- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सन्त शिरोमणि कबीरदास पन्ध्रौँ शताब्दीका एक आत्मज्ञानी सन्त थिए । जसले सर्वसाधारणलाई धर्मको मूल अर्थ सम्झाएर रूढीवादी कर्मकाण्डको जन्जालबाट मुक्त गरे । सम्वत १४५५ को ज्येष्ठ पूर्णिमाको दिन कबीरदासको जन्म भएको थियो। आज कबीरदासको जन्म-जयन्ती हो ।
उनले समयका साँचो तत्त्वदर्शी सन्त रामानन्दजीबाट आत्मज्ञान प्राप्त गरेर समाजमा घुम्दै त्यस ज्ञानलाई फैलाए। उनका अनुयायी तथा शिष्यहरू हिन्दु र मुस्लिम दुवै थिए । हिन्दु-मुस्लिम एकताका पक्षधर कबीरदास भनेका कुरा प्रसिद्ध मात्र होइन आज पनि सान्दर्भिक छ। उनले भनेका छन् -
"हिन्दु कहे मोहे राम प्यारा, मुस्लिम कहे रहिमाना । आपस में दोउ लड़ मरे, मर्म न काहू जाना।।"
हिन्दुले भन्छन् - राम प्यारा, मुस्लिम रहिमान । आपसमा दुवै लडेर मरे मर्म कसैले बुझेनन् ।
सन्त कबीर निर्गुण ब्रह्मका परम उपासक थिए। उनले मनुष्यहरूलाई बाहिरी माला छोडेर, श्वासको मालामा लुकेको प्रभुको पावन नामको सुमिरण गर्न सिकाए । धर्मदास र इब्राहिम जस्ता वैभवशाली राजाहरूले पनि उनीको शरणगत भए । उनीहरूले राजपाट त्याग गरी गुरु सेवा गरे र आत्मज्ञान प्राप्त गरेपछि आत्म-कल्याणको मार्गमा अघि बढे।
कबीरदास जीले भनेका छन्-
"माला फेरत युग गया, गया न मन का फेर।
कर का मनका डार दे, मन का मनका फेर।।"
हातको माला जप्दा-जप्दा धेरै समय बितेर गयो, तर मनको चञ्चलता दूर भएन, यसर्थ अब हातको माला छोडेर मनको माला जप । जब तत्त्वज्ञानी गुरुबाट मनको मालालाई जानेर जप्नेछौ, तब प्रभुको दर्शन तत्काल हुनेछ। महात्मा कबीरदासले भनेका छन्, ' भगवान्को भक्ति गर, भगवान्को नाम जप ।' प्रभुको त्यो आदि नाम सर्व-व्यापक छ, त्यसबाट शिव- शक्तिको ज्ञान हुन्छ, त्यो तत्त्वको ज्ञान हुन्छ जुन हाम्रो स्वासमा रमिरहेको छ । कबीरदास जीले सम्झाउने प्रयास गरे कि त्यो ज्ञानलाई जान। त्यो ज्ञानलाई, प्रभुको त्यो नामलाई खोज। कहीँ मिलेन भने मेरोमा आऊ, म त्यसको क्रियात्मक ज्ञान गराउने छु।
कबीरदास जीले अध्यात्मको क्षेत्रमा एकदमै मर्मको कुरा भनेका छन् । प्रेमको त्यो अढाई अक्षर के हो जसलाई पढ्नाले मानिस विद्वान् अर्थात् ज्ञानी बन्छ। उसले यस्तो अविनाशी विद्या प्राप्त गर्दछ जुन विद्या सबै विद्याहरूको राजा हो अनि त्यो प्राणको विद्या हामी भित्र छ ।
महात्मा कबीर गृहस्थ जीवनमा सम्पूर्ण कार्य गर्दै पनि सदा भगवान्को नाम सुमिरण गर्थे । उनको प्रत्येक श्वास भगवान्लाई समर्पित थियो। श्वास-श्वासमा उनी भगवान्को पावन नामको सुमिरण गर्थे। एक पटक कबीर तानमा कपडा बुनिरहेका थिए। साथमा अन्य मानिसहरू पनि थिए । कपडा बुन्दाबुन्दै कबीर रुन थाले । कबीर रोएको देखेर मानिसहरूले सोधे -"तपाई किन रुँदै हुनुहुन्छ?"
उनले भने-"म निकै मन्दभागी छु, अहिले कपडा बुन्दा सूतको एक धागो टुट्यो, त्यसलाई जब म जोड्न लागे तब मेरो एक श्वास बिना नाम सुमिरण निस्कियो । यस कारण म रुदैछु कि मेरो एक श्वास व्यर्थ नै गयो ।"
एक पटक कबीरदास आफ्नो शिष्यहरूसँग एक गाउँबाट कतै जाँदै थिए । उनीहरूले देखे एक वृद्ध बसेर गहुँ पिसिरहेकी थिइन्। उनी मुठ्ठीमा लिएर गहुँको दानालाई जाँतोमा हालिरहेकी थिइन् र जाँतोलाई घुमाइरहेकी थिइन्, जसबाट गहुँ पिसिएर बाहिर आटाको रूपमा निस्किरहेको थियो । वृद्धले गहुँ पिसेको क्रियालाई महात्मा कबीरले आध्यात्मिक अर्थमा लिए । आफ्नो शिष्यहरूलाई कबीर रुँदै भन्न थाले-
"चलती चक्की देखकर, दिया कबीरा रोय ।
दो पाटन के बीच में, साबुत बचा न कोय।।"
कालरूपी चक्की चलिरहेको छ । जसमा मृत्यु रूपी वृद्ध गहुँको दाना रूपी जीवलाई हालेर पिसिरहेकी छिन् । दिन र रात रूपी जाँतोको दुई पाटो छन् जसमा आएर सही सलामत कोही बच्दैन । सबै पिसिन्छन् जसलाई देखेर कबीर रुन थाले । कबीरको भक्त मण्डलीमा कबीरका शिष्य तथा छोरा कमाल पनि थिए । उनले बुझे कबीरदासजीको भाव के हो । अतः कबीरलाई रुँदै गरेको देखेर कमाल हाँस्दै भने -
"रोता कबीरा देखकर, हँसा कमाल ठठाय ।
कील सहारे जो रहे, ताको काल न खाय॥"
गुरु महाराजले भगवान्को जुन पावन नामको ज्ञान दिनुहुन्छ त्यो नाम नै जाँतोको मानी हो। जसरी मानीको सहारामा रहने दानाहरू पिसिँदैनन्, त्यसै प्रकार जो नामरूपी मानीको सहारा लिन्छ, उ आवागमनको चक्रबाट बचेर जानेछ । त्यही यस संसारमा आफ्नो मानव जीवनलाई सार्थक गर्न पाउनेछ ।