बेइजिङ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले करिब पाँच वर्षयताकै उच्चस्तरीय भ्रमणको नेतृत्व गर्दै आइतबार चीन पुगी चिनियाँ अधिकारीहरूसँग वार्ता शुरु गरेका छन् ।
दुवै पक्षले भ्रमण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षासम्मका विभिन्न विषयमा मतभेद रहेको अवस्थामा सञ्चार सुधार र द्वन्द्व रोक्न सफल हुनेमा आशावादी बनेका बताएका छन् ।
ब्लिन्केन र उनका सहयोगीहरूले बेइजिङको प्राचीन दियाओयुताई बगैंचामा अलङ्कृत रूपमा सजाइएको स्टेट भिल्लामा विदेशमन्त्री किन गाङलाई भेटेर दुई दिने भ्रमणको शुरुवात गरेका थिए ।
ब्लिन्केनलाई चीनमा पुग्दा सहकक्षी किनले स्वागत गरेको बताइएको छ । उनीहरूले दुबै मुलुकका राष्ट्रिय झन्डाको छेउमा उभिएर हात मिलाएका थिए ।
यसअघि अमेरिकी नीति निर्माताहरूले पार्टीगत आधारमा पहिचान गरेको देशसँगको सम्बन्धलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र वासिङ्टनको विश्वव्यापी प्रभुत्वका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा आफूले ‘गलत अनुमान’ गर्न नचाहेको विदेशमन्त्री ब्लिन्केनले बताएका थिए ।
उनको यसै बर्षको शुरुमा फेब्रुअरीमा भ्रमण गर्ने कार्यक्रम तय गरेको भय पनि संयुक्त राज्य अमेरिकाले चिनियाँ जासूस बेलुन आफ्नो भूमिमा उडिरहेको भन्दै विरोध गरेपछि अचानक भ्रमण रद्द भएको थियो । बेलुनलाई अमेरिकी सेनाले पछि गोली हानी समुद्रमा खसालेको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ब्लिन्केन चीनतर्फ जाँदै गर्दा बेलुन प्रकरणलाई कम महत्व दिँदै भने, “चिनियाँ नेतृत्वलाई यो कहाँ छ भन्ने थाहा थियो र यसमा के थियो र के भइरहेको थियो भन्ने थाहा थियोजस्तो मलाई लाग्दैन ।”
गत नोभेम्बरमा बालीमा भएको जी-२० शिखर सम्मेलनका क्रममाअमेरिकी राष्ट्रपति बाइडनले चिनियाँ समकक्षी सी चिनफिङबीच भएको लामो र अत्यन्त सौहार्दपूर्ण भेटवार्तापछि आफूले उनलाई फेरि छिट्टै भेट्ने आशा व्यक्त गरेका थिए ।
उक्त अवसरमा बाइडेनले भने, “मलाई आशा छ, आगामी केही महिनाभित्र म सीसँग फेरि भेट्नेछु र हामीसँग भएका जायज मतभेदका बारेमा कुरा गर्नेछु ।”
बेइजिङकी सहायक विदेशमन्त्री हुवा चुनयिङले आइतबार ट्वीट गर्दै यो बैठकले ‘चीन-अमेरिकालाई अघि बढाउन मद्दत पुग्ने’ राष्ट्रपतिबीच सहमति भएको सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
दुवै नेताले आगामी सेप्टेम्बरमा नयाँ दिल्लीमा हुने जी-२० शिखर सम्मेलनमा भाग लिने सम्भावना छ र सीलाई नोभेम्बरमा अमेरिकाले एशिया-प्रशान्त आर्थिक सहयोग मञ्चको आयोजना गर्दा सान फ्रान्सिस्कोको भ्रमणका लागि निमन्त्रणा दिइएको छ ।
अमेरिका र चीन बीच व्यापार, प्रबिधि र ताइवानलगायतका धेरै मुद्दाहरूमा मतभेदहरू छन् ।
बेइजिङले ताइवानलाई बलपूर्वक कब्जा गर्ने सम्भावनालाई नकारेको छैन र शीर्ष अमेरिकी सांसदहरूको कदमको प्रतिक्रियास्वरूप स्वशासित ताइवाननजिक अगस्टपछि दुईपटक सैन्य अभ्यास गरिसकेको छ ।
ब्लिन्केनको भ्रमणअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले वासिङ्टनले ‘चीनको मूल चासोलाई सम्मान गर्नुपर्ने’ र ‘चीनसँग शक्तिको स्थितिबाट व्यवहार गर्ने भ्रम त्याग्नुपर्ने’ बताएका छन् ।
चीनमा उच्च स्तरीय सेमीकन्डक्टरको निर्यातमा बाइडनको प्रतिबन्धबाट बेइजिङ विशेष गरी चिढिएको छ, अमेरिकाले सम्भावित सैन्य अनुप्रयोगहरूको डर र कम्युनिस्ट राज्यलाई अर्को पुस्ताको प्रविधिमा प्रभुत्व जमाउनबाट रोक्ने लक्ष्य राखेको छ ।