arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

सरकारी वकिलहरु जवाफी बहसमा, आजै थुनछेक आदेशको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
nakkali-bhutani-sharanarthi-prakaran-17.jpg

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने सम्भावना रहेको छ । जवाफी बहस सकिएपछि जिल्ला आदलतले थुनछेक आदेश दिने सम्भावना रहेको हो ।

प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन नसकेको अवस्थामा आज ११ बजेबाट नै सरकारी वकिलले जवाफी बहस शुरु गरेका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपीबारे शुक्रबार नै थुनछेक आदेश गर्ने तयारी गरेको छ । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपीका कानून व्यवसायीहरूको बहस सकिएको छ । न्यायाधीश न्यौपानेले आज सरकारी वकिलहरूको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्नेछन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । मंगलबार नै आदेश गर्ने जनाइएको थियो । तर शरणार्थी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूको पक्षमा बहस लम्बिएको थियो । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १८ जना अहिले प्रहरीको नियन्त्रणमा छन् । 

उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेमध्ये एक आदेश जिल्ला अदालत काठमाडौँले गर्नेछ । 

आरोपीहरूको भूमिका, संलग्नता, प्रमाणका आधारमा इजलासले हिरासतमा रहेकालाई एकै प्रकारको आदेश नगर्न पनि सक्छ । उनीहरूलाई फरकफरक आदेश हुन सक्छ । 

शुक्रबार थुनछेक आदेशपछि मात्र अदालतमा मुद्दाले प्रवेश पाउनेछ । मुद्दामा जिल्ला अदालतबाट आदेश हुन भने केही समय लाग्नेछ । जिल्ला अदालतले गरेको थुनछेक आदेशमा चित्त नबुझे दुवै (आरोपी र सरकारी वकिल) पक्ष पुनरावेदनका लागि उच्च अदालत जाने बाटो खुल्नेछ । न्यायाधीश न्यौपानले पनि चाँडै नै बाटो खुला गर्ने बताइसकेका छन् । 

घटनामा संलग्न १२ जना अझै फरार छन् भने विभिन्न मितिमा पक्राउ परेका १८ जना हिरासतमा छन् । पक्राउ परेका रायमाझी, खाँडसहितलाई रिहाको आदेश हुन सक्ने भन्दै विभिन्न पक्ष र समूहले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

उक्त प्रकरणमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संलग्न रहेको आरोप लगाउँदै मानवअधिकार तथा शान्ति समाजले बिहीबार संसद् भवन नयाँ बानेश्वर अगाडि नै प्रदर्शन गरेको थियो । 

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले मानवअधिकार तथा शान्ति समाजका पूर्व सभापति कृष्ण पहाडी सहितलाई नियन्त्रणमा लिएको थियो । 

नेपाली भाषी भुटानीहरू आफ्नै सरकारको अत्याचार सहन नसकेपछि नेपाल आएका उनीहरू लामो समयदेखि झापाको विभिन्न शिविरमा बस्दै आएका थिए । 

उनीहरूको तेस्रो मुलुकमा व्यवस्थापन गर्ने समझदारी भएको थियो । सोहीअनुसार उनीहरूलाई अमेरिका पठाइएको थियो। केही शरणार्थी छुटेको भन्दै बन्द भइसकेको कार्यक्रमलाई फेरि सञ्चालनमा ल्याउने उद्देश्यले कार्यदल बनाइएको थियो । 

बिहीबारको बहसमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालले थुनामा रहेका टोपबहादुर रायमाझी र बालकृष्ण खाँडलाई लक्षित गरेर नेताहरुकै कारण यो अवस्था आएको बताएका थिए । 

बहसमा आफैँ उत्रेका रिजालले नेपाल र भुटानबीच धेरै पटक वार्ता भए पनि भुटान फिर्ताको प्रयास लामो समयसम्म नटुङ्गिएपछि कूटनीतिक पहलमा ठूलो संख्यामा भुटानी शरणार्थी अमेरिका, बेलायत, न्यूजिल्यान्ड, क्यानाडालगायत तेस्रो मुलुकमा पुनर्वास गरिएको पनि सुनाउँदै अब भुटानसँग कसरी कुटनीतिक पहल गर्ने भन्दै प्रश्न गरेका थिए । 

भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पुर्याउने सूचना पाएपछि नै सरकारी निकाय, राजनीतिक दलका नेताहरूलाई आफूले जानकारी दिएकोसमेत उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ