arrow

सुपारीको दररेट घटाउन करोडौँको चलखेल, अर्थ मन्त्रालयमा दबाब 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
supari-005.jpeg

काठमाडौं । सरकारले छ महिनाअघि केही सीमित व्यापारीहरुलाई लाभ हुने गरी सुपारी आयातलाई खुला गरेपछि यसको तस्करी बढेको छ । मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएर अत्यावश्यक वस्तुको आयातमासमेत कटौती गरिरहेको अवस्थामा सरकारले भारततर्फ तस्करी हुने सुपारी नेपालको उद्योगमा खपत हुनेभन्दा दोब्बर परिमाणमा आयात हुने गरी खुला गरेपछि तस्करी बढेको हो । 

उपकार गुट्खा, श्रीराम टोबाको र देउती गुट्खाको नाममा अहिले सुपारी आयातको बाटो खोलिएको हो । उद्योगको नाम देखाइए पनि सुपारी आयातको कोटा प्रदीप मित्तल र दिनेश राठीलाई दिइएको स्रोतले जनाएको छ । 

श्रीराम गुट्खा उद्योगमा कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठी संलग्न टोलीले सुपारी आयात खुलाउन प्रमुख भूमिका खेलेको थियो । सो टोलीले शक्ति केन्द्रलाई आर्थिक प्रभावमा पारेर आयत खुला गराएको थियो । 

सुपारीको कारोबारबाट सुपारी समूहले पाँच अर्ब भन्दा बढी घोटला गरेको र हाल सुपारीको मूल्य प्रतिकिलो एक सयमा झारेर एक अर्बको बढीको चलखेल गर्न थालेको स्रोतको दाबी छ  ।

त्यस्ता कारोबारीहरु अहिले अर्थ मन्त्रालयमा गएर दबाब दिन थालिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । संघीय सरकारको वार्षिक बजेट सार्वजनिक हुँदै गर्दा तस्करहरु दर रेट घटाउन सक्रिय रहेकोसमेत पाइएको छ । 

अहिलेकै बजेटमा त्यो दररेट समेट्ने गरी चलखेल भइरहेको हो । मन्त्रालयमा दररेट घटाउन मोटो रकमको प्रस्ताव गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । 
 
कसरी खुल्यो सुपारी आयात ?
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला यो समूहले २५ हजार टन सुपारी इन्डोनेसियाबाट आयात गर्ने अनुमति पाएको थियो । तर पछि रोकिएको भए पनि छ महिनाअघि अघिल्लो सरकारले यसलाई पुनः आयातमा खुला गरेको हो । 

राठी र प्रदीप मित्तल दुवैले उक्त सुपारी प्रतिकिलो ६ सयदेखि ७ सयमा बिक्री गरेका थिए । तर उनीहरूले न्यून विजकीकरण गर्दै त्यसको अन्त शुल्क भने प्रतिकिलो २५० देखि २६० रुपैयाँको मात्र बनाएका थिए । तर यसलाई अहिले प्रतिकलो एक सयमा झार्ने तयारी भएको छ । 

त्यतिबेला प्रति किलो करिब ४५० रुपैयाँ कम गरेर अन्त शुल्क बनाएपछि समूहलाई भ्याट र आयकर दुवै छल्न सजिलो परेको थियो । यसरी कम मूल्यमा बिक्री गर्दा एक किलो सुपारीमा व्यवसायीले १७१ रुपैयाँ राजस्व छलि गरेका थिए । किलोको ४५० रुपैयाँको २५ प्रतिशत आयकर १ सय १२ रुपैयाँ ५० पैसा र भ्याट ५८ रुपैयाँ ५० पैसा हुन्छ ।

सुपारी समूहले आयात गर्दा इन्डोनेसियामा सुपारीको मूल्य टनको २ हजारदेखि २५ सय डलरसम्म थियो । यता नेपालको भन्सार विभागले भन्सार प्रयोजनका लागि तयार गरेको सन्दर्भ मूल्य सूची (डेटाबेस) मा सुपारीको मूल्यांकन टनको १ हजार ५० डलर कायम गरेको थियो । 

समूहले विभागले तोकेको यही मूल्यमा सुपारीको आयात गरेको थियो । समूहले सुपारी आयात गरेका समयमा नेपालमा डलरको मूल्य ११८ देखि १२० रुपैयाँ थियो । 

आयातकर्तालेले भन्सार नाकामा सुपारीको जाँचपास गराउँदा  १२६ रुपैयाँलाई आधार बनाएर नै राजस्व तिरेका थिए । न्यून विजकीकरणमा कारोबार हुँदा भन्सार राजस्वको पनि ठूलो हिस्सा छलि भएको थियो ।

ठूलै चलखेल 
मन्त्री र कर्मचारीहरुको सेटिङमा खुला गरिएको सुपारी आयातमा ठूलो परिणामको आर्थिक चलखेल भएको पाइएको छ । आर्थिक चलखेलकै कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरूले सुपारी, केराउ, छोगडा जस्ता वस्तु आयातको टिप्पणी उठाएर स्वीकृतिका लागि प्रधानमन्त्री कार्यालयमा पठाएका थिए । यो प्रपञ्च मंसिर ४ को निर्वाचन अघि नै भएको थियो । 

त्यतिबेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका थिए । तर सुपारी आयात खुलाउने चाँजोपाँजो भने कांग्रेसकै एक सांसद र देउवाकै गृहजिल्ला डडेलधुरा घर भएका विवादास्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरेका थिए । हाल भट्ट विदेशमा रहेका छन् । 

नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोर मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर सो चाजोपाँजो मिलाइएको स्रोत बताउँछ । ‘सुपारी तस्करीको लाइन खुलाउन कम्तीमा ५० देखि ६० करोड रूपैयाँको डिल भएको थियो’, स्रोतले भन्यो । यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेका थिए । 

मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् । 

सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्ड लगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले परिमाणात्मक बन्देज लगाएको थियो ।

व्यापारी दिनेश राठीलगायतका व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुने गरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् । 

उनीहरुले सुपारी आयात गरी विदेश पठाउन थालेपछि नेपालको सुपारीको मुल्यमा गिरावट आउने गरेको छ । त्यतिमात्र होइन नेपालमा उत्पादन भएको सुपारी बिक्री हुनसमेत छाडेको छ । तर व्यापारीहरुले आयात गरेको सुपारीलाई पनि नेपालमै उत्पादन भएको भन्दै भारतमा तस्करी गर्ने गरेको स्रोतको दाबी छ । सुपारीको आयात खुलाउदा २० देखि २५ रुपैयाँ प्रतिकिलो कमिशन छुट्याउने गरिएको स्रोतको दाबी छ । 

भन्सार विभाग मौन 
भन्सार विभागले सुपारी आयातको मात्रै विवरण राख्ने गरेको छ । निर्यातको विवरण नै नभएको स्रोतले जनाएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७७–०७८ मा १ अर्ब १६ लाख रुपैयाँ बराबरको ६ हजार ४१५ टन सुपारी आयात भएको छ । उक्त सुपारी आयात भएको विवरण देखिए पनि निर्यातको विवरण भन्सार विभागसँग छैन । 

थाइल्याण्ड, इन्डोनेसियाबाट आयात भएको सुपारी अवैध रूपमा भारत पठाउने गरिएको छ । भन्सारका कर्मचारीसँग मिलेर विदेशी सुपारीलाई नेपाली उत्पत्तिको प्रमाण पत्र दिने र भारत निकासी हुने गरेकाले त्यसको विवरण नराखिएको स्रोतको दाबी छ ।  

तस्करीलाई रोक्न र निर्यातलाई व्यवस्थित गर्न सके नेपालमा सुपारी खेतीमा युवाको सहभागिता हुने सम्भावना भए पनि सरकार नै त्यसको वाधक बनेको छ । ‘सरकार नै तस्करीमा संलग्न भएको अवस्था देखिन्छ । कानून र विधि पुर्याएर व्यापारीलाई आयात गर्न दिँदा यो अवस्था देखिएको हो’, एक उच्च अधिकारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ