arrow

राप्रपा केन्द्रीय समिति बैठक जारी

राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषयको राजनीतिक प्रतिवेदनमाथि छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
rpp-central-committee-2080-02-01.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि जारी रहेकोछ । बिहान ८ बजे पुनः बस्दैछ । काठमाडौँको धूम्रबराहीमा सोमबारदेखि शुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले आज पुनः बस्ने गरी स्थगित गरिएको थियो । 

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन ।

उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ । 

त्यसैगरी, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।

महामन्त्री धवलशम्शेर राणाले साङ्गठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट साङ्गठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ