arrow

गगन थापा भन्छन् – चित्त बुझेन भने गठबन्धन फेरिन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
gagan-thapa-2080-03-09.jpg

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले चित्त बुझ्ने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको बताए । उनले नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । 

उनले सरकार छोड्न परे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न काँग्रेसले सक्नुपर्ने बताए । महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । 

उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भए पनि काँग्रेसलाई फरक नपर्ने बताए । उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे । 

उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ । तर चुनावअघि हामी सरकार छोड्नुपर्छ भनेर चुनावमा लागेको एउटा व्यक्ति ज्यान गुमाउन तयार छ तर सरकार गुमाउन तयार भएनौँ । के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ काँग्रेस, नजिते चकेटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली काँग्रेसले छलफल गर्ने बेला आएको छ । यो गठबन्धन, जताततै प्रदेशमा तलमाथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ । सकिन्छ नि । समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्छ । काँग्रेसले आकर्षण गरोस् ।’

महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्ने बताए । 

नेता थापाले विद्यार्थी नेताहरुलाई कसैलाई पनि कालोमोसो दल्ने वा कुटपिट गर्ने काम नगर्न निर्देशन दिएका छन् । 

उनले पहिलेको भन्दा अहिलेको राजनीतिक शैलीमा परिवर्तन आएको भन्दै यदि कांग्रेसको नेता बन्छु भनेर अगाडि बढिरहेको हो भने अब कुनै विद्यार्थी नेताहरुले कसैलाई कालोमोसो दल्ने काम गर्न नहुने बताए । 

उनले नेपालको राजनीतिमा गलत संस्कार बसेको भन्दै यस्तो संस्कारको पनि अन्त्य हुनुपर्नेमा जोड दिए । 

देशव्यापी रुपमा रुपान्तरणका रुपमा रुखका हाँगाबिगा काँटछाँट गर्नुपर्ने पनि उनले बताए । उनले हावाहुरीले पात पतिंगर झारेको भन्दै त्यसलाई एकै ठाउँमा भेला गरेर रुख वरिपरि राखेर फेरि रुखलाई हरक्क पार्नुपर्ने बताए । 

उनले कांग्रेस बनेमात्र देश बन्ने भन्दै सबैलाई कांग्रेसको रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरे । 

उनले देशको राजनीतिक परिपार्टीमा बदलाव ल्याउन जरुरी रहेको भन्दै एउटा व्यक्ति एक वा दुई पटक कति पटक प्रधानमन्त्री बन्न पाउने हो त्यो लेखिनु पर्नेमा जोड दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ