arrow

राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला ? – रवि [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रुपमा रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद लामिछानेले अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यवहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने बताए । 

“विगत केही वर्षका यिनै दस्तावेज लिएर केही वाक्य र शब्दको हेरफेर गरी कर्मकाण्डी रुपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ । अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आम जनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला ?”, लामिछानेले भने । 
 
विनियोजन विधेयक २०८०–८१ को सिद्धान्त र प्राथमिकता विगतका असफल आर्थिक नीतिको निरन्तरता मात्र नभइ यसले नेपाली समाजको आजको समस्याको समाधान नदिनेसमेत उनले संसद्मा दाबी गरे । 

“सधैँ एउटै कुरा गर्ने तर नतिजा फरक अपेक्षा गर्ने हाम्रो बानी हो कि, जनतालाई झुक्याउने खेल ? हामीले आशाका पुलिन्दा पस्किने होकी, समाधान उन्मुख व्यवहारिक नीति बनाउने हो ?”, संसद्मा प्रश्न गर्दै लामिछानेले भने । 

विद्यमान अर्थतन्त्रमा देखिएका समस्या र चुनौती बाह्य कारणले मात्र नभइ आन्तरिक कारणले बढी सिर्जना भएको पनि उनको भनाइ छ । “हाम्रो आफ्नै राजनीतिक बेथिति, विसङ्गति र सङ्गठित रुपमा राजनीतिले गरिरहेको भ्रष्टाचारको कारण अर्थतन्त्रमा समस्या देखिएको हो”, लामिछानेले भने, “योजनाहरु समयमा पूरा हुन नसक्नु र पूरा भएका आयोजनाले पनि आशातित प्रतिफल नदिनु, वित्तीय क्षेत्रको स्रोत अनुत्पादक क्षेत्रमा बढ्नु, गैरकानूनी व्यापार, तस्करी बढ्नु, सरकारी संयन्त्रको असक्षमता र बेइमानीको कारण हो । बाह्य कारण देखाएर हामी उम्कन मिल्दैन ।”

आगामी आर्थिक वर्षको बजेटमार्फत् कार्यान्वयनमा ल्याउनुपर्ने केही विषयबारे पनि लामिछानेले संसद्मार्फत् सरकारलाई सुझाव दिएका छन् । “असाधारण अवस्था छ, स्रोतको सीमितता छ । असाधारण रुपमा साधारणखर्च कटौती गरौँ”, उनले भने, “बजेटमा गर्छौँं भनेका कुरा गरेर छाड्ने हो । यदि भएनन् भने कसका कारण हुन सकेन भनेर खोजौंँ । मन्त्री, सचिव विभागीय प्रमुखलाई जिम्मेवार बनाऔँं ।”

सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउनुपर्ने, ई–गभर्नेन्सलाई राष्ट्रिय प्राथमिकताको योजनासहित कार्यान्वयन गरिनुपर्ने, विदेशी लगानी प्रोत्साहन गर्नुपर्ने र लगानीमैत्री वातावरण बनाउनका लागि आगामी तीन महिनाभित्र विभिन्न ऐन संशोधनका लागि संसद्मा दर्ता गरिसक्नुपर्ने सुझाव पनि उनको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ