, शिक्षा, स्वास्थ्य, शान्ति, सुरक्षा रोजगार आदि आधारभूत आवश्यकता र देशको समृद्धिको लागि गम्भीरतापूर्वक सदनमा कुरा उठाउनु पर्छ । सम्बोधन र समाधान गरिनुपर्छ ।
नेपाली जनता आफ्नो सुख र समृद्धि हेर्न अत्यन्तै आतुर छन् र उनीहरूको पर्खाइको घडी समाप्त भएको छ । यसैले जनताको असन्तुष्टि, वितृष्णा, आक्रोश र आवेगको परिणाम रास्वपालाई रोज्न पुगेका हुन् । रास्वपालाई हामी नयाँ हौँ, सिक्दैछौँ, प्रतीक्षा गर्नुहोस् भन्नेसम्मको छुट पनि छैन ।
परम्परित पार्टीको जस्तो क्रियाकलापलाई नपछ्याई विकासलाई कछुवाको रफ्तारमा दौडाउनु पर्ने अवस्था छ । यदि रास्वपा सफल हुने हो भने अब जनताले देख्ने, भोग्ने र अनुभूति गर्नलायक राजनीतिक, सामाजिक र आर्थिक परिवर्तन र समृद्धि ल्याउनुपर्छ । अब गफ र भाषणको राजनीति अन्त्य गर्नुपर्छ ।
रवि लामिछानेले आफैँले बोलेजस्तै मिडियाको हेडलाइन बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न सक्छु भन्ने जुन आँट, हिम्मत र साहस छ त्यसलाई नेपाली जनताले अहिले पक्कै पनि साथ दिनुपर्छ । तर उनले आफूमाथि लागेका हरेक दागलाई मेट्न सक्नुपर्छ । राजनीतिमा लाग्ने सबै बेइमान हुन् भन्ने विश्लेषणको अन्त्य गर्न सक्नुपर्छ ।
पार्टी र पार्टी नेतृत्वलाई गुण र दोषका आधारमा खण्डन, विरोध, आलोचना र समर्थन गरिनुपर्छ । दल जनताका शासक होइन सेवक बन्नुपर्छ । राजनीतिलाई सेवाको रुपमा हेरिनुपर्छ ।
दलहरु सत्ताको रसास्वादनमा चुर्लुम्म डुबिरहेका अवस्थामा रास्वपाले सत्ताको स्वाद नचाखी प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै उसको सेवाभाव झल्कदै गएको छ । सरकारको प्रतिपक्ष र जनताको पक्षमा रहेर विकासका लागि सक्रिय रही भ्रष्टाचार मुक्त समाज बनाउन प्रयत्न रहने हो भने रास्वपाको नाराजस्तै आगामी २०८४ साल रास्वपाको बहुमतको सरकार नहोला भन्न सकिँदैन ।