arrow

थाइल्याण्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै  नेपाल सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १३ बुधबार
thailand-nepal.JPG

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्याण्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

योसँगै प्रतियोगितामा दोस्रो हार बेहोरेको थाइल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाइनयान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो । 

आजको खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्याण्ड १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । 

थाइल्याण्डका लागि ईसान बेर्नोजीले १६ रन बनाए भने ओपनर डानुफोनले १२ रन जोडे । त्यसबाहके अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

थाइल्याण्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका सन्तोष यादव एक्लैले पाँच विकेट लिए भने अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो । 

नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए । त्यस्तै सुर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । 

थाइल्याण्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए । 

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा मलेसिया र थाइल्याण्ड छन् । 

त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ