- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको हो ।
जिल्लाको पश्चिम क्षेत्रका बिरामीको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखा अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गरिने उल्लेख छ । बुर्तिबाङमा अस्पताल बने पश्चिम क्षेत्रका चार स्थानीय तह लाभान्वित हुनेछन् ।
ढोरपाटन नगरपालिका तथा बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका सर्वसाधारणलाई अस्पताल पुग्न एक सय किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता छ । यहाँका बिरामीले सदरमुकाम बागलुङ बजार पुग्न बुर्तिबाङ बजारदेखि ९१ किलोमिटरको दूरी पार गर्नुपर्छ भने छिमेकी जिल्ला गुल्मीका अस्पताल पुग्नसमेत घन्टौँ यात्रा गर्नुपर्छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बागलुङ क्षेत्र नं २ प्रदेशसभा ‘ख’का प्रदेशसभा सदस्य दोर्ण कुँवरले सरकारले जिल्लाको पश्चिमको माग सम्बोधन गरेको उल्लेख गरेका छन् ।
“हाम्रो अभ्यास पास भएको छ, बागलुङको पश्चिम क्षेत्रका जनताको आवाज सुनिने गरी नीति तथा कार्यक्रममा उत्तरगङ्गा जलाशययुक्त आयोजनालाई अगाडि बढाउने, सालझन्डी ढोरपाटन सडकको बुर्तिबाङ-ढोरपाटन खण्डको यथाशीघ्र सम्पन्न गर्न, काठेखोला-गल्कोट सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन गर्ने, प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति नीति तथा कार्यक्रममा समावेश छ”, कुँवरले भनेका छन् ।
प्रदेश सरकारले धौलागिरि अस्पताल बागलुङमा दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने नीतिमा उल्लेख गरेको छ । यहाँ ट्रमा सेन्टर स्थापना गर्ने चर्चा चलेको भने सात वर्ष बितेको छ ।
तत्कालीन प्रतिनिधिसभा सदस्य हरि खड्काको नाममा ट्रमा सेन्टर सञ्चालनका लागि बागलुङ नगरपालिकाले नीति बनाएको थियो । चार वर्षअघि सङ्घ सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेको ट्रमा सेन्टरको विषय प्रदेश सरकारको नीतिमा परेको हो ।
यस्तै, प्रदेश सरकारले संस्थागत सुत्केरीलाई जोड दिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ‘संस्थागत सुत्केरी प्रदेश’ घोषणा गर्ने नीति लिएको उल्लेख गरे ।
स्वास्थ्य बीमामा प्रदेशको सहभागिता, पत्रकारका लागि स्वास्थ्य बीमा, १० वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारलगायतका महत्वकाङ्क्षी कार्यक्रम समावेश गरिएका छन् । क्यान्सरको उपचारमा थप रु एक लाख सहयोग, मुटु र बालरोग अस्पताल स्थापना गर्ने नीति सार्वजनिक गरिएको छ । -रासस