arrow

यात्रा

जापान त्यसै विकसित भएको हैन

logo
तुलसी पन्थी,
प्रकाशित २०८० असार २ शनिबार
article-tulasi-panthi-2080-03-02.jpg

 २०६३ सालमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट मेकानिकल इञ्जिनियरिङमा त्रिभुवन विश्वविद्यालय प्रथम भई बीई पास भएपछि छोरा ध्रुव हेटौँडामा अल्कोहा बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका थिए । जापानी दूतावासले जापान सरकारको छात्रवृत्तिमा जापानमा मास्टर्स पढ्न जानको लागि आवेदन आह्वान गरेकोमा ध्रुव लिखित र अन्तर्वार्ता दुवैमा सफल भए । 

ध्रुव २०६५ साल चैत १८ गते जापानको टोकियो विश्वविद्यालयमा इञ्जिनियरिङ विषयमा मास्टर्स गर्ने गरी जापान गए । मास्टर्स पूरा भएपछि सोही छात्रवृत्ति अन्तर्गत पीएचडीको लागि निरन्तरता पाई सोही विश्वविद्यालयबाट पीएचडी पूरा गरे । २६ सेप्टेम्बर २०१४ मा पीएचडीको दीक्षान्त समारोह हुने निश्चित भइसकेपछि सो कार्यक्रममा सहभागी हुन हामीहरु जानका लागि आवश्यक कागजातहरु बुहारी सपना छोरी सरिताको विवाहमा जापानबाट आउँदा लिएर आएकी थिइन् । हामीहरुले जापानी दूतावासमा कागजातहरु पेश गरी मेरो र पत्नी भगवतीको भिसा लियौँ ।

हाम्रो जापान जाने कार्यक्रम निश्चित भइसकेपछि मैले मेरो कार्यालयबाट बिदा स्वीकृत गराएँ । ज्वाँइ महेश घिमिरेले ड्रयागन एयरवेजबाट हङकङसम्म र हङकङबाट क्याथेप्यासिफिकको जहाजबाट टोकियोको हानेदा विमानस्थलमा जाने गरी हवाइजहाजको टिकटको ब्यवस्था गरिदिनु भएको थियो ।

८ सेप्टेम्वर २०१४ को उडान भएकाले हामीहरु २०७१।५।१९ गते तौलिहवा घरबाट काठमाडौँ गई बानेश्वर ससुराली घरमा बस्यौँ । जापान जानको लागि आवश्यक सामानहरुको ब्यवस्था लगायतको तयारी छोरी सरिता, ज्वाँइ र रमेशबाट पूरा भयो ।
 
८ सेप्टेम्वर राति ११ बजेको उडान भएकोले ८ बजे नै त्रिभुवन अन्तर्राष्टिय विमानस्थल पुग्नु पर्ने थियो । हामीहरुलाई एयरपोर्टसम्म पुर्याउन छोरा रमेशले आफ्नो स्कुलको भ्यान लिएर आए । ज्वाइँ विदेशमा बसिसक्नु भएकोले हामीहरुलाई सजिलो होस् भनेर यात्रा गर्दा सचेत हुने कुराहरु बताइसक्नु भएको थियो । छोरी, ज्वाइँ र रमेश हामी एयरपोर्टसम्म सँगै गयौँ । विमानस्थलमा पुगेर भित्र जाने लाइनमा बसी साथमा गएका सबैसँग बिदा भई हामीहरु भित्र गयौँ । सामान चेकिङपछि ड्रयागन एयरवेजको काउण्टरमा गई हाम्रा काजातहरु देखाएर अध्यागमन कार्यालयमा गयौँ । 

त्यहाँ बुझाउनु पर्ने विवरणहरु बुझाई हामीहरु प्रतिक्षा कक्षमा गएर बस्यौँ । उडान समय बाँकी भएकाले प्रतिक्षाको अवधिमा त्यहाँ रहेका यात्रुहरुसँग परिचय र गन्तब्यको विषयमा कुराकानी गरी समय बितायौँ ।

राति ठीक १० बजे हामी जाने जहाज अवतरण गरेको देखियो । त्यसपछि यात्रुहरुलाई जहाजतर्फ जान आह्वान गरियो । जहाज यात्रुहरु लिएर रातको ११ बजे त्रिभुवन विमानस्थलबाट उड्यो । १ घण्टाको उडान पछि जहाज बांगालादेशको ढाका विमानस्थलमा अवतरण गरी त्यहाँबाट थप यात्रु लिएर १ घण्टापछि हङकङको लागि उडान गर्यो । 

हामीहरु नेपालमा आन्तरिक उडानबाट हवाइ यात्रा त गरिरहेका थियौँ । तर जेटको उडान अनुभव यो नै हाम्रो लागि पहिलो थियो । जहाजमा कोल्ड ड्रिक्ङस् लगायतका खानाहरु दिइरहेको थियो । हामीहरुलाई शाकाहारी खाना दियो ।

जहाज हङकङको समय अनुसार अर्को दिन ७:३० बजे हङकङ विमानस्थलमा अवतरण गर्यो । हङकङ विमानस्थल विशाल रहेछ । त्यहाँसम्म जहाजमा धेरै नेपालीहरु थिए । विमानबाट बाहिर निस्किँदा साथ सबै आ-आफ्नो गन्तब्यतर्फ प्रस्थान गर्दा टोकियो हानेदा विमानस्थल जाने हामीसमेत ९ जना नेपाली थियौँ । हङकङबाट बिहान ८:४५ मा क्याथे प्यासिफिकको जहाजबाट जापान जानु थियो । 

त्यसैले सो एयरवेजका कर्मचारीहरुले हामीहरुलाई गाइड गरिरहेका थिए । उनीहरुसँगै हामी जहाजमा पुग्यौँ । त्यो जहाज पहिलेको भन्दा ठूलो थियो । जहाजमा प्रवेश गरी आ-आफ्नो सिटमा बस्दै गर्दा त्यहाँ सबैजसो यात्रुहरु जापानी वा चाइनिज जस्ता देखिन्थे । भाषा बुझ्ने कुरै भएन अनौठो लागिरहेको थियो । 

जापानी समय अनुसार दिउँसो २:३० बजे (नेपाली समय भन्दा ३:१५ घण्टा चाँडो ) हानेदा विमानस्थलमा  जहाज अवतरण गर्दा मनमा केही कुराहरु आइरहेका थिए । छोरा लिन आइपुगेको छ कि छैन, तुरुन्त भेट हुने हो कि हैन, अलमल भइने हो कि भन्ने लागेको थियो । 

जहाजबाट निस्केपछि बाहिर निस्कने ढोका हेर्दै गयौँ । त्यहाँको सबै चेक जाँचपछि म लगेज लिएर बाहिर जाँदा छोरा ध्रुव उभिएर कतै हेरिरहेका थिए । मैले ध्रुव भनेर बोलाउँदा हाँस्दै म नजिक आइपुगे । पत्नी भगवती महिला गेटबाट केही ढिलो पुगिन् । 

हामी ३ जनाको भेट हुँदा खुशीको सीमा रहेन । केही बेरपछि बुहारी सपनाले छोरालाई फोन गरेर आफू आउँदै गरेको जानकारी गराइन् । करिब १० मिनेटपछि सपना आइपुगिन् । छोरा बुहारीसँग हामीहरुको भेट हुँदा निकै खुशी थियौँ । विमानस्थलबाट हामीहरु छोरा बुहारीहरु बस्ने टोकियोको सिरुकानेदाई भन्ने स्थानमा रहेको टोकियो विश्वविद्यालयको अन्तर्राष्ट्रिय छात्रावासमा जानको लागि प्रस्थान गर्यौँ । ३ वटा मेट्रो ट्रेन बदलेर करिब १ घण्टापछि हामी त्यहाँ पुग्यौं । त्यहाँ पुगेर आपसमा सञ्चो बिसञ्चो लगायतका कुराहरु भए । खाना तयार भएपछि खाना खायौँ । विदेशमा छोरा बुहारीहरुसँगै हुँदा हामीलाई निकै रमाइलो महसुस भइरहेको थियो । 

भोलिपल्ट १० सेप्टेम्बरका दिन बुहारी सपना आफ्नो कलेजमा गइन् । हामीहरु छोरा ध्रुवसँग छात्रावास नजिकै रहेको इबिसु गार्डेन तथा टावर घुम्न गयौँ । ३९ तलाको टावरमा ३८ तलासम्म जान पाइने रहेछ । हामीहरु लिफ्टबाट ३८औँ तलामा गई त्यहाँबाट टोकियोको दृश्यावलोकन गर्यौँ ।

१२ सेप्टेम्वरका दिन जापानी सम्राटको दरबार क्षेत्रको अवलोकन गर्न गयौँ  । मूख्य दरबार बाहिर रहेको पार्कमा घुम्ने काम भयो । त्यो ठाउँ निकै आकर्षक थियो । ध्रुवको भनाइअनुसार टोकियोमा सबै भन्दा धेरै पर्यटक घुम्न आउने ठाउँ यही रहेछ । सोही दिन हामीहरु सानो तीन पाङ्ग्रे रेलबाट समुद्रको दृश्यावलोकन गर्दै टोकियो खाडी पारि रहेको ओबाइदा घुम्न गयौँ । त्यहाँ समुद्रको किनारमा रहेको पार्कमा बसी समुद्रमा भइरहेका कृयाकलाप र स्वतन्त्रताको प्रतीक लिवरट्री अवलोकन गरियो । फर्कदा सि बस (सानो पानी जहाज ) बाट फर्कियौँ  । 

१४ सेप्टेम्वरका दिन हामी छोरा बुहारीका साथ टोकियो स्काइ ट्री र जापानी परम्परागत मन्दिर रहेको आशाकुशा घुम्न गयौँ । टोकियो स्काई ट्रीको उचाई ६३४ मिटर रहेछ । ३५० मिटरसम्म गएर दृश्यावलोकन गर्न पाइने । हामीहरु त्यहाँ जान पहिले स्काइ ट्रीको काउण्टरमा गई कार्ड लिँदा ४ बजे लाइनमा आउने समय दियो । त्यहाँबाट हामीहरु आशाकुशा मन्दिर अवलोकन गर्न गयौँ । त्यहाँ जापानका परम्परागत मन्दिरहरु थिए । 

भगवान बुद्धका मूर्तिहरु मन्दिरको बाहिरी परिसरमा राखेको पाइयो । केही मन्दिरहरु नेपालको जस्तै प्यागोडा शैलीमा रहेको पनि देखियो । त्यहाँ मानिसले तान्ने कलात्मक रिक्साहरु चलेको पनि देख्यौँ । ४ बजे स्काइ ट्रीमा जानको लागि लाइन बसेपछि टिकट लिएर लिफ्टबाट ३५० मिटर माथि गयौँ । माथि रेष्टुरेण्टहरु थिए । त्यहाँ विभिन्न कार्यक्रमहरु भइरहेका थिए । त्यहाँ भइरहेका सबै कृयाकलाप र माथिबाट टोकियोको दृश्यावलोकन गर्दा डेढ घण्टाको बसाइपछि हामीहरु फर्कियौँ । 
    
१९ सेप्टेम्बरका दिन सिनगावा एक्विरियम हेर्न गयौँ । विभिन्न प्रकारका माछाहरु र सामुद्रिक जीवहरु भएको एक्विरियम निकै आकर्षक थियो । डल्फिन र समुद्री सिंह नचाउने कार्य निकै रमाइलो र आकर्षक थियो । त्यहाँ रहेको पार्क पनि निकै ब्यबस्थित र सुन्दर थियो । 

बुहारी सपनाले प्राप्त गरेको टोकियो विश्वविद्यालयको छात्रावास २३ सेप्टेम्बरसम्म छाड्नु पर्ने थियो । छोरा बुहारीहरुले २१ सेप्टेम्बरमा त्यहाँबाट सर्नको लागि युरिगाओका भन्ने ठाउँमा घर भाडामा लिएका थिए । घरमा सर्नको लागि २० तारिखमा सामान मिलाउन हामी सबै ब्यस्त भयौँ । २१ सेप्टेम्बरका दिन सामान लैजान बिहान १० बजे छात्राबासमा गाडी आइपुग्यो । 

सामान गाडीमा लोड गरेर हामी र ध्रुव रेलबाट तथा सपना सामानसँगै गाडीबाट जाँदा युरिगाओकासँगै पुग्यौँ । त्यहाँ भाडामा लिएको घरमा कास्की घाचोकका डा. रमामोहन पोखरेल परिवारसहित बस्नुहुँदो रहेछ । सामान अनलोड गरी कोठासम्म पुर्याउने काममा रमामोहन र उहाँकी पत्नी पुष्पाजीले सहयोग गर्नुभयो । हामीहरुको लागि खाना पनि उहाँहरुकै भाञ्छामा तयार रहेछ । सँगसँगै खाना खायौँ । जापान पुगेपछि पहिलो पटक नेपालीहरुसँग भेट भएकोले रमाइलो पनि भयो । त्यो दिन कोठामा सामान मिलाउनमै ब्यस्त भयौँ । 

२३ सेप्टेम्बरका दिन हामीहरु जापानी मन्दिरहरु र गौतम बुद्धको विशाल मूर्ति भएको ठाउँ कामाकुरा घुमघाम गरी इनोसिमा भन्ने ठाउँको समुद्रको किनारमा गई विशाल समुद्रको दृश्यावलोकन गरियो ।      
    
२६ सेप्टेम्बरको दिन छोरा ध्रुवको पीएचडीको दीक्षान्त समारोहमा सहभागी हुन हामी चार जना विश्वविद्यालयको कार्यक्रमस्थलमा बिहान ९:४५ बजे पुगियो । त्यहाँ विद्यार्थीको लागि तोकिएको अलग्गै हलमा ध्रुव गए । परिवारको लागि तोकिएको हलमा हामीहरु गयौँ । कार्यक्रम १ घण्टा १० मिनेटको थियो । सो अवधिमा कूलपतिको संबोधन लगायतका कार्यक्रमहरु हामीले स्क्रिनको ठूलो पर्दाबाट हेरियो । 

त्यहाँ दीक्षित हुनेहरुमा ६० प्रतिशत विदेशी रहेछन् । तोकिएकै समयमा कार्यक्रम सकिएपछि प्रमाणपत्रको लागि आ-आफ्नो विभागमा जानुपर्ने हुँदा ध्रुवसँगै हामीहरु पनि विभागमा गयौँ । त्यहाँ पनि कार्यक्रमकाबीच प्रमाणपत्र ग्रहण गर्ने कार्य निकै रमाइलो वातावरणमा सम्पन्न भयो । प्रमाण पत्र लिइसकेपछि विद्यार्थीहरु फोटो सेसनमा रमाइलो गरिरहेका थिए । 

त्यहाँ धेरै देशका मानिसहरुले कहाँबाट आएको भनी आपसमा सोधपुछ गर्दै बधाइ दिइरहेका थिए । एकजना त्यहीँको रिटायर्ड जापानी प्रोफेसरले मसँग परिचय गरी ध्रुवलाई बधाई दिँदै आफू पनि ४५ वर्ष पहिले त्यहीँबाट पीएचडी गरेको भन्दै थिए । हामीहरु खानाको लागि एउटा नेपाली रेष्टुरेण्टमा गयौँ । हामीलाई जापानी शैलीमा स्वागत गरे पनि सोधपुछ गर्दा संचालक गुल्मी रुपाकोटका थिए । खाना खाइसकेपछि हामीहरु विश्वविद्यालयको मूख्य द्वारमा गएर पुनः फोटो खिच्ने काम भयो । यो दिन हम्रो लागि निकै खुशीको दिन रह्यो ।

२८ सेप्टेम्बरका दिन हामीहरु टोकियोको उएनोमा रहेको टोकियो राष्ट्रिय संग्रहालय हेर्न गयौँ । संग्रहालयको परिसरमा रहेको पार्क निकै आकर्षक थियो । संग्रहालयमा पूर्व एसिया र दक्षिण पूर्व एसियाका हिन्दू धर्मसँग सम्बन्धित पुरातात्विक वस्तुहरु धेरै थिए । आठौँ शताब्दीको इजिप्टको पहेँलो कपडाले बेरेर सिसाभित्र राखेको एउटा मानिसको शव पनि देखियो । साँझ त्यहाँबाट निस्कँदा अति ब्यस्त बजारको झिलीमिली पनि हेर्यौँ । 

जापानको हाम्रो बसाइको समय छोटो हुँदै गइरहेको थियो । ३ अक्टुबरका दिन हामीहरुको सबैभन्दा ठूलो चाड वडादशैँको टीकाको दिन परेको हुँदा डेरामा समयमै जमरा राखेका थियौँ । छोराको विवाह पश्चात छोरा बुहारीलाई सँगै टीका लगाई आशीर्वाद दिने पहिलो पटक भएकोले हामी सबै खुशी थियौँ । 

टीकाको दिन छोरा बुहारीलाई टीका जमरा लगाई आशीर्वाद दियौँ । केही समयपछि इमिलियाका भतिजाहरु जीवन, अमृत, हिमाल र एकजना नानी हामीहरुसँग टीका थाप्न आए । उनीहरुलाई टीका लगाई आशीर्वाद दिई खानपिन गरियो । विदेशमा सबैसँग भेट हुँदा रमाइलो भयो । साँझमा रमामोहनजीको परिवार आउनु भयो । सबैलाई टीका लगाई आशीर्वाद दियौँ ।

५ अक्टुबरको बिहान १०:३० हाम्रो जापानबाट नेपाल फर्कने टिकट भएकाले ४ अक्टुबरको दिन छोराबुहारीसँग दिनभर सँगै बस्यौँ । ५ अक्टुबरको बिहान पानी परिरहेको थियो । हामी ७ बजे डेराबाट हानेदाको विमानस्थल जानको लागि प्रस्थान गर्यौं । रेलवे स्टेशनसम्म पुगेर बुहारी सपना हामीसँग बिदा भई फर्किइन् । ध्रुव हामीलाई लिएर हानेदा विमानस्थलसम्म पुगे । विमानस्थलमा चेकजाँचपछि हामीहरु भित्र प्रवेश गर्दा हात हल्लाउँदै छोरासँग बिदा भयौँ । देखिनेसम्म पछाडि हेर्दा छोराले हामीलाई हेरिरहेका थिए । 

नरमाईलो मान्दै हामी गेट नं १४२ तर्फ लाग्यौँ । प्रतिक्षालयमा यात्रुहरुको भीड थियो । तोकिएको समयमै २ तले जहाज गेटमा आइपुग्यो । हामी जहाजमा चढ्यौँ । हङकङको लागि जहाज उडेपछि झ्यालबाट बाहिर हेर्दा हेर्दै जहाजले ३५००० फिटको उचाइमा उडिरहेको संकेत दिइरहेको थियो ।
        
तोकिएकै समयमा जहाज हङकङ विमानस्थलमा अवतरण गर्यो । त्यहाँ ३ घण्टाको ट्रान्जिट समय भएकाले प्रतिक्षालयमा प्रतिक्षा गरिरह्यौं । त्यहाँ धेरै देशहरुबाट आउने ट्रान्जिट भएकोले नेपालीहरुको ठूलै जमात थियो । 
      
समयमै हङकङबाट ड्रयागन एयरवेजको जहाज काठमाडौँको लागि प्रस्थान गर्यो । हामीहरु नेपाली समय अनुसार राति १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्यौँ । जहाजबाट ओर्लिएपछि मैले रमेशलाई फोन गर्दा बाहिर गाडी लिएर आइपुगेका थिए । त्यहाँको चेक जाँचपछि लगेज बुझेर बाहिर आई रमेशको गाडीबाट हामीहरु धापासी पुग्यौँ । धापासीमा दाजु भाउजूसँग सञ्चो बिसञ्चो भलाकुशारी गरी खाना खाएर सुत्यौँ । 

भोलिपल्ट छोरी सरिताको विवाह भएपछि छोरी,ज्वाइँहरुलाई पहिलो दशैँको टीका लगाउने कार्यक्रम थियो  । छोरी, ज्वाइँ, दाजु, भाउजू, छोरा, बुहारीहरुको उपस्थितिमा धापासीमा टीका थाप्ने तथा लगाइदिने काम रमाइलो वातावरणमा सम्पन्न भयो । त्यसपछि हामीहरु भेटघाटको लागि बानेश्वर ससुराली गई बस्यौँ ।

 २९ दिनको जापान यात्रा सफलता पूर्वक सम्पन्न भई हामी काठमाडौँबाट दाजु भाउजूसहित तौलिहवा घरमा फर्कियौँ ।   
                       
                                                                              यात्रा समीक्षाः

हामी दक्षिण एसियाको हिमालको काखमा हिमाल, पहाड र तराई मिलेर बनेको एक रमणीय भूपरिवेष्टित सानो देशका नागरिक । विकासको गति सुस्त भई अल्पविकसित देशको सूचिमा रहेको हाम्रो देश नेपाल । जापान पूर्वी एसियाको समुद्रवेष्टित टापुहरु मिलेर बनेको विकसित देश । दोश्रो विश्वयुद्धसम्म जापान सामरिक हिसाबले पनि एसियाको शक्तिशाली देश । 

चीन र कोरियामा आफ्नो उपनिवेश कायम राख्न सफल । ‌दोस्रो विश्वयुद्धमा जापानको शैन्य शक्तिलाई कमजोर बनाउन संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्त ७ मा हिरोसिमा र ९ अगस्तमा नागासाकी शहरमा एटम बम खसालेर ठूलो मानवीय र भौतिक क्षति गराएपछि जापान अमेरिकासँग सम्झौता गर्न बाध्य भएको थियो । युद्धको समाप्तिपछि जापानले शोकलाई शक्तिमा बदलेर विज्ञान र प्रविधिको क्षेत्रमा निकै विकास गरेको छ । 

संसारका उत्कृष्ट विश्वद्यालयहरुमा २० ओटाको सूचपभित्र रहेको टोकियो विश्वविद्यालयमा जापानी सरकारको छात्रवृत्तिमा छोरा ध्रुवले मास्टर्स र पीएचडी पूरा गरेका र बुहारी सपनाले इञ्जिनियरिङ विषयमा मास्टर्स गरिरहेकी थिइन् । यसै सिलसिलामा जापान घुम्न जान पाउनु हाम्रो लागि अवसर र गौरवको विषय थियो । हामी जापानमा रहँदा घुम्दा जे देख्यौँ र अनुभव गर्यौं त्यसलाई संक्षेपमा उल्लेख गर्दै छु ।
          
जापानीहरु अत्यन्तै मेहनती अनुशासित र मिलनसार पनि रहेछन् । जापानमा समयको ज्यादै महत्व छ । समयसँग उनीहरुले सम्झौता गर्दैनन् । हरेक क्षेत्रमा उनीहरु समय अनुसार चल्दछन् । टोकियोमा चल्ने ट्रेनको समय १ मिनट पनि तलमाथि नहुने । मानिसहरु पनि स्टेशनमा समयमा मात्र पुग्ने । लाइनमा बसी चढ्ने र ओर्लने । अपांगता भएका वृद्धहरुलाई तोकिएको सिट खाली भए पनि नबस्ने । ट्रेनमा कसैसँग कुराकानी नगर्ने । कसैको अनुहारसमेत नहेर्ने । ट्रेनमा फोनमासमेत कुराकानी गरेको देखिएन । हामीहरुलाई त यो ब्यवहार अचम्म लाग्ने । 

टोकियोका सडकहरु फराकिला र एकदम सफा । गाडीहरु आफ्नो ट्रयाकमा मात्र चल्ने हर्न बजाएको नसुनिने । फोहर कहिँ देखिएन । झरेका रुखका पातहरु मानिसहरुले सफा गरिरहेको देखियो । साईकलको धेरै प्रयोग गर्ने । रेलवे स्टेशनसम्म साइकलमा गई त्यहाँ स्ट्याण्डमा साइकल राखी ट्रेनमा जाने र फर्कदा आफ्नो साइकलमा फर्कने गरेको पाइयो । जापानमा खानासँगै थोरै भात खाने चलन पनि देखियो । त्यहाँको चामलको भातका सिता जोडिने स्वादिलो हुँदो रहेछ । हामी नेपाली खाना जस्तै खानको लागि खाद्य सामग्री किन्न तोकिएको स्थानमा भारतीय पसल रहेछन् ।

हामीले पढ्दा वा अरुले कुरा गरेको सुन्दा जापानमा भूकम्प गइरहने हुँदा त्यहाँ साना साना घरमात्र हुन्छन् भन्ने सुनिएको थियो । तर टोकियोको मूख्य शहरमा ७० तला सम्मका भवनहरु रहेको पायौँ । भूकम्पका धक्काहरु भने भइनै रहने रहेछ । जनस्तरमा जापानीहरुमा नेपाल र नेपालीहरुको विषयमा जानकार भएको पाइएन । उनीहरु दक्षिण एसियालाई भारत भनेर बुझ्ने रहेछन् । जस्तो हामी नेपालीहरुले गोरो मानिसलाई अमेरिकन बुझ्दछौँ । नेपालीहरुले चलाएका रेष्टुरेण्टको नाम पनि इण्डियन नामबाट रहेको पाइयो । हामीलाई Are you Indian भनेर सोध्दथे । We are Nepali We are from Nepal भन्दासमेत बुझेको पाइएन । एकजना पाकिस्तानी विद्यार्थीले मलाई Uncle you are from India भनेर सोधेकोमा मैले  No from Nepal do you Nepal भनि सोद्धा Yes भनेका थिए ।
      
टोकियोका पार्कमा २ बजेपछि मानिसहरु स-साना बच्चा लिएर आउँथे । बूढाबूढीहरु कुकुर लिएर आएका हुन्थे । कुकुर ल्याउनेको साथमा बोतलमा पानी र प्लाष्टिकको झोला हुन्थ्यो । कुकुरले पिसाब गर्दा पानीले पखालेको र दिसा गर्दा उठाएर झोलामा राखी सँगै लिएर गएको देखियो । बाल उद्यानमा बच्चाहरुलाई चोट नलागोस् भनेर भुइँमा मोटो रबरको तार जाली बिछ्याइएको थियो । हामीहरु एउटा कुनामा बसेर त्यहाँ भएका कृयाकलाप हेरिरहन्थ्यौँ । 

हाम्रो अगाडिबाट ओहरदोहर गर्ने मानिसहरुले हामी तर्फ हेर्दैनथे । ठूला पार्कहरुमा झाडि जस्तै ठूला ठूला रुखहरु थिए । नेपालको मध्य पहाडी क्षेत्रमा पाईने पैंयुँ जस्तै लाग्ने ठूला ठूला रुखलाई साकुरा भन्दा रहेछन् । साकुरा फूल जापानको राष्ट्रिय फूल रहेछ । 

पार्कमा जाने मानिसहरुले साथमा लिएर गएको खाने चिज खाएपछि बाँकी रहने फोहर आफ्नै झोलामा उठाइ तोकिएको स्थानमा मात्र बिसर्जन गर्दथे । कहिँ पनि फोहर र कागजका टुक्रासम्म पनि देखिँदैनथे । पार्कमा रुखहरु काँटछाँट गर्दा भुइँमा कपडा बिछ्याइ काटेको देखियो । बाङ्गा रुखहरुलाई टेको लगाएर ठाडो बनाएको र सल्लाका रुखहरु त सबै एकनासले काँटछाँट गरी मिलाइएका थिए । जापानीहरु फूर्तिला, मेहनती, मिजासी र सहयोगी पनि छन् भनेर ध्रुवले भनेको हामीले पनि छोटो समयमा अनुभव गर्यौं । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ