- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोग, भोक र बेरोजगारीले ग्रसित विश्व जनसंख्याको मृत्युको १० मध्ये आठौँ कारण सडक परिघटना हो । रोडक्र्यास प्राकृतिक विपत्ति होइन । यसलाई घटाउँदै लगेर शून्यमा झार्न सकिन्छ । यसै दृष्टिकोणलाई भिजन जिरो अथवा रोडक्र्यास शून्यमा झार्ने अभियानका रुपमा परिभाषित गरिन्छ ।
सामान्यतया सडकमा परिघटना भएपछि हामीहरु सबैभन्दा पहिले चालकमाथि जाइलाग्छौँ । घटनाको मूख्य कारक उसैले गलत तरिकाले सवारी चलाएर हो भन्ने सोचिन्छ । तर भिजन जिरोले केवल चालकमात्र घटनाको कारण हो भन्ने विषयमा विमति राख्दछ ।
भिजन जिरोका पाँचवटा मुख्य खम्बा छन् । तीमध्ये पहिलो हो, सुरक्षित सडक । सडकको डिजाइन तयार पार्दा नै सुरक्षाका उपाय अपनाइनु पर्दछ । हाम्रो जस्तो मुलुक जहाँ पहाडी भूभागमा सडक निर्माण गर्नुपर्दछ, जहाँ ट्य्राकमात्र खोलेको अवस्थामा पनि छतमासमेत यात्री हालेर गाडी चलाइन्छ ।
राम्रो सडक भएकै ठाउँमा पनि सडकको छेउँमा राखिने बारहरुको अवस्था अत्यन्त नाजुक देखिन्छ । हुँदाहुँदा निकै नै चर्चित र ठूलो धनराशी खर्चेर निर्माण गरिएको वीपी राजमार्गमा पनि छेउँका बारहरुको अवस्था राम्रो छैन । ती बारहरु सामान्यरुपमा हुनसक्ने घटना कम पार्न लगाइने हो । देखाउन होइन । तर यहाँ देखाउन लगाएजस्तो लाग्छ ।
सिमेन्टका पिलन्धरे पिलर गाडिएका छन् । ती पिलरमा गाडीको चक्काले सामान्य धक्का दिँदा पनि भाँचिन्छन् । जापान सरकारले पनि नेपालीहरुलाई जानकारी छैन भनेर ठगेछ । हाम्राले पनि कुरा उठाएनन् ।
हाम्रो शहरमा राखिने सिमेन्टका डिभाइडर पनि मानव मृत्युको अर्को कारण बनेका छन् । सामान्य गतिमा हिँडेको एउटा मोटरसाइकल नयाँ बानेश्वर चोकमा राखिएको डिभाइडरमा ठोकियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट ड्युटि सकेर फर्किएका डाक्टरको सडकमै ज्यान गयो । यो एउटा सत्य घटना हो । न त ती डाक्टरले तीव्र गतिमा बाइक चलाएका थिए, नत मापसे नै गरेका थिए । न त अरुले ठक्कर नै दिएको थियो । उनको मृत्युको कारण बन्यो सिमेन्टको डिभाइडर । यसै ठाउँमा डोरी अथवा प्लास्टिकको डिभाइडर मात्र राखिएको भए उनको ज्यानै चाहिँ जाँदैनथ्यो ।
सडकलाई सुरक्षित पार्ने अर्को तरिका गति सीमित पार्ने अवस्था सिर्जना गर्नु हो । अध्ययनअनुसार प्रतिघन्टा गति एक किलोमिटर मात्र घटाए पनि परिघटना हुने क्रममा पाँच प्रतिशतले कमी आउँछ । कुनै पनि सवारी साधन २० किलोमिटर प्रतिघन्टाको गतिमा मात्र चलाउने हो भने सडकमा आइपर्ने कुनै पनि क्रियाकलापमा समस्या पर्दैन ।
विश्वमै सबैभन्दा खतरनाक सडक भनेर ग्रामीण सडकलाई मानिन्छ । नेपालको त कुरै छोडौँ । अधिकांश सडकहरु प्राविधिकको नापजाँच बिना नै निर्माण गरिन्छन् । जग्गाको कारोबार गर्नेहरुले डोजर चालकको तजबिजीका भरमा सडक बनाइदिन्छन् । प्राविधिक कर्मचारी कम भएका पालिकाहरुलेसमेत यसै गर्ने गरेको गुनासो सुनिन्छ ।
छेउँकै तस्बिर हेर्नुहोस् त । यो तस्बिर ललितपुरको खुमलटारबाट हात्तीवनतर्फ जाने मूल सडकको हो । यसमा राखिएका डिभाइडर देख्नुभो नि ? यसै त बाटो आरोलो त्यसमा पनि घुम्ती । अझ त्यसमा पनि सडक छेउँछाउँमा बस्ने तथा काम गर्नेहरु सडकमा प्रायः फोहर पानी पोखेका हुन्छन् ।
त्यसमा पनि सिमेन्टका यत्रा भीमकाय डिभाइडर केका लागि राखिएको ? सडक सुरक्षित पार्न कि जोखिमयुक्त पार्न ? यसको सट्टा प्लास्टिकको डिभाइडर राखने हुन्न ? सडकमा रेखा कोरिदिए पुग्दैन ? यति खर्च गर्दा त सीसी क्यामेरा नै आउँछ होला, कसैको घरमा राखेर सडकतर्फ फर्काइदिए जसले बदमासी गरे पनि देखिँदो हो ।
बेलायत जस्तो विकसित मुलुकमा पनि ग्रामीण सडकहरु सुरक्षित बनाउने प्रयास जारी नै छ । विकसित मुलुकका राजमार्गहरु निकै सुरक्षित हुन्छन् । तर ग्रामीण सडकहरु शहरका सडकभन्दा तीन गुणा बढी ह्युमन किलर मानिन्छन् ।
बेलायतकै ग्रामीण इलाकामा एक लेनमात्र भएको एउटा सडकमा गरिएको अध्ययन अनुसार सवारी गति १० प्रतिशतले वृद्धि गर्दा रोडक्र्यासको मात्र ३० प्रतिशतले वृद्धि भएको थियो । यस्ता सडकमा पेटीको अभाव, साइकल चालकको अलग लेन नहुनु आदि कारण परिघटना बढी हुन्छन् । यसलाई कम पार्नैपर्दछ । एउटा देशले शुरु गरेको असल सिकाइ अर्कोले लागू गर्नुपर्दछ ।
सडक सुरक्षाको अर्को दुस्मन भनेको सेल फोनको प्रयोग हो । अध्ययन अनुसार सवारी चालकले सेल फोन प्रयोग गर्दा तीन किसिमले उसको ध्यान अन्यत्र केन्द्रित हुन्छ । पहिलो किसिमको हो, दृश्यात्मक कारण । यसमा चालकले सेल फोनतिर आँखा लगाउँदा सडकतिर हेर्न सक्दैन र थोरै समयबीचमा पनि क्र्यास हुनसक्छ ।
अर्को कारण हो, हातले फोन चलाउनु । हातले सेल फोन थिच्न थालेपछि स्टेरिङमा आवश्यक ध्यान दिन सक्दैन र घटना हुन्छ ।
तेस्रो कारण हो, मानसिक रुपमा अन्यत्र ध्यान केन्द्रित गर्नु । कतिपय मानिसले मोटरसाइकलको हेल्मेट वा गाडीको स्क्रिनमा फोन लिंक गरी कुरा गर्ने गर्दछन् । यसो गर्दा पनि चालकको ध्यान गाडीमा भन्दा फोनको कुराका केन्द्रित हुँदै घटनामा पर्न सकिन्छ ।
चालकको ध्यान अन्यत्र केन्द्रित हुँदा हुने क्र्यासमा बर्सेनि हजारौँ मानिसको ज्यान जान्छ । पछिल्लो अध्ययनअनुसार दैनिक विश्वमा सवारी साधन चलाउनेमध्ये करिब ६ लाख ६० हजार चालकले सवारी चलाएकै बेला सेल फोनको प्रयोग गर्दछन् ।
सेलफोनको प्रयोगबाट बर्सेनि १६ लाख वटा सडक परिघटना हुने गरेका छन् । यसबाट तीन लाख ९० हजार मानिसको ज्यान जोखिममा पर्दछ ।
अमेरिकामा हुने चारमध्ये एउटा रोड क्र्यासको कारणमा चालकले सवारी चलाउँदै मोबाइलमा टेक्स्ट गर्ने बानीलाई लिइएको छ । मापसे गरेर सवारी साधन चलाउनु भन्दा सेल फोन प्रयोग गर्दै सवारी चलाउँदा क्र्यास हुने सम्भावना ६ गुणा बढी हुने अध्ययनले देखाएको छ ।
अध्येताहरुका अनुसार एउटा एसएमएसको रिप्लाइ लेख्न कम्तीमा पनि पाँच सेकेन्ड लाग्छ । ५५ माइल प्रतिघन्टामा दौडेको सवारी साधनले पाँच सेकेन्डमा झन्डै एक किलोमिटर दूरी तय गर्दछ । यसैबीचमा कतै ठोक्किन सक्छ ।
यसैगरी सवारी चालकले रेडियो खोल्दा, छेउँको यात्रीसँग गफ गर्दा, सरसमान झिक्दा, नजिक बसेको यात्री निदाउँदा, बाटोमा भड्किलो होर्डिङ बोर्ड वा विज्ञापनमा ध्यान दिँदा चालकको ध्यान सवारी साधनबाट अन्यत्र केन्द्रित हुन सक्दछ ।
एउटा उदाहरण लिऔँ । बुटवलबाट बागलुङको बुर्तिबाङका लागि हिँडेको बस पाल्पाको केराबारीमा सडकबाट दुई सय मिटर तल खस्यो । बसको अगाडि अर्को बस थियो भने ठीक पछाडि हाम्रो गाडी थियो । समय बिहान ७ बजेको आसपास थियो । हामी पनि बुटवलबाटै पोखरा जाँदैथियौँ ।
हाम्रो पनि केराबारीमै चियानास्ता खाने योजना थियो । केराबारीका चियापसल पुग्न मात्र ५० मिटर बाँकी रहँदा बस खस्यो । हामी गाडीमा सवार पाँचैजनाले बस खसेको देख्यौँ । बस चालकले घुम्तीमा नघुमाई सिधै खसाले ।
हामीले अन्दाज लगायौँ, उनी निदाएको हुनुपर्दछ । यसका लागि लामो समय लागेन बढीमा पाँच सेकेन्ड लाग्यो होला । यही सम्झौँ न एउटा सानो टर्निङमा गाडी घुम्न कति लाग्ला र ? अनाहकमा धेरैको ज्यान गयो । सायद राति नसुतेका चालकलाई जबरजस्ती हाँक्न लगाइयो कि ? हामीलाई शंका लाग्यो । पछि पोखरा पुगेर समाचार हेर्दा चालक निदाएकै आशंका गरिएको पाइयो ।
यात्रीसँग कुराकानी गर्दा पनि यस्ता किसिमका दुर्घटना हुन्छन् । त्यसैले भरसक लामो यात्रामा जाने गाडीहरुलाई चालकको बेग्लै क्याबिन राखिदिने प्रचलन छ । तर हामी त्यही क्याबिनमा बस्न रुचाउँछौँ । यसो नगरौं, हाम्रोमात्र होइन अरु यात्रीको ज्यान पनि चालकको हातमा रहन्छ ।
अर्को कुरा यात्रामा रहँदा चालकसँगै अगाडिकै सिटमा बसेर हाकिम साहेबहरु निदाएका प्रशस्त देखिन्छ । त्यो चालक पनि त्यही हाकिमजस्तै मान्छे हो । अझ उसले हाकिमभन्दा छिटो उठ्नुपर्छ, छिटो खानुपर्छ, अझ उसलाई भत्ता पनि कम दिइन्छ र होटेलमा पनि सबैभन्दा सस्तो कोठामा सुत्नुपर्छ । कहिले लामखुट्टेको मार त कहिले चिसोको मार । सबै उसैले खपेको हुन्छ ।
एक किसिमले हाम्रो निजी तथा सरकारी सवारी साधनका चालक मारमै हुन्छन् । यस्तो मानसिकता भएको मानिस सामु हाकिम घुरेर निदाउँदा चालकलाई कस्तो असर पर्ला ? निदाउनै पर्ने भए पछाडिको सिटमा सरे हुन्न ?
अझ तपाईहरुमध्ये कोही बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा जानुभएको छ भने त आधा मासु पक्कै भएकै होला । त्यहाँ सवारी चलाउने चालकहरु एक हातमा मोबाइल बोकेर निरन्तर कुराकानी गर्दै सुमो हाँक्छन् । वीपी हाइवेमा कुनै किसिमको गतिसम्बन्धी नियम वा चेकजाँच गर्ने व्यवस्था पनि छैन ।
परिघटना नै नभए पनि सुमोमा बस्ने यात्रीहरु कुण्ठित पक्कै हुन्छन् । ती चालकमध्ये ९० प्रतिशतले गाँजा खान्छन् भन्ने आरोप छ । यसमा कति सत्यता छ, त्यो अध्ययनकै विषय हो । तर यदि सत्य हो भने त्यो यात्रा कति सकस होला ।