arrow

लोकसंस्कृति संरक्षणमा महिला पाइला 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० असार १२ मंगलबार
marriage-mahila-panchebaja-2080.jpg

झापा । सांस्कृतिक विविधताले विभिन्न मानव समूहहरू बीचको  सांस्कृतिक भिन्नतालाई मान्यता दिँदै यसलाई वैध बनाउने गर्दछ । भौगोलिक अन्तरिक्षभित्र विभिन्न संस्कृतिहरूबीच अस्तित्व, सहअस्तित्व र अन्तर्क्रिया हुनु नै सांस्कृतिक विविधता हो ।

अर्थात् सांस्कृतिक विविधताको माध्यमबाट, मान्छे, देश वा क्षेत्रका विशिष्ट सांस्कृतिक अभिव्यक्तिहरूको सराहना गर्न सकिन्छ । फलस्वरूप अन्य क्षेत्रहरूबाट आएका सांस्कृतिक अभिव्यक्तिहरू परिमार्जन गर्दै  विभिन्न लोकसंस्कृति र परम्पराहरुको जगेर्ना गर्नु हरेक नागरिकको मूल  कर्तव्य हुनजान्छ । 
 
सांस्कृतिक विविधता स्वीकार गर्ने र साझा गर्ने गुणस्तर अनुरुप पारस्परिक रूपमा एक विशेष भौगोलिक स्थानमा संस्कृतिको जगेर्ना नगरिए हाम्रा लोक संस्कृति  र परम्पराहरु लोप हुन जान्छ्न् ।

यसै परिवेश अनुसार पूर्वी नेपालमा विवाह तथा विशेष अवसर र समारोहहरुमा बजाइने  नौमती पञ्चेबाजा पनि सांस्कृतिक विविधताले भरिएको एक अलौकिक र आकर्षक बाजा अन्तर्गत पर्दछ । 

नौमती पञ्चेबाजा पाँच बाजाहरूको समूह हो । यो बाजा नेपालको पहाडीभेग तथा भारतको सिक्किम र दार्जिलिङमा पनि बजाइने गरिन्छ । सांस्कृतिक नौमती  पञ्चेबाजा अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पञ्चेबाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हुँदै आएको मौलिक संस्कृतिको धरोहर हो ।

विशेषगरी पुरुषहरुले बजाउने यो सांंस्कृतिक सामूहिक बाजा बजाउन पछिल्लो समयमा विभिन्न स्थानहरुमा महिलाहरु पनि सकृय रुपमा लागिपरेको देखिँदै आएको छ । 

राज्य पुनसंरचना पश्चात स्थापित भएका स्थानीय सरकारका स्थानीय तहहरुमा गठन भएका विभिन्न  जागरुक महिला समूहहरुले जीविकोपार्जनको श्रोतको रुपमा नै सांस्कृतिक बाजा (पञ्चेबाजा) बजाउने कार्यलाई पेशाको रुपमा कार्य गर्दै आएको पाइन्छ । 

यसै सन्दर्भमा झापाको मेचीनगर नगरपालिका वडा नंं ९ धुलाबारी  निवासी बेहुला मिलन तिवारीले सोमबार आफ्नो विवाहको अवसरमा गौरादह नगरपालिका वडा नं ४ मजुवा निवासी बेहुली बबिता कार्कीलाई लिन आफ्ना आफन्तजन र जन्तिका साथमा क्षितिज नौमती बाजा प्रतिष्ठान बिर्तामोडको महिला समूहको नौमती पञ्चेबाजालाई  समावेश गरेर आफ्नो  विवाहलाई  सोभायमान गराएको दृश्य अनुपम र आकर्षक देखिएको थियो । 

उक्त विवाह समारोहमा बेहुलाबेहुली हेर्न आउने महानुभावहरु उक्त  महिला समूहले आफ्नो  कलात्मक सीप प्रयोग गर्दै नौमती पञ्चेबाजा बजाएको दृश्य हेर्न  लालायित भएको देखिन्थ्यो । 

विशेषगरी पछिल्लो समयमा पश्चिमाशैली अनुकरण गर्दै गीत बजाउँदै भड्किलो ढंगबाट विवाह उत्सव पार्टी र समारोहहरुमा नृत्य गर्ने गलत परिपार्टी मौलाउँदै गएको  छ । 

यस्तो अवस्थामा यस्ता किसिमका लोकसंस्कृति र नेपाली परम्परा झल्कने नौमती पञ्चेबाजा बजाउँदै लोकसंस्कृतिको जगेर्ना गर्ने कार्य पेशाकै रुपमा अगाडि बढाउने कार्यले पूर्वीय संस्कृति र नेपाली मौलिकता बचाउन जागरुक महिलाहरु लागि परेको देखिन्छ ।

संस्कृति जगेर्नाको श्रेयमा विभिन्न महिला समूहहरुले पनि उल्लेख्य योगदान गर्दै गरेको भूमिका आकर्षक, रोमाञ्चकका एवं महत्वपूर्ण बन्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ