arrow

साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि भारत र कुवेत भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
football-india-2023-07-01.jpg

काठमाडौँ । भारतको बेंगलोरमा जारी १४ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिका लागि भारत र कुवेत भिड्ने भएका छन् । शनिबार भएका सेमिफाइनलमा विजयी हुँदै भारत र कुवेत फाइनलमा पुगेका हुन् । 

कुवेतलाई बंगलादेशलाई १–० ले तथा भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । 

उपाधि भिडन्त मंगलबार हुनेछ ।

साफ च्याम्पियनशिपमा नेपाल 
नेपाल साफ च्याम्पियनशिपको समूह चरणबाटै बाहिरियो । नेपाल समूह चरणमा कुवेतसँग ३–१ को तथा भारतसँग २–० को हार बेहोर्दै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो । 

साविक उपविजेता नेपालले समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानलाई १–० ले पराजित गर्दै सान्त्वना जित निकाल्यो । खेलको ८० औँ मिनेटमा आशिष चौधरीले निर्णायक गोल गरेका थिए । 

१४ औँ संस्करणको लेखाजोखा
यो संस्करणमा आठ टोली सहभागी रहेका छन् । नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाएका छन् ।  

कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेलेका छन् । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

इतिहास
३० वर्षअघि अर्थात् सन् १९९३ देखि शुरु भएको साफ च्याम्पियनशिपमा भारतले सबैभन्दा बढी ८ पटक उपाधि जितेको छ । 

माल्दिभ्सले २ तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले १–१ पटक उपाधि जितेका छन् । 

नेपाल, पाकिस्तान र भुटानले भने अहिलेसम्म उपाधि जितेका छैनन् । 

भारत चार पटकको उपविजेता हो । माल्दिभ्स ३, बंगलादेश र अफगानिस्तान २–२ तथा श्रीलंका र नेपाल १–१ पटकका उपविजेता हुन् । 

नेपाल एक पटक तेस्रो भएको छ भने दुई पटक चौथो भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ