arrow

अन्ठाउन्न महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
Chandani didi bahini samuha.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ स्थित चाँदनी टोलका ५८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । 

चाँदनी दिदीबहिनी समूहले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण एवं सचेतना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका लागि नेपाल परिवार नियोजन कास्कीले प्राविधिक सहयोग गरेको थियो ।

समूहकी अध्यक्ष निर्मला थपलिया पाठकका अनुसार परिवार नियोजन संघका ९ जना प्राविधिकले ५८ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरेका थिए । 

कार्यक्रममा परिवार नियोजन संघका शाखा म्यानेजर नवराज तिवारीले पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण दिएका थिए । सो अवसरमा तिवारीले पाठेघरको मुखको क्यान्सरको लक्षण र रोकथामका उपायबारे जानकारी गराएका थिए । 

पाठेघरको मुखको क्यान्सरबाट जोगिने सबैभन्दा सजिलो विधि स्क्रिनिङ टेष्ट भएको भन्दै तिवारीले  महिलाले पाठेघरको मुखको क्यान्सरको परीक्षण समयसमयमा गर्न आवश्यक रहेको बताए । उनले क्यान्सरको लक्षण देखिने बित्तिकै उपचार गराउन सके क्यान्सरबाट बच्न सकिने जानकारी गराए । 

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल परिवार नियोजन संघका उपसभापति नवीन सिग्देलले पाठेघरको मुखको क्यान्सर परीक्षण एवं सचेतना कार्यक्रम आयोजना गरेर चाँदनी दिदीबहिनी समूहले निकै प्रशंसनीय कार्य गरेको बताए । 

उनले यस्तै रचनात्मक कार्यमा नियोजन संघले थप सहयोग गर्र्दै जाने भन्दै आगामी दिनमा पनि सहकार्य गरेर अन्य कार्यहरु पनि गर्न सकिने स्पष्ट पारे । 

चाँदनी टोल विकास संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले दिदीबहिनी समूहले छोटो समयमै महत्वपूर्ण कार्यहरु गर्न सफल भएको भन्दै संस्थाकोतर्फबाट आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

समूहकी अध्यक्ष पाठकले समूह स्थापना भएको एक वर्षमै धेरै कामहरु गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले समूहमा आवद्ध सबै दिदीबहिनी र टोलवासीको सहयोगले नै समूह अघि बढिरहेको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । 

समूहकी अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिलु पुनले स्वागत र सचिव विष्णु रावलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । 

यसैबीच समूहले वार्षिकोत्सवको अवसरमा मृगौला पीडित महिलालाई आर्थिक सहयोग पनि गरेको छ । गोरखा घर भइ हाल पोखरा १४ मै बसोबास गर्दै आएकी लक्ष्मी गुरुङलाई १९ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको समूहकी अध्यक्ष पाठकले जानकारी दिइन् । 

समूहले १३ हजार ९००, चाँदनी टोल विकास संस्थाले तीन हजार र नेपाल परिवार नियोजन संघ कास्कीले दुई हजार १०० गरी १९ हजार रुपैयाँ गुरुङलाई हस्तान्तरण गरिएको समूहकी सचिव रावलले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ