arrow

स्वास्थ्यमाथि खेलबाड

बाह्रसिङ्गेलाई भएन कारबाही, पार्टी प्यालेसमा म्याद गुज्रेका बियर अझै छ्याप्छयाप्ति

logo
सोम, 
प्रकाशित २०८० जेठ ५ शुक्रबार
rabi-kc-barahsinghe.jpg

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ओल्ड दरबार, ८८४८, बाह्रसिङ्गे र पासपोर्ट जस्ता मदिरा उत्पादन गर्ने कम्पनीहरुको स्वामित्व राख्ने नेपाल मदिरा उत्पादक संघका पूर्व अध्यक्षसमेत रहेका रवि केसीको बियर गोदाममा छापा मारेको तीन महिना भइसकेको छ । 

तर अहिलेसम्म कारबाही केही पनि भएको छैन । कारबाहीको प्रक्रिया अगाडि बढिरहेको र अन्तिम चरणमा रहेको विभाग बताउँछ । 

तर तीन महिनाको अवधिमा बजारमा म्याद गुज्रेका अवैध बियरहरु बिक्री वितरण हुन रोकिएको भने छैन । अझ त्यसका ग्राहक पार्टी प्यालेसहरु हुने र त्यो विभिन्न पार्टीका क्रममा सर्वसाधारणले सेवन गरिरहने अवस्था छ । 

तर त्यसपछि भने कुनै मिति सकिएका बियरहरु नियन्त्रणमा लिइएको जानकारी विभागले नदिए पनि यसको कारोबारमा कमी नआएको बताइन्छ । 

के हो बाह्रसिंगेको लफडा ? 
ओल्ड दरबार, ८८४८, बाह्रसिङ्गे जस्ता उत्पादनले ठूला उद्योगपतिका रुपमा गनिए पनि पासपोर्ट मदिराको ट्रेडर्माक उल्लंघन गरेको लगायतका विवादित मुद्दा रवि केसीमाथि छन् ।

यस्तोमा विभागले गत वर्षको फागुन २ गते आधिकारिक डिलर रहेको याक ब्रेविङको धुम्बाराहीमा रहेको गोदामबाट बाह्रसिङ्गे ब्राण्डको बियरका म्याद नाघेका २१ सय कार्टुन नियन्त्रणमा लिएको थियो । ।

तीन वटा गोदाममा भण्डार गरिएको यस्तो म्याद नाघेको २१ सय कार्टुन बाह्रसिङ्गे बियर फेला परेको विभागका निर्देशक एवं प्रवक्ता होमनाथ भट्टराईले बताएका थिए ।

करिब ६० लाख मूल्य बराबरको यो बियर ६५० र ३३० मिलिलिटरको बोतल आकारमा रहेको विभागले जनाएको थियो । 

यस्तै उनकोसमेत स्वामित्वमा रहेका यति डिस्टिलरीले ओल्ड दरबार (ओडी) र ८,८४८ जस्ता मदिरा उत्पादन गर्दै आएको छ ।
 
केसीको समेत स्वामित्व रहेको तेस्रो कम्पनी चण्डिका डिस्टिलरी अन्तर्गत पासपोर्ट मदिरा उत्पादन हुँदै आएको छ । केसीको यो पासपोर्ट मदिराले ट्रेडमार्क उल्लंघन गरेको मुद्दा खेपिरहेको छ ।


त्यसो त बाह्रसिंघेमात्र हैन फागुन ३ गते गोर्खा ब्रुअरी आधिकारिक डिलर भएको सिनामंगल गोदामबाट टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, बडवाइजर र गोर्खाका मिति सकिएका ३५५ कार्टुन पनि नियन्त्रणमा लिइएको थियो । 

त्यस्तै फागुन २ गते गोर्खा ब्रुअरीकै सिनामंगलमा गोदाम भएको टुबोर्ग, काल्सबर्ग, गोर्खा प्रिमियम र सान मिगेलका मिति सकिएका ३०० कार्टुन नियन्त्रणमा लिएको थियो । 

साथै सीजी ब्रेअरी प्राइभेट लिमिटेड आधिकारिक डिलररहेको कालस्थान गोदानबाट माघ २७ गथे नेपाल आइस र एभरेष्टका ७० कार्टुन नियन्त्रणमा लिएको थियो । 

अहिलेसम्म यी कसैलाई पनि कारबाही भएको छैन । न त यी बियर नष्ट नै गरिएको छ । 

के भन्छ विभाग ? 
विभागका प्रवक्ता एवं निर्देशक भट्टराई नियन्त्रणमा लिएको तीन महिनापछि मात्रै बल्ल छिट्टै यो प्रक्रिया टुंगिने चरणमा पुगेको बताउँछन् । 

उनले भने, ‘डिस्ट्रय (नष्ट) गर्ने अन्तिम चरणमा छ । उनीहरुले राजस्व बुझाएका छैनन् । त्यसको हिसाब मिलेको छैन । हामीले राजस्वमा पनि अनुरोध गरिरहेका छौं । एकमुष्ट कलेक्सन गर्छौं भनेका छन् फ्याक्ट्रीवालाहरुले विशेषगरी । सम्भवतः केही दिनमा उनीहरुले डिस्ट्रय गर्ने समय मिलाएर हामीलाई खबर गर्लान् । हाम्रो प्रतिनिधि पनि जान्छ र रोहबरमा बसेर डिस्ट्रय गर्नुपर्छ ।’ 

भट्टराईले कारबाही पनि हुने र यो पनि अन्तिम चरणमा रहेकाले केही दिनमा कारबाही पनि गर्ने बताउँछन् । 

उनले अहिले पनि मिति सकिएका बियर बजारमा पाउन नरोकिएकोबारेमा भन्छन्, ‘हाम्रो टोलीले भेटायो भने त समातेर सिल गरिहाल्छ । टोलीले नभेटुन्जेल यसरी गरिएको रहेछ भने यो अपराध हो । यसो गर्न पाइँदैन ।’

नियन्त्रणको यति समयसम्म कारबाही हुन नसकेको बारेमा उनले सम्बन्धित कम्पनीले भन्दा पनि बिचौलियाले यस्ता अवैध गतिविधि गर्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको बताए । 

उनले आफूहरु निर्दोष भएको उत्पादक कम्पनीले बताउने गरेको जानकारी दिए । कम्पनीको भनाइ उधृत गर्दै उनले भने, ‘उत्पादक कम्पनीले हामीले त डिस्ट्रिब्युटरलाई दिने हो । डिस्ट्रिब्युटरले थोक बिक्रेतालाई दिन्छ । थोक बिक्रेताहरुले बजारमा बेच्छन् खुद्रावालालाई ।  खुद्रालाला त हाम्रो उत्पादनहरु हजारौँ होला देशभरि । हामी सबैकहाँ पुग्न सक्दैनौं हामी डिस्ट्रिब्युटरलाई जान्दछौं । त्यो बीचमा अरु कसैले बदमासी गरेको हुन्छ । हामी त हाम्रो ब्राण्ड भ्यालु बल्ल बल्ल स्थापित गरेका हुन्छौँ कहाँ बिग्रन दिन्छौँ भन्ने खालको उनीहरुको कुरो हुँदो रहेछ ।’

प्रवक्ता भट्टराईले आफूहरुले यसभित्र पसेर अनुसन्धान गरेर जाँदै गरिरहेको बताए । उनले भने, ‘अब सानो सानो आउटलेटलाई के गर्ने फुटाइदिने हो । टाउको फुटाइदिने हो । सानोतिनो जरिबाना गर्ने हो । हाम्रो अनुगमनले पनि हेरिराख्या हुन्छ । अब यस्ता कुराहरु बजारमा बेथिति छ भनेर नियन्त्रणकै लागि हो हामी पनि है । हाम्रो स्रोत जति छ त्यो हिसाबमा हाम्रो टोलीले अवान्छित गतिविधि रोक्न लागिरहेको छ ।’

अनुसन्धान प्रक्रिया ढिलाइ भएका बारेमा उनले भने, ‘हाम्रो बीचमा मान्छे हुनुभएन । सिलबन्दी गरेकै दुई चार दिनपछि महानिर्देशक हुनुभएन । महानिर्देशकको अनुपस्थितिले पनि ढिलाई भएको हो । नयाँ महानिर्देशक आइसकेपछि काम द्रूत गतिमा भइरहेको छ ।’ 

राति–राति हुने पार्टीहरुमा गरिन्थ्यो सप्लाई
यस्तो म्याद नाघेको मदिरा एवं बियर खासगरी रात्रिकालीन पार्टी हुने ठाउँहरुमा पठाइने गरेको विभागले थाहा पाएसँगै छापा मारेको थियो । रात्रिकालीन रेष्टुरेन्ट एवं पार्टी हुने ठाउँहरुमा मदिरा एवं बियर म्याद नाघे ननाघेको हेर्ने मानिसहरु खासै नहुने हुँदा यस्तो बियर त्यहाँ सप्लाई हुने गरेको विभाग स्रोतले दाबी गरेको छ । 

त्यसो त यसको कारोबार अहिले पनि भइरहेको बताइन्छ । बियरको कसैले पनि मिति नहेर्ने बानी छ । अझ पार्टी प्यालेसहरुमा बोतलबाट सिधै नभइ ग्लासमा बियर राखेर दिने भएपछि बोतल कसैले हेर्दैन । जसका कारण ठगी गर्नलाई अझ सजिलो हुन्छ । 

त्यस्ता पार्टी प्यालेसहरुले आधा भन्दा कम मूल्यमा त्यस्ता बियरहरु लैजाने गरेको स्रोत बताउँछ । 

स्वास्थ्यमा खेलबाड
वास्तवमा कुनै पनि मिति सकिएका खाद्य पदार्थहरु बिक्री वितरण गर्न पाइँदैन । त्यो अपराध हो । 

यसै त बियर भन्ने पेय पदार्थ स्वास्थ्यका लागि अस्वस्थ्यकर हो । त्यसमाथि पनि मिति नै सकिएको यस्तो पदार्थ सेवनले निम्त्याउने स्वास्थ्य खतरा जटिल बन्न सक्छ । 

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डे कुनै पनि चिजको मिति सकिएपछि त्यसको प्रयोग गर्न नहुने बताउँछन् । 

उनले औषधिमात्र हैन कुनै पनि खाने कुरा मिति सकिएपछि खान नहुने उनको सुझाव छ । डा. पाण्डेले भने, ‘सामान्यतया मिति सकिएको कुनै पनि चिज खानु हुँदैन । औषधि त खानै भएन । मिति सकिँदा साथ त्यसको क्षमतामा कमी आउँछ र सकारात्मक प्रभाव भन्दा नकारात्मक असर पर्न थाल्छ ।’

बियरहरु पनि सेवन गर्न नहुने उनको भनाइ छ । मिति सकिएपछि बियरको गुणस्तर घट्दै जाने र त्यसले असर पुर्याउन थाल्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ