- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आर्थिक वर्षको अन्त्यमा शेयर मूल्यमा विभिन्न कारकहरूले प्रभावित हुने नेपाली शेयर बजार जटिल बजार गतिशीलता, नकारात्मक विकास तथा कमजोर वित्तीय कार्यसम्पादनका बाबजुद केही वृद्धि भएको देख्न सकिन्छ । खस्किँदो अर्थतन्त्र तथा गिर्दो आर्थिक अवस्थाका बाबजुद केही लगानीकर्ताको पूँजी बजारप्रतिको यस्तो व्यवहारले कतै कम्पनी सम्बन्धी विशेष सूचना चुहावट भएको त होइन भन्ने शङ्का पैदा भए पनि शेयर बजार कुनै एक कारकमा निर्भर नहुने प्रस्ट बुझाइ रहेको छ ।
माग र आपूर्ति शृङ्खलामा निर्भर हुने बजार के कारण बढ्यो या घट्यो भन्ने ठोस् यकिन नभए पनि बजारमा निर्माण भएका शृङ्खलाहरूले यसलाई विशेष रूपमा प्रभावित पार्ने गर्दछ । हालसालै आएको बजेटका केही सबल पक्ष तथा आर्थिक वर्षको अन्त्यका कारण बढेको या अरू केही अड्कल बाजीमा १८६६ अङ्कबाट आइतबार आफ्नो शुरुआती कारोबार गरेको नेप्सेमा क्रमशः सुधार भएको देख्न सकिन्छ । आइतबार ५३.०३ अङ्कको वृद्धि भएको नेप्सेमा सोमबार १७.३८ अङ्कको गिरावट भएको थियो । यसपछि क्रमशः सुधारिएको नेप्सेमा मङ्गलबार २५.६६ अङ्कको वृद्धि भएको थियो भने बुधबार ४.६८ अङ्कको तथा बिहीबार ४.६८ अङ्कको वृद्धि हुँदै १९३९.६१ अङ्कमा आफ्नो कारोबार अन्त्य गरेको थियो ।
यस साता सेन्सेटिभ सूचक, फ्लोट सूचक तथा सेन्सेटिभ फ्लोट सूचकमा पनि सकारात्मक वृद्धि भएको देख्न सकिन्छ । ३५५.६२ अङ्क बाट कारोबार शुरु भएको सेन्सेटिभ सूचक बिहीबार ३६४.४२ अङ्कमा, १३०.२१ अङ्क बाट कारोबार शुरु भएको फ्लोट सूचक बिहीबार १६५.११ मा तथा ११७.८७ अङ्कबाट कारोबार शुरु भएको सेन्सेटिभ फ्लोट सूचक बिहीबार १२०.७५ अङ्कमा अन्त्य भयो । नेप्सेका अन्य परिसूचक मा पनि सकारात्मक वृद्धि भएको देख्न सकिन्छ ।
यस साता ११९९.३१ बाट शुरुआती कारोबार गरेको बैंकिंग परिसूचकमा १२०३.५५ अङ्कमा सीमित भएको छ । यसै गरी यस साता ३३८८.५९ अङ्कबाट शुरुआती कारोबार गरेको विकास बैङ्क परिसूचक बिहीबार ३५५४.२५ अङ्कमा, १५३४.३१ अङ्कबाट शुरुआती कारोबार गरेको फाइनान्स परिसूचक बिहीबार १६०६.६० अङ्कमा, तथा ३४१८.९० अङ्क बाट शुरुआती कारोबार गरेको लघुवित्त परिसूचक बिहीबार ३५६५.७७ अङ्कमा सीमित भएको छ । यसैगरी यस साता २३२३.३९ अङ्कबाट शुरुआती कारोबार थालेको हाइड्रोपावर परिसूचक बिहीबार ३४७१.३८ अङ्कमा सीमित भएको छ ।
यस साता ३७३०.१८ बाट शुरुआती कारोबार गरेको होटेल तथा पर्यटन परिसूचक बिहीबार ४१३९.८६ अङ्कमा सीमित भएको छ । यस साता ४७७६.८० बाट शुरुआती कारोबार गरेको उत्पादन तथा प्रशोधन परिसूचक ४८५०.६८ अङ्कमा, ९४२२ अङ्कबाट शरुआती कारोबार थालेको लाइफ–इन्सुरेन्स परिसूचक बिहीबार ९९३८.६६ अङ्कमा, तथा ८९६२.५० अङ्कबाट शुरुआती कारोबार गरेको नन–लाइफ–इन्सुरेन्स परिसूचक बिहीबार १०२३४.१३ अङ्कमा सीमित भएको छ ।
यस साता ६४.५५ अङ्कबाट शुरुवाती कारोबार गरेको लगानी समूह बिहीबार ६७.३४ अङ्कमा सीमित भएको छ । यस साता १३२२.३४ अङ्कबाट शुरुआती कारोबार गरेको अन्य समूह परिसूचक १३५३.९५ अङ्कमा, २१३६.१९ अङ्कबाट शुरुआती कारोबार गरेको व्यापार समूह परिसूचक २४५०.६८ अङ्कमा सीमित भयो भने १३.६१ बाट शुरुआती कारोबार गरेको म्युचुअल फण्ड समूह परिसूचक बिहीबार १३.८४ अङ्कमा सीमित भएको छ ।
नेपालको शेयर बजारको इतिहास हेर्दा प्रायः आर्थिक वर्षको अन्त्यमा विभिन्न कम्पनीको शेयरको बजार मूल्य बढिरहेको पाउन सकिन्छ । व्यापारी घरानाले ब्याज तिर्न प्रयोजनदेखि असीमित लाभांश तथा राइट–इस्यू जस्ता विभिन्न प्रलोभन र भ्रामक समाचार फैलाउँदै या विविध कारणहरूले बढ्ने कारणहरू देखाई शेयर बजारमा केही उछाल ल्याउने कोसिस क्रमिक रूपमा हुने गरेको पाउन सकिन्छ ।
प्रायः आर्थिक–वर्षको अन्त्यमा विभिन्न कम्पनीको शेयरको बजार मूल्य निम्न कारणहरूले पनि भएको बुझ्न सकिन्छ–
१, लाभांशको अपेक्षाः धेरै कम्पनीहरूले आर्थिक वर्षको अन्त्यमा आफ्ना शेयर धनीहरूलाई लाभांश वितरण गर्ने हुँदा लगानीकर्ताहरूले लाभांश भुक्तानीको अपेक्षा राख्दै सकारात्मक भावना सिर्जना भएको र शेयरको माग बढेको कारण मूल्य वृद्धि भएको हुन सक्छ ।
२, वित्तीय कार्यसम्पादनः लगानीकर्ताहरूले कम्पनीको आर्थिक वर्षभरिको वित्तीय कार्यसम्पादन तथा आर्थिक प्रदर्शनका आधारमा कम्पनीको भविष्यका सम्भावनाहरूबारे प्रक्षेपण गर्ने गर्छन् । यसै कारण नेप्सेका केही कम्पनीहरूले गरेको आम्दानी वृद्धिप्रति थप आशावादी हुँदै बढेको आत्मविश्वासले यस्ता कम्पनीको शेयरको माग बढ्दै गएको र यसैको परिणामस्वरूप मूल्य वृद्धि भएको हुन सक्छ ।
३, वर्ष–अन्तको रिपोर्टिङ र खुलासाहरूः प्राय आर्थिक वर्षको अन्त्यमा कम्पनीहरूले सामान्यतया आफ्नो वार्षिक वित्तीय रिपोर्टहरू जारी गर्ने हुँदा आर्थिक वर्षको अन्त्यमा महत्त्वपूर्ण अद्यावधिकहरू प्रदान गर्ने हुँदा यस्ता कम्पनीहरू नियालिरहेका लगानीकर्ताहरू यस्ता कम्पनीको सकारात्मक समाचारहरू जस्तै बढी आम्दानी, सफल उत्पादन प्रक्षेपण, वा महत्त्वपूर्ण व्यापार विकासहरूका कारण आकर्षित हुँदा शेयरको माग बढ्ने तथा शेयर मूल्यमा वृद्धि भएको हुन सक्छ ।
४, पोर्टफोलियो–सन्तुलनः संस्थागत लगानीकर्ता र कोष प्रबन्धकहरू प्रायः आर्थिक वर्षको अन्त्यमा पोर्टफोलियो पुनः सन्तुलनमा संलग्न हुने गर्दा लगानी रणनीति अनुसार पोर्टफोलियोको संरचना समायोजन गर्न शेयरहरू खरिद वा बिक्री गर्न तर्फ अग्रसर हुने गर्छन् । यसै कारण पनि खरिद दबाब सिर्जना हुने तथा मूल्य वृद्धि हुने गर्दछ ।
५, बजार मनोवृत्तिः आर्थिक वर्षको अन्त्यमा अर्थतन्त्रमा छाएको सकारात्मकता तथा नकारात्मकताले समग्र बजार प्रभावित पार्ने हुँदा यदि लगानीकर्ताहरू अर्थव्यवस्था, कर्पोरेट प्रदर्शन वा विशिष्ट उद्योगहरूको बारेमा आशावादी रहे यस्ता स्टकहरूमा लगानी गर्न इच्छुक हुने गर्छन् जसले गर्दा शेयर स्क्रिप्ट तथा यस्ता स्क्रिप्ट मूल्यहरू बढ्ने या घट्ने हुने गर्दछ।