- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनशिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार भारतको नयाँदिल्लीमा च्याम्पियनशिपको ड्र सार्वजनिक गरेको हो ।
समूह विभाजन अनुसार नेपाल कठिन समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।
समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।
साफ च्याम्पियनशिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।
फिफाको प्रतिबन्धको कारण यस संस्करणमा श्रीलंकाले खेल्ने छैन । तर कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।
यसअघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । सन् २०२१ मा भएको उक्त च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।
अहिलेसम्मको अवस्था
अहिलेसम्म भएका संस्करणमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । माल्दिभ्सले २ पटक तथा बंगलादेशले १ पटक उपाधि जितेको छ । साफ खेल्न छाडेको अफगानिस्तानले १ पटक उपाधि जितेको छ ।
नेपाल र भारतले मात्र अहिलेसम्मका सबै संस्करण खेलेका छन् । नेपाल उपविजेतामै सीमित भएको छ ।